In Nepalese Language

हालसालै बाटोमा एकजना उमेर खाएको मान्छे कुशको सानो मुट्ठा लिएर साइकलमा कतै जाँदै गरेको देखें। हुनत यो एक आम दृष्य थियो तर मेरो निम्ति त्यो विशेष बन्न पुग्यो किनकि यसले मलाई आफ्नो वाल्यकालको सम्झनामा लिएर गयो। त्यो मान्छेमा मैले आफैंलाई देखें अनि ईश्वर प्रति मनमा गहिरो कृतज्ञता उर्लेर आयो किनकि उनको चुनावमा नपरेकोभए आज मपनि यसैगरी कुशको मुट्ठा हातमा लिएर घर-घरमा जजमानी गर्दै हिंडिरहेको हुनेथिएँ।
मलाई वाल्यकालका थोरै मात्र कुराहरु सम्झनामा छन्। ती मध्धे मलाई कुश बोकेर मामाहरुको घर-घरमा पठाईएको दृष्य मेरो मानसपटलमा आज सम्म सुरक्षित छ। पछि गएर थाहा लग्यो कि यो दिनलाई कुशे औंसी भनिँदो रहेछ। अरु ठूलो भएपछि आमाबाट यो पनि जानकारी पाएँ कि हाम्रो समाजमा भान्जोलाई भगवान मानिँदोरहेछ। यहि कारणले मामाहरुबाट आदर र माया पाएको भएर यो घटना एउटा अति खुशीको क्षण बनेर सम्झनामा बसिरहेको होला। मामाहरुले पनि भान्जो-भगवानको हातबाट शुभकार्यको कुश प्राप्त गर्नमा धर्म भएको मानेर अवश्य खुशी भएर मलाई माया र उपहारको वर्षा नै गरिदिनुभएको हुनपर्छ। यो पनि सम्झना रहिरहनुको थप कारण हुनसक्छ।
मेरो वाल्यकालका सम्झनाहरु मामाघरमा नै सिमित छन्। ढोड गांव नामको एउटै गांवमा आ-आफ्नो घर भएका छ: जना मामाहरुको एक्ली दिदी-बहिनी हाम्री आमा अनि मचाहिँ उहाँको त्यो समयको एक्लो छोरो – यो परिवेशमा म त साँच्चै खूब पुल्पुलिएको ठिटो हुनुपर्छ। त्यसैपनि बाको अनुपस्थितिमा घर-गोठ र खेतबारीको सबै काम आमाले नै भ्याउनु पर्ने व्यस्तताको कारणले मचाहिँ माइजूहरुकै बडी हेरचाहमा हुर्किएको सन्दर्भ सुन्नमा आईरहन्छ।
हाम्रो बाको घर चाहिं काठमाण्डौको लगनटोलमा रहेको जोरगणेश भनिने ठाउँमा रहेछ। तर मचाहिं त्यहाँ बसिनछु। कुरो यस्तो भएछ कि मेरो जन्म भन्दा ३ महिना पहिले नै हजुरबाको मृत्यु भएछ। त्यसपछि जोरगणेशको घरका सरसामान देवरहरूको परिवारको जिम्मामा सुम्पिएर हजुरआमा बुधसिंग गएर बस्न थाल्नु भएछ। यसरी नै मेरो जन्म त्यहि बुधसिंगको ढोड गांव भनेर चिनिने मेरो मावलमा हुनपुगेछ। पछि काकाबाट चाल पाएँ कि हाम्रो हजुरआमाले १२ संतान जन्माउनुभएको रहेछ तर केवल तीनजना मात्र बाँच्न सफल भएछन – हाम्रो बा, एउटी फुपू र एकजना काका।
