In Nepalese Language

हामी सबैको बिगतलाई फर्केर नियाल्दा केही-न-केही तिता-मिठा सम्झनाहरु अवश्य नै छन्। यस्तै विषयवस्तु लिएर कुराकानी गर्दैगर्दा मेरो गुरु-दाजु लोकनाथले सुझाउनुभयो कि मलाई महत्वपूर्ण सहयोग गर्ने व्यक्तिहरुको सम्झना लिपिवद्ध गरेर राख्नु अशल हुन्छ। यो सुझावको गहनता तब बुझ्न थालें जब कतिवटा पुराना घटनाहरु अब धमिलो गरी मात्र सम्झनामा रहेको थाहा गरें। यस्तै क्रम जारि नै रहन दिने हो भने त उमेरको बढोत्तरी संगसंगै जीवनका धेरै कुराहरु सूचना नै नदिई मानसपटलबाट मेटीइसकेका हुन्छन। कति महत्वपूर्ण यादहरु त विलीन पनि भईसके होलान्। यस्तो देखेपछि दाजुको सुझावलाई आत्मसात गर्दै यादमा बाँकी रहेका केहि सम्झनाहरुलाई लेखेर राख्ने जमर्को गर्दैछु।

आमा तथा परिवारजन
सृष्टिकर्ताको योजनापछि आमाले सार्थक जीवन प्रदान गर्नलाई मप्रति खन्याउनुभएको नि:स्वार्थ लगानीलाई त सहयोग शब्दको सिमित परिभाषा भित्र ल्याउनु नै ठूलो अन्याय हुनजान्छ। तर उहाँ पछि पनि, परिवार भित्र र बाहिरबाट, मप्रति गरिएको सकारात्मक साथै नकारात्मक व्यवहार तथा कार्यहरुले मलाई यो अवस्थासम्म पुग्नमा ठूलो भूमिका निभाएकाछन्। यस्ता परिवारजन प्रती कृतज्ञतापूर्ण प्रेम मनमा राख्नु बाहेक मैले गर्न सक्ने अरु केही छैन।

डोरोथि पेज ह्यामिल्टन
मैले शुरुमा उहाँलाई आन्टी पेज भनेर चिनें। हाम्रो बाको मृत्यु पश्चात, परिवारमा गुजाराको समेत संकट परेको अवस्थामा आन्टी पेजले करुणाले भरिएर हाम्रो आमालाई उहाँले चलाईरहनुभएको संस्थामा नोकरी दिनुभयो। त्यतिले पनि चारजना लालाबालालाई मुखमा माड़ लाउन गाह्रो परेको देखेर संस्था परिसर भित्रै एउटा कोठा उपलब्ध गराइदिएर थप होलो गराइदिनुभयो। म १५ वर्षको थिएँ अनि भाइहरु ८, ६ र ४ वर्षका। त्यो एउटा सानो कोठामा पाँचजनाको परिवारलाई बस्न, पकाउन र खान अवश्य नै धेरै कठिन थियो। यसैले गर्दा धेरै जसो समय म होस्टेल परिसरमा त्यहाँका दाजु-भाइहरु संग नै बिताउँने गर्थें। यो समस्यालाई बुझेर आन्टीले मलाई साना केटाहरुको होस्टेलमा एउटा कोठा प्रयोग गर्दै उनीहरुको देखरेख गर्ने जिम्मेवारी दिनुभयो।

यो कोठा प्रयोग गरे वापत मैले त्यहाँ बस्ने दृष्टिविहिन दाजु-दिदीहरुलाई, उहाँहरुको लिपिमा उपलब्ध नभएका पुस्तकहरूबाट पढिदिएर उहाँहरुको अध्ययनमा सहयोग पनि गर्नुपर्थ्यो। यो जिम्मेवारी त मेरो लागि ठुलो व्यक्तिगत फाइदाको विषय पो साबित हुन पुग्यो। किनकि स्कूलमा मलाई सबै भन्दा कठिन विषय नै अंग्रेजी थियो। तर जब म कनिकुथी भएपनि पढ़ीदिन्थें, त्यहाँ दाजुहरुले मेरो उच्चारण र अरु गल्तिहरुलाई, कुनै खिसी-ट्युरी नगरिकन, बड़ो धैर्य साथ मलाई सच्याउँदै सिकाउनुहुन्थ्यो। यसरी सिकाएर मलाई जीवन भरीको गुण लगाउने सर् तथा दाजुहरु मध्ये इर्शाद, इम्तियाज र कृष्ण दाजुहरु मेरो निम्ति ठूलो कृतज्ञताको पात्रहरु हुनुहुन्छ। मेरो गलत अनि खुट्याउन नसकिने शब्दोच्चारणले यी दाजुहरुको अध्ययन एकाग्रतामा कति बाधा ल्याउँदो हो, तर यसप्रति क्रिपापूर्ण धैर्य धारण गर्दै मलाई धेरै आवश्यक कुराहरु सिक्न पाउने अवसर दिनुभएकोमा यी दाजुहरुप्रती म जीवनभरि नतमस्तक रहनेछु। उहाँहरुको संगत पाएर, म स्कूलमा अंग्रेजीमा साह्रै कम्जोर विद्यार्थी, कलेजमा पुगेर त त्यहि विषयमा राम्रो दखल भएको विद्यार्थीमा गनिन पुगें।
आन्टी पेजले लाउनुभएका गुणहरुमा टाइपराइटर चलाउन सिकाउन पनि एउटा अति उपयोगी सीप साबित भएकोछ। त्यहाँ रहेका ससाना दृष्टिविहीन भाइ-बहिनीहरुले आ-आफ्ना स्पोंसरहरुलाई चिट्ठीमा भन्न चाहेका कुराहरु अंग्रेजीमा अनुवाद गरेर टाइप गर्ने अविभारा आन्टीले मलाई दिनुभयो। यो कार्यले मलाई अंग्रेजी र टाइप दुवैको व्यवहारिक सीप सिकाईमा महत्वपूर्ण सहयोग गरेकोछ। आन्टी आफैं चाहिं केवल दुइटा चोरी औंला मात्र प्रयोग गरेर फररर टाइप गर्नुहुन्थ्यो, तर मलाई भने ट्वाक्सिङ्ग ठोकी-ठोकी भए पनि दशै औंलाको प्रयोग गरेर टाइप गर्न सिकाउनुभयो। उपरोक्त व्यवहारले यहि प्रमाण गर्यो कि मप्रति उहाँको प्रेम खाँट्टी साँचो थियो, देखावटी र पुल्पुल्याउने खालको होइन। मेरो बृहत्तर भलाईको लागि उहाँले कडा अनुशासनमा राख्नुभयो, मैले गलत काम गर्दा कठोर दण्ड दिनुभयो। तर त्यस्तो अनुशसनपरक दण्डले मेरो जीवनभरिको निम्ति त्यस्तो गलत काम प्रति नै घृणा जगाएर धेरै अपराधहरुबाट जोगाएकोछ।
हाम्रो परिवारप्रति आन्टी पेजले गर्नुभएको सहयोगको सूची त धेरै लामो छ। ति मध्ये कति त सम्झनाबाट पनि बिलाइसके होलान्। सम्झनामा रहेकाहरु मध्ये बाट केहि मुख्य मात्र यहाँ टिपोट गरिएका छन्। उपरोक्त बाहेक पनि उहाँले हामीमाथि लगाउनुभएका अरु केहि गुणहरु यहाँ सम्झना गर्न नै पर्छ:
- मेरो कलेजको सम्पूर्ण आर्थिक भार लिनलाई स्पोन्सर खोजिदिनु भयो;
- कलिलै उमेरमै पति गुमाउनु भएकी हाम्री आमालाई अर्को सहयोगी पुरुषलाई पति स्विकार्न उत्साहित गर्नुभयो;
- अवकाश पछिको बासको निम्ति आमाले घर बनाउने इच्छा गर्नुहुँदा आन्टीले व्याज बिनाको ऋण प्रदान गर्नुभयो, जुन तिर्नलाई मैले मासिक ५०० रुपैयाँ मात्र छुट्याउन सक्छु भन्दा उहाँले केहि अनाकानी नगरी, वर्षौंको म्याद स्विकार्नु भयो। सन् १९८३ तिरको जागिरबाट मासिक ५०० रुपैयाँ छुट्याउनु भनेको त निकै ठूलै रकम पो मानिन्थ्यो।
बगान सर
भवितव्यले जन्मथलो छोडेर मुंगलान छिरेपछिको चरम अभाव र गरिबीको पिडाबाट भएर गुज्रिने क्रममा कालेबुंग मिसन कम्पाउण्डसंग जोडिएको, स्वीट बोजुको बारीमा हाम्रो पाँचौ पडाव थियो। संगै छिमेकमा मिसन कम्पाउण्डमा बगान सरको घर थियो। सरको माइलो छोरो ओङ्गे र म एकै कक्षाका सहपाठी थियौं। एकदिन म घरको पेटीमा बसेर अंग्रेजीको पाठ पढ्दै थिएँ अनि बगान सर छेउछाउ मै टहलिँदै हुनुहुन्थ्यो। मैले “अगेनेस्ट” को उच्चारण वारम्बार गरिरहेको सुनेर उहाँले मलाइ सच्याउँदै सिकाउनुभयो कि यसको सही उच्चारण “अगेन्स्ट” हो। अझ प्रष्ट पार्नलाई त्यो शब्दमा n पछि e नभएको पनि औंल्याउनुभयो। बगान सरबाटको यो एउटा सहयोग मैले कहिल्यै बिर्सन सक्तिन। मेरो निम्ति अंग्रेजी चाहिं साह्रै कठीन विषय थियो। अरु सबै विषयमा घरमा बाले सहयोग गर्नुहुन्थ्यो, तर अंग्रेजी भने उहाँले नपढेको विधा पर्यो। यहि कठिनाईले गर्दा प्राइमरी स्कूलमा मैले सजाय पाएको नै केवल अंग्रेजी गुरुआमाको बाट मात्रै हो। नंगको फेदमा काठको स्केलको धारले हान्दा परेको चोट भन्दा पनि मैले जान्न पर्ने कुरो जान्न असमर्थ भएँ भन्ने कुराले मलाइ बढी पिढा दिन्थ्यो। यस्तो अवस्थामा बगान सरको त्यो एउटा सहयोग पनि मेरो लागी अती बहुमुल्य सावित हुन पुग्यो। सरलाई धेरै धेरै धन्यवाद छ।

मावली हजूरबा
म मावलमा नै जन्मिएर ६ वर्षको हुँदा सम्म त्यहीं हुर्किएको रहेछु। हाम्रो मावल बुधसिंगको ढोडमा हो। जिल्ला चाहिं कहिले धादिंग त कहिले नुवाकोटमा पर्यो। हालसालको सरकारी खटनमा यो ठाउँ नुवाकोट जिल्लाको तारकेश्वर गाउंपालिका-४ मा पर्दछ। त्यहाँ रहंदा सम्मका एकदमै थोरै कुराहरु मात्रै सम्झनामा छन्। मलाई नै सम्झनामा नभए पनि पछि आमा तथा मामाहरुले भन्नुभए अनुसार, हामी मुङ्गलान पलायन हुन अघि नै, हाम्रा हजुरबाले म र उस्तै उमेरका मेरा दाजु-भाइलाई नेपाली अक्षर र अङ्क पढन र लेख्न सिकाइसक्नु भएको रहेछ। यो सिकाइको कारणले, मैले ७ वर्षको भएपछी मात्रै कलेबुङ्गमा स्कूल भर्ना भए पनि अरु सहपाठी भन्दा सजिलो सित राम्रो नतिजा हासिल गर्न सकें। यसको श्रेय सधैं नै हाम्रो हजूरबालाई जान्छ।
हाम्रो साइँलो भाइ
परिवारमा हामी चार भाइ छौं भन्ने कुरा मैले पहिले नै जनाई सकेकोछु। म र माइलो भाइमा ७ वर्षको फरक छ, त्यसपछिका भाइहरुमा २-२ वर्षको अन्तर रहेकोछ। म पन्ध्रौँ वर्षमा छँदा बा बित्नुभयो। बाले होश गुमाउनु अघी मलाइ दिनुभएको अन्तिम आदेश थियो – “आमाको वास्था गर्नु अनि भाइहरुलाई पढाउनु“। मृत्यु हुँदै गरेको प्रियजनले दिएको अन्तिम आदेश स्वाभाविक रुपमा नै भावनात्मक गहनताका साथ महत्वपूर्ण भएर मनमा गड्दोरहेछ। यसैले यो कुरालाई आफ्नो हविगतले भ्याए सम्म पूरा गर्न प्राथमिकता साथ लागिरहेकोछु।
यति हुँदा हुँदै पनि, हाम्रो साइँलो भाइले, आइपरेको कठीन परीक्षाको घडीमा, मेरो सल्लाह तथा उसले प्राप्त गरेको नैतिक अनि धार्मिक शिक्षाको नितान्त विपरित गएर, सांसारिक सम्पत्ति र भौतिकतालाई प्राथमिकता दिने सम्बन्धहरुको बाटो रोजेर हिंड्यो। आफूले सानैदेखि प्राप्त गरेको शिक्षाको ठीक उल्टो कित्तामा उभिएर, उसलाई अती माया र विश्वास गर्ने व्यक्तिलाई नै निकृष्ट अइमान्दारीपनामा लूट, ठगी र धोका गर्न पुग्यो। ठूलो परिवार भएको उसको पत्नीको, सम्पति र शानमा, सबै आफन्त भन्दा माथि देखिने आकांक्षा र होडबाजीको कारणले उ पहिले देखि नै तनावमा थियो। यो पछिल्लो अवस्थामा, उ आफैं कार्यालयमा नभएको बेलामा घटेको घटनालाई उसको पत्नीले आफ्नै रंग दिएर प्रस्तुत गर्दा, उसको तनाव यति धेरै भयो कि सही र गलत कुरालाई उसले खुट्याउनै सकेन।
नहुनुं गल्ती भईसकेको थियो, तर फर्केर आयो भने सबैको सहयोगले यसलाई सच्याउन सकिने आशा अझै मरेको थिएन। तर भाइले फर्केर आउने र गल्ती सच्याउने इच्छा पटक्कै गरेन। यहाँ सम्म त हामी सबैको निम्ति यो एक दु:खदायी घटना भन्ने थियो। तर केहि समय पछि मलाई अपर्झटको ठूलो चोट तब लाग्यो जब यो सुनें कि यी सबै घटनाको कारक चाहिं मलाई नै बनाएर, सो कुरा सबै आफन्त र समाजलाई भनिंदैरहेछ।
यो पंक्तिमा मैले भाइको बुराई वखान गर्न चाहेको पटक्कै होइन। तर यो घटनाद्वारा मैले जीवनमा एउटा महत्वपूर्ण शिक्षा प्राप्त गरेको छु भन्ने कुरा प्रस्तुत गर्दैछु। पढ़ेर सिकेको भन्दा परेर (भोगेर) सिकेको चाहिं पक्का र दरिलो शिक्षा हुँदो रहेछ। पिताको जिम्मेवारी वहन गर्दै, आफूले बुझेसम्मको नैतिक र धार्मिक शिक्षा दिंदै, औंला समाएर सबै भलाई कामना गर्दै हुर्काएको यो भाइले समेत, भौतिक अती-महत्वाकांक्षी पत्नीको झूठो कुराहरुको आधार मानेर, प्रष्ट देखिने सत्यता प्रति अन्धो भएर, विवेकहीन बाटो जान सक्दोरहेछ। हामी चारै भाइहरुले उही बा, आमा र गुरुजनबाट, उही स्कुल, समाज र छिमेकमा बराबर अर्ती र शिक्षा पायौं। तर सबै अर्ती र शिक्षालाई गलत संगत र तनावपूर्ण व्यवहारले बेकम्मा पारिदिँदोरहेछ। यहि कुराहरु मैले साइँला भाइको यो व्यवहारबाट सिकेकोछु। मैले उसलाई दोष्याइरहेको छैन तर उसले गरेको व्यवहार ठिक हो भनेको पनि होइन। मप्रति उसले गरेको खराबी र चोट पार्ने कामलाई मैले, इश्वरको कृपामा उहिले नै क्षमा गरिसकेकोछु, अनि कुनै दिन फर्केर आउँछ भन्ने आशा पालेर पर्खिरहेकोछु। जीवनमा यस्तो संवेदनशील व्यवहारिक शिक्षा प्राप्त गर्न सहयोग गरेको निम्ति भाइलाई मेरो धेरै धन्यवाद छ।

सम्पूर्ण समाज
समाजका हरेक तप्का तथा कन्दराका प्रत्येक व्यक्तिबाट, प्रत्यक्ष वा परोक्ष रुपमा, मैले सहयोग पाएको प्रष्ट देख्दछु। सकारात्मक र प्रेमको व्यवहार गर्नेहरु बाट मात्र होइन तर नकारात्मक र निकृष्ट कटुताको अगुल्टो झोस्नेहरुबाट पनि मैले धेरै जीवनोपयोगी शिक्षा र तालिम प्राप्त गरेकोछु। सबैको सूची बनाउन नसके पनि, ती सबै मेरो कृतज्ञताका पात्रहरु हुन्।