In Nepalese Language

हामीलाई अरु कसैबाट दिइएको वा आफैंले लिईएको ज्ञान कि अनुभवको आधारमा हाम्रो सोचको आकार, प्रकार र दायरा बनिंदै गएको बुझिन्छ। यस्तै सोचहरुको खात लाग्दै जाँदा हाम्रा विचार, धारणा र मान्यताहरुले शिला रुप लिंदै, दरिलो विश्वास र आस्थामा परिणत हुने रहेछन। यहाँ सम्म त आपत्तिजनक केही लाग्दैन किनकी मान्छेले आफ्नो र अरुको अनुभवबाट सिक्ने ढोका खुला राखेकोछ। तर जब कोही मान्छे आफ्नै आर्जित ज्ञानको भारीलाई धेरै ठूलो ठान्ने दम्भमा, सिक्ने ढोका बन्दै गरेर, मेरो ज्ञानको विकल्प नै छैन भन्ने मान्यता बोकेर व्यवहार गर्न थाल्दछ, तब समाजमा आस्थाको द्वन्द चर्केको देखिन्छ।
सत्य र त्यसको ज्ञानलाई कुनै परिधीले सीमित गर्न सक्दैन। तर आफूले हासिल गरेको ज्ञान नै पूर्ण सत्य हो भन्ने भ्रमित तथा दम्भपूर्ण सोचले गर्दा दृष्टी हराएको मानिसले, आफ्नो मुट्ठीभर ज्ञानले असीमित सत्यलाई पूरै कैद गरेको आभास, व्यवहारमा देखाइरहेको पाइन्छ। यसो गर्दा मानिस आफ्नै आस्थाको दासत्वमा परिसकेको उसलाई हेक्का नै हुँदैन। जीवनका भौतिक तथा दृष्य दासताहरुको हामी झट्टै विरोध गर्दछौं। आफू भन्दा धेरै ठूलो शक्तिको दासत्वमा रहन बाध्य हुनेहरुले कुनै प्रष्ट विरोध प्रदर्षण गर्न नसके पनी, उनीहरुको सोचले अविराम विरोध गरिरहेकै हुन्छ, किनकि स्वभावत: मानिस स्वतन्त्र प्राणी हो। तर जब कुनै मानिस आफ्नो आर्जित ज्ञानको थाकलाई चट्टान रुपी आस्थामा परिणत गर्छ, त्यस्तो आस्थाको दासताको ऊ विरोध गर्ने सोच्दै सोच्दैन, किनकि दासतामा छु भन्ने कुरा उसलाई थाहै हुँदैन। आफू बसिरहेको हाँगालाई नै रुखबाट अलग हुनेगरी काटिरहेको कवी कालीदासको दृष्टान्त यहाँ सान्दर्भिक बन्दछ। दार्शनिक प्रवृत्तिका र आफूले संभाल्न नसक्नेगरी ज्ञान आर्जन गरेका व्यक्तिहरुले यस्तो आचरण दर्शाउनु स्वाभाविक नै हो, किनकी उनीहरुको सोच सामान्य धरातल देखि कताकता माथि उडिरहेको हुन्छ।
यहाँ आस्थाको दासत्व र आस्थाको बन्दी बीच तात्विक फरक रहेको बुझ्नु आवश्यक बन्न जान्छ। हाम्रो समाजमा सामाजिक तथा राजनैतिक परिवर्तनको लहर चल्दा, शक्तिशालीले आफू भन्दा पृथक आस्थाको प्रवर्धन गर्नेहरुलाई सामाजिक वहिष्कार वा न्यायिक प्रावधानमा सामान्य नागरिक हकबाट बन्चित गराइनुलाई आस्थाको बन्दी बनाइएको बुझिन्छ। यो व्यक्ति-बाहिरबाट अरुले जबरजस्ती थोपर्ने कुरा भयो। तर आस्थाको दासत्वमा चाहिँ, व्यक्ति आफैंले आर्जन गरेको ज्ञान र सोचले, आफैं भित्र प्रतिपादित आस्थाले उसको चाहनालाई नै वशमा पारेर, आफ्नै विचारको अदृश्य बन्धनमा जकडिएको हुन्छ। म बन्धनमा छु भन्ने कुरा उसलाई थाहा नै हुँदैन। उसले अरु कसैको विचारमा कुनै सारतत्व नै देख्नसक्दैन।