मावली हजुरबाले आमालाई दईजोमा दिनुभएको भनिएको त्यो हाम्रो ढोड गांवको घर पनि अविस्मरणीय रहेकोछ। ढोड बेंसीबाट आउने ठाडो उकालो सिद्धिएपछिको फराकीलो गरामा रहेको त्यो सानो गाउँले घर र संगै रहेको गोठ – अब त सम्झनामा मात्र छ। माइला मामाले भनिरहनुहुन्थ्यो कि मंगसिर महिनाको एउटा चिसो दिनको झपक्क साँझ परेर अँध्यारो भइसकेको बेलामा त्यहि घरमा मेरो जन्म भएको थियो अनि त्यो बेला मामा चाहिं उहाँको बहिनीले जन्माउने सन्तानको भविष्य कस्तो हुन्छ भन्ने जिज्ञासा लिएर बेंसीमा धुनी लाएर बसेको अघ्घोरी बाबालाई भेट्दै हुनुहुन्थ्यो। ती बाबाले प्रज्ज्वलित मुद्रामा अति शुभ भविष्यको शब्द दिएर मामालाई प्रशन्न तुल्याएको कुरा प्राय: हरेक भेटमा दोहोरिईरहन्थ्यो।
त्यो जन्मघर सम्बन्धित धेरै कुराहरु त मेरो सम्झनाबाट अलप भइसके तर एउटा मलाई दोष्याईरहने घटनाले चाँही मलाई ठुंगीरहन्छ। आमा साह्रै रिसाउनुभएको र ठूलो हत्केलाले मेरो ढाडमा पिट्दै गोठमा थुनिदिनुभएको अनि मचाहिँ कराई कराई रोएको। यति मात्र सम्झेर बाँकि बिर्सिन पाएको भए यो बालापनको एउटा सुखद सम्झना बन्नेथियो। तर यो कार्यको निम्ति मैले आमालाई रुँदै कराउंदै गालीका शब्दहरु बकेको सम्झनुपर्दा चाहिं आज साह्रै पीडा र लज्जाबोध हुन्छ। त्यो ४-५ वर्षको ठिटोले कहांबाट यस्ता शब्दहरु सिकेकोहोला।
त्यहि समयको साह्रै डराएको अवस्थाको एउटा घटना पनि आजसम्म बिर्सिन सकिएको छैन। त्यो बेला अचेल जस्तो चर्पी अभियानको कुराले गर्भधारण पनि गरेको थिएन होला। लाघुशंका हो कि दीर्घशंका निवारण हेतु अल्गो अल्गो बोट भएको मकै बारीमा बस्न मात्रै के आँटेको थिएँ एउटा बडेमानको सर्प छेवैमा घस्रिदै गरेको देखियो। त्यो देख्ने बित्तिकै ठूलो डरले घेरिएर आत्तिंदै भागेको सम्झनाले मात्रै पनि आज सम्म डरको अनुभव हुन्छ।
पहाडको त्यो घरमा हामी धेरै त बसेनौं तर अरु दुइटा धमिला सम्झनाहरु अल्झिएरै बसिरहेकाछ्न। एउटा हामीलाई बाह्रखरी सिकाउनुहुने मावली हजुरबाको विशाल ज्यान र अर्को आमाले त…ल बेंसीबाट मा…थि गांव सम्म बोकेर ल्याउनुहुने परालको विशाल भारी। मलाई पनि चित्त बुझाउनलाई हो वा अल्झाउनलाई भनेर एउटा सानो मुठाको भारी झुन्ड्याईदिनुहुन्थ्यो।
त्यो समयका व्यक्तिहरु वा खेल्ने साथीहरुको बारेमा अनि खेलेका र रमाएका सम्झना चाहिं अचम्भ प्रकारले दिमागबाट मेटीईसकेछन। सम्झनामा बाँकि रहेका दुईजना छन् – एकजना नैचे नाम गरेको धेरै ठूलो ज्यानको मान्छे हाम्रो खेत-बारीमा खेताला भर्न आउने रहेछन। आमाले तिनलाई फराकीलो थालमा धेरै ढेंडो पस्केर दिनुहुन्थ्यो। तिनी थालैमा मुख पुग्नेगरी घोपटीएर खान शुरु गर्थे। आमा ढिंडो थप्दीरहनुहुन्थ्यो अनि तिनी चाहिं ढाड सोझो हुने अवस्था सम्म पनि खाई नै रहन्थे। यो दृष्यले त्यो बेला मलाई साह्रै छक्क पारेको थियो। दोस्रो चाहिं मलाई देखरेख गर्न भनेर एउटी बूढी आमै हुनुहुन्थ्यो, उहाँको टाउको स्वत: हल्लिरहन्थ्यो अनि हामी भुरा-भुरी चाहिं उहाँलाई “आमै किन नाईं-नाईं भनिरहेको?” भनेर चिढाउंदा रहेछौं।
म छ: वर्षको हुँदा बा-आमा मलाई डोर्याउंदै मुंग्लान तिर लग्नुभएछ। मेरो बा रोगले कमजोर हुनुभएकोले आफैं यात्रा सम्भाल्न सक्नुहुन्न भनेर मेरो कान्छो मामा हामीलाई पुर्याउन जानुभएको थियो।
यात्राक्रममा तल ढोड बेंसी झरेर तारुकाघाटमा साँघुरो डुंगा चढेर त्रिशुली नदी तरेको अनुभव सम्झनामा स्थापित छ। पहिलोपल्ट डुंगा चढेर फराकीलो नदीको पानीमाथि सलल बगेको डर मिश्रित नयाँ अनुभव बडो रोमान्चकारी थियो।
पहिलो अनुभवमा खुबै हल्लाउने अनि धूलाम्मे पर्ने लहरीको यात्रा पनि छ। पछि ठूलो भएपछि बुझदा त्यो यात्रा काठमाण्डौ देखि अमलेखगंज सम्मको रहेछ।
त्यसपछि कोचाकोच भएको रेलमा पनि चडियो। हामीसित केहि झिटी-गुन्टा पनि रहेछन र त्यो रेलमा हामीले कोच्चिने ठाउँ चाहिं चर्पी कोठामा मात्रै पाएछौं। यो अनुभवलाई बिर्सन नदिनलाई हाम्रो घरमा काठको एउटा सानो हर्पे छ जसको बिर्को चाहीं मैले चल्ने क्रममा त्यो चर्पीको प्वालबाट झारिदिएछु।
मुग्लानमा हाम्रो गन्तब्य कालेम्पोंग रहेछ। कालेम्पोंग पुगेको दिनको एउटा घटना कान्छा मामाले सम्झाईरहनुहुन्छ – हामी सबैलाई मामाले खाजा खान चिया दोकान लिएर जानुभएछ। सबै चिया पिउन लागे तर भान्जो चाहिं निन्याउरो मुख लिएर चियाको गिलास भित्र औंला डुलाउँदै बसिराखेकोरहेछ। मामा छक्क परेर सोध्नुहुँदा रुन्चे पारामा उत्तर यस्तो पाउनुभएछ – “आफू सबैले चौटा जति खाएर मलाई चाहिं झोल मात्रै दिएछन”।
आफ्नो रोगको उपचार खोज्दै बा कालेम्पोंग पुग्नुभएको रहेछ। उहाँको रोगको बारेमा माईला मामाले र काकाले केहि प्रसंग खुलाउनुभएकोछ। म साँढे दुई वर्षको हुँदा शुरुमा सानो पानिफोका जस्तो बाको खुट्टामा देखिएछ। तर धेरै दिनसम्म पनि फुक-फाक र घरेलु उपचारले निको हुनुको सट्टा खुट्टा पूरै सुन्निएर, घाऊबाट ह्वाल-ह्वाल्ति पिप बग्न थालेपछि चाँही, नजीकको आँपपिपल अस्पतालमा जचाउन पुग्नुभएछ। अस्पतालले जाँचेर त्यो कुष्ट रोगको घाउ रहेको अनि त्यहाँ उपचार हुन नसक्ने जानकारी दिएर फर्काएछ। त्यो समयमा कुष्ट रोगलाई कोड़ भनिँदो र महारोग मानिँदो रहेछ अनि समाज यस्ता रोगीलाई घिनाउदै टाडिंदोरहेछ। प्राप्त भए जति हरेक जानकारी र सुझावलाई आत्मसात गर्दै भौंतारिंदा भौंतारिंदा बल्ल कालिम्पोंग पुगेर चाहिं उपचार शुरु भएछ। यस्ता रोगीहरुलाई लामो समयसम्म त्यहीं राखेर उपचार तथा हेरचाह गर्ने चलन रहेछ।
उपचार गरेर हिंड-डूल गर्न सक्ने भएपछी बा पहाड हामीकहाँ आउनुभएछ। त्यहाँ घर बाहिरै उभिएर आमालाई भन्नुभएछ कि अब उहाँ चाहिं यो समाजको लागी पानी नचल्ने हुनुभएको छ, किनकि उहाँले इसाई धर्म अपनाउनुभएछ। बाको यो कुराले आमालाई कुन अवस्थामा पुर्यायो होला त्यो त मैले कल्पना पनि गर्न नसक्ने कुरा हो, तर त्यो भन्दा पनि ठूलो वज्रपात तब भएको हुनुपर्छ जब बाले आमा सित यो कुराको निर्णय मागनुभयो कि उहाँ चाहिं बालाई छोडेर यथास्थितिमा रहिरहने कि बाको साथ दिएर कालेम्पोंग तिर लाग्ने। मेरा बा-आमाले जुन मान्छेको हातमा मलाई सुम्पिदिनुभएकोछ तिनकै पछि लग्नु नै मेरो धर्म हो भन्दै आमाले दोस्रो चाहिं बाटो छान्नुभएछ। यसप्रकारले मेरी २६ वर्षकी कलिली आमा आफ्नो ६ वर्षको बालख छोरो काखी च्यापेर, समाजले त्यागेको महारोगी खासमको पछि लागेर, अरु आफन्त भन्नलाई एकजना पनि नभएको, मुग्लानको कालेम्पोंग पुग्नुभएछ।
कालेम्पोंग पुगेपछि बाको अस्पताल छेउ-छाउ मै मिसन कम्पाउण्ड क्षेत्रमा एउटा दुई-कोठे बस्ने ठाउँ दिईयो। भिरालो ठाउँमा बनेको त्यो घर, जोडको हावा चलि नै रहने अनि हावाले त्यो घरको टिनको छानाको खुकुलो भाग हल्लाउँदा लगातारको डंग-डंग आवाज भइरहने कुरा सम्झनामा आइरहन्छ।
त्यहाँ पहिलो काम मलाई स्कूल भर्ना गराइएछ। त्यसपछि हामी ठूलो गिर्जाको विधिवत सदस्य भएछौं। स्कूलमा मलाई ढुङ्गा क्लासमा राखियो जहाँ मसिना ढुङ्गाहरु जोडेर क, ख, ग बनाउन र चिनाउन सिकाइन्थ्यो। ६ वर्षको केटो त्यो कक्षामा ठूलो देखिने अनि मैले बाह्रखरी पहाड मै सिकिसकेको हुनाले मलाई वर्ष नसिद्धि कक्षा वृद्धि दिईयो। प्राइमरी स्कूल बड़ो राम्रो संग खुशी खुशी बित्यो। अंग्रेजी सिकाई साह्रै कठिन लाग्थ्यो किनकि बाले यसमा सहयोग गर्न सक्नुहुन्न थियो। अरु विधाहरुको सिकाई खासै कठिन भएनन्। प्राइमरी स्कूलमा सम्झने भूंड़े सर, कर्थाक सर, भिक्टर सर, इन्गलिश गुरुआमा, फ़िपोन सर विशेष आदर र प्रेमका पात्रहरु हुनुहुन्छ।
मिसन कम्पाउण्डको त्यो घरमा बसुञ्जेल हामीलाई त्यति धेरै दु:ख भएको मलाई सम्झनामा छैन। त्यही घरको बसाईको अवधि भित्र माइलो र साइँलो भाइहरुको जन्म भयो। अस्पतालको सजिलो सुविधा भएकोले सुत्केरी बेला पनि कुनै ठुलो कठिनाई बिनानै सम्पन्न भएको थाहा छ। साइँलो भाइको पालोमा चाहिं जन्मे लगत्तै निकै दिनसम्म बच्चा वार्डमा भर्ना हुनुपरेको थियो। त्यो बेला स्कूलको समयपछि घरको सबै काम भ्याउनु पर्ने जिम्मा मलाइ नै परेछ। आमाले अस्पतालबाट सिकाएर पठाए अनुसार जाउलो पकाएर आफैं पनि खाने अनि आमालाई पनि लगिदिने काम मