(In Nepalese Language)

कृतिले कर्ता छिचोलेको दिन
सृजनाले सर्जक उछिनेको दिन
माटोले कुमालेलाई उधिनेको दिन
चन्द्रले सूर्यलाई लुकाइदिएको दिन
मध्यदिनको ग्रहणको दिन – कालो दिन
उज्यालो माथि विजय हासिल गरेको भ्रम भएको दिन
—
होइन होइन म पनि कस्तो झुक्किएछु
भ्रमले गाँजेछ, दिगभ्रमित भएछु
कालोलाई कसरी भन्नु दिन – त्यो त रात
निष्पट अन्धकारको समय – रात
आफ्नै काया देख्न नसकिने अँध्यारो रात
भ्रमित ज्ञानको घमण्डमा मूर्ख बनेको रात
आफ्नो भ्रमित अवस्थाको हेक्का नभएको रात
निशालाई दिप्तीको नामले पुकारेको रात
—
तर एउटा सानो जुनकिरीले विशाल अन्धकार चिरिदिन्छ
कुनै क्षणिक ग्रहणले सूर्यको शक्तिलाई झुठलाउन सक्तैन
उज्यालोले अँध्यारोलाई खेदन पर्दैन, आफैं पलायन हुन्छ
—
माटोले कुमालेलाई उधिनेको रात
सृजनाले सर्जक उछिनेको रात
कृतिले कर्ता छिचोलेको रात
मानवले ईश्वरको विश्लेषण गरेको रात
—
आशा गरौँ बिहानीको मिरमिरेमा रात हराउँछ
न्यानो उज्यालोले दृष्टी छर्लंङ्ग गराउँछ
अध्यारोको भ्रम हटेर उज्यालोको सत्य आउँछ
—
तब आनन्दको उत्सवसंगै आउँछ –
माटोले कुमालेको शरण परेको दिन
सृजनाले सर्जकको इज्जत बढाएको दिन
कृतिले कर्ताको प्रशंसा उचालेको दिन
मानवले ईश्वरको आराधना गरेको दिन