In Nepalese Language

कुनै पनि व्यक्ति जब कुनै अर्को व्यक्ति वा समूह संग प्रत्यक्ष वा परोक्ष कुनै पनि मध्यम द्वारा संचार गर्छ त्यहाँ कुनै न कुनै प्रकारको अभिवादन आदान प्रदान गर्ने संस्कार हरेक समाज र संस्कृतीमा पाइँदछ। तर यो अभिवादनको संस्कारमा हामी यती धेरै अभ्यस्त भैसकेकाछौँ कि यसमा प्रयोग गरिने शब्द, भाव र तरिकाको गहनता र अर्थ के रहेछ भन्ने कुराको हेक्का नै नभएको यत्र तत्र सर्वत्र देख्न पाइंदैछ वा पर्दैछ। सबै संस्कृतीका समाजमा विद्यमान संस्कार कुनै न कुनै वृहत्तर भलाईको निम्ति, साधारणतया निकै लामो समयको प्रयोगद्वारा खारिएर स्थापित भएको हुन्छ। अपवादमा, केहि असामाजिक संस्कारहरु, कुनै स्वार्थी शक्ति-केन्द्रको बलमिचाईद्वारा, जबर्जस्ती सित समाजमा लादिएको पनि हुनसक्छ। यस्ता कुसंस्कारहरुले समाजमा भएका सबै संस्कार प्रति नै वितृष्णा फैलाउने काम पनि भईराखेको बुझन पाइन्छ। दासप्रथा, सतीप्रथा, दाईजो तोक्ने, छाउगोठ मान्ने, धर्म र संस्कारको आडमा बाध्य गराएर लिईने भेटी, चन्दा, दक्षिणा, उपहार, आदी। राज्य संचालानको बहानामा संचालकहरुले राज्यको ढुकुटी बाट, नियम बनाउने अधिकारको दुरुपयोग गर्दै, मिलोमतोमा, त्यही संचालकहरुको सुविधा बढाउनको निम्ति, आफू भन्दा कम आर्थिक हैसियत भएका जनताबाट, दिनानुदिन दायरा र दर बढाउंदै करकापमा पारेर कर असुल्ने जुन प्रणाली स्थापित भईरहेकोछ, यो पनि आजको यूगमा मौलाउंदै गरेको टट्कारो कुसंस्कार हो।
हामी यहाँ अभिवादनको संस्कार र त्यसको सात्विक अर्थ बारे विचार गर्दैछौं। यसबारे मैले सबै जानेर पारङ्गत भएँ भनेर यो लेखेको पटक्कै होइन। अरु सबै विधामा जस्तै यो विचारमा पनि मैले सिक्न पर्ने कुराहरु त अति नै धरै छन् तर फ़ुरसतको समयमा यसबारे मनन गर्दा जेजति सिमित बुझाई मैले पाएकोछु, त्यसलाई प्रस्तुत गर्दा, चासो राख्ने मित्रहरुलाई केहि वैचारिक कसरतमा उत्साहित गराउन सक्छु कि भनेर यो जमर्को गर्दैछु।
हामीलाई सानै देखि हाम्रा अभिभावक तथा अग्रजहरुले अभिवादनको तरिका तथा कहिले, कसलाई, कुन अवस्थामा र कसरी गर्न पर्छ भनेर सिकाएका छन्। सानो छँदा अभिवादनको अर्थ र कारण बुझ्ने क्षमता विकसित भई नसकेको हुँदा, रहर वा करमा सिकाएको गरिदिए पग्यो; तर आफ्नो समाजका संस्कारहरु बुझ्न सक्ने वयस्क भएपछि पनि यसमा चलाइने बोली र हाउभाउको अर्थहीन प्रयोग गर्नु चाहिं फगत लापरवाही तथा लक्ष व्यक्तिप्रतिको अनादर बन्न जान्छ। किनकि त्यो अभिवादनाको बोली र हाउभाउ त प्रस्तुत भयो तर त्यसमा समेटिएको गहिरो अर्थको चाहिं केहि हेक्का नै राखिएन भने त यो कार्य एउटा नाटक वा पाखण्ड बाहेक केहि पनि भएन। बाहिर त प्रस्तुत भयो तर मन र विचारले साथ नदिईकनै। यो त झुठ बोले सरह ने भएन र ?
मैले देख्न पाएको अभिवादनको तरिका र बोलीहरुमा, सबैमा नै सामने भएको व्यक्तिलाई भेट्न पाएकोमा खुशी, आनन्द, शान्ती, शुभकामना, आशिर्वाद, आदर, सम्मान, प्रशंसा, न्यानोपना, इत्यादिको प्रस्तुती र कामना गर्ने भावहरु देखेकोछु। यसैप्रकारले ईश्वरको, देशको, समाजको वा व्यक्ति विशेषको जयजयकार गरेको पनि देखिन्छ। तर के हाम्रो सामने उपस्थित व्यक्ति प्रति हामीले प्रस्तुत गरेको अभिवादन त्यसको साँचो भावमा मनको सत्यतामा प्रस्तुत भएको हो त? हो भने त धेरै राम्रो भयो तर होइन भने त हामी झुठा र पाखण्डी भएनौं र? यो अरुले खुट्याउने कुरो होइन, आत्मलोचना गरेर आफैंले बुझ्नुपर्ने कुरा हो, किनकि यो हरेकको आफ्नै मन भित्रको विचार संग सम्बन्धित छ जो व्यक्ति आफैंले बाहेक अरु कसैले देख्न सक्दैन। उदाहरणको निम्ति, कुनै व्यक्तिको बारेमा मैले सुनेका कुराहरुका कारणले वा उ र म बीच भएका कुनै घटनाको करणले उसप्रति मेरो मनमा केहि श्रद्धा छैन वा मेरो मनले उसलाई क्षमा दिनसकेको छैन भने, उसित आमने-सामने हुँदा मैले नमस्ते, नमस्कार, जय शम्भो, लसकुस, सलाम आलेकुम, जय मसिह, शुभ प्रभात, आदि इत्यादि कुनै पनि शब्दोच्चारण गर्दै जोरहात गर्ने, शिर निहुराउने, अंकमाल गर्ने, हात मिलाउने, चुम्बन गर्ने, गोडा ढोग्ने वा छुने, प्रशन्न मुद्रामा हात उठाएर हल्लाउने, र यस्तै अरु मुद्रा अपनाउने कार्यलाई के मेरो मनको सत्यतामा पस्केको प्रस्तुती भन्न मिल्छ र? यी शब्द र मुद्राहरुले त म भन्दैछु कि तपाईंको हृदयमा बास गर्ने ईश्वरको आत्मालाई म जोरहात नमन गर्छु, तपाईंको उच्च संस्कारलाई म निहुरिएर कदर गर्छु, यो भेटले हामीले आस्था राख्ने ईश्वरको महिमा होस्, तपाईंलाई स्वागत छ, तपाईं सधैं शान्तीमा रहनुहोस, तपाईंको यो समय शुभ होस्। तर जुन व्यक्तिप्रति मेरो मनले चाहे पनि साँचो श्रद्धा राख्न सकेको छैन, उसको सामने उभिएर यस्ता प्रस्तुती गर्दा के म आफ्नै मनको अवस्था सित अन्तर्घात गरिरहेको छैन र?
हामीले पक्कै पनि धेरै पल्ट सत्य मेव जयते भनेका छौं तर साँच्चै नै सत्यको विजय होस् भन्ने मन भित्रै देखिको चाहना राखेका छौं त? त्यस्तो चाहना राख्नु मात्रै पनि एउटा सकारात्मक, शुरुवाती कदम हो। तर त्यसपछि, त्यो चाहेको अवस्था हासिल गर्न प्रति केहि ठोस कार्य गर्छौं भने मात्र यो मन्त्रोच्चारणको केहि अर्थ लाग्नेछ।
यसैले सोचौं, हामीले अभिवादनको उच्चारणमा के भन्दैछौं र त्यससित जोडिएको कार्यमा के गर्दैछौं। हाम्रो अघी भएको व्यक्ति वा समूहसित सत्य व्यवहार गर्दैछौं कि फगत नाटक मात्रै गरेर, आफैंलाई र अरुलाई धोका दिंदैछौँ?
Pingback: Truthful Greetings | Keshav Adhikari
Pingback: In Favor Of Nature-Gifted Technology | Keshav Adhikari