समसामयिक समाजमा बढदो संख्यामा देखिंदै आएका अतिवादी कार्यहरु यस्तै आस्थाको दासताले ग्रसित व्यक्तिहरुको लंगडो दर्शन र विनासकारी कार्ययोजनाका प्रतिफल हुन्। यसो भन्दै गर्दा ठूला-ठूला र डरलाग्दा आतंककारी घटनाहरुलाई यो विचार संग जोडेर हेर्दै, हामी सर्वसाधारणको लागी यो विचारले केही अर्थ राख्दैन भन्नु सजिलो लाग्ला, तर त्यसो पटक्कै होइन। त्यस्ता आतंककारी धारणा र कार्यको त सभ्यता रुचाउने समाजले स्वत: वहिष्कार गरि नै हाल्छन। यो प्रस्तुतीको उदेश्य त उपरोक्त भन्दा फरक ढाँचाको, तर थाहै नदिई, हाम्रो दैनिकीमा, आफ्नै आस्थाको दासताको कारण, सुटुक्क घुसाउने अतिवादी कार्यहरुको केही नमुना उजागर गर्नु हो। औंल्याइएका सिमित क्षेत्रहरुमा पाठकका दृष्टी पुग्नसके, अरु थप क्षेत्रहरु र तिनमा हुनसक्ने सुधारका कामहरु त स्वत: खुल्दै जानेछन।
आफैंलाई नियाल्दै शुरुवात गर्दा असल होला। विभिन्न कुराहरुमा वा विधाहरुमा हाम्रो आफ्नै सोच, मान्यता, आस्था, विश्वास, कत्तिको खुकुलो छ? हामी सुन्नेहरु हौँ कि सुनाउनेहरु हौँ? अरुले प्रस्तुत गरेको विचारमा हामीले स्वागतयोग्य नयाँ बुँदा भेट्टाएको कति दिन वा हप्ता वा महिना वा वर्ष भयो? कुनै नयाँ भाइ वा बहिनीले प्रस्तुत हरेको गीत पछिल्लो पल्ट कहिले मन परेको थियो? बिहान कुन भाव बोकेर निन्द्राबाट बिउँझनुहुन्छ? आज विद्यार्थीहरुको अगाडी उभिंदा, उनीहरुको जिज्ञाशा जान्न चाहनुहुन्छ कि उनीहरुलाई सिकाउन चाहनुहुन्छ? आफ्नै बारेमा यस्ता प्रश्नहरुको सूची धेरै लामो बन्न सक्छ। सारांशमा, हरेक अवस्थामा तपाईंमा केही नयाँ र असल सिक्ने तृष्णा जाग्ने गरेको छ कि छैन? कि भेटेजती सबैलाई सिकाउन मात्र उद्दत हुनुहुन्छ?
यस्तै प्रकृतीका सोचद्वारा खुट्याउन सकिन्छ कि हामी आफूले अङ्गिकार गरेको आस्थालाई निखार्दै, सत्यको सामिप्यमा अघी बढदै छौं कि, अथवा त्यसको विपरित, आफ्नो आस्था सिद्ध छ र त्यसमा परिमार्जनको कुनै सम्भावना नै छैन भन्ने अडानमा बाँचिरहेकाछौं। हामी भित्रको आस्था हाम्रो सहयोगी हो कि हामी आफूले बोकेको आस्थाको संचालनमा रहेर त्यसैको दासतामा बाँचिरहेकाछौं?
आस्थाको दासत्वमा रहेको व्यक्तिमा मौलाएको अतिवादको शिकार बन्नेमा आफ्नै परिवार र समाजका विभिन्न समूह पनि पर्दछन। परिवारजन कसैको कुरामा केही महत्व नदेख्ने, उनीहरुको कुरा सुन्नै नचाहने र आफ्नै कुराले मात्र जित्न चाहने व्यक्तिले कलह मात्र जन्माउँछ। पेशा-समूहमा अनि सामाजिक, धार्मिक समूहमा पनि यो प्रवृत्तीले यस्तै काम गरिरहेकै हुन्छ।
हामी कसैले पनि सबै सत्य छिचोलीसकेका छैनौं, धेरै कुरा अझै सिक्न बाँकी छ भन्ने मनस्थिती बोकेर, अरुका कुरा सुनेर, केही सिक्ने खोजीमा रहिरह्यौं भने हाम्रो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन अवश्य नै सहज र सुन्दर बन्नेछ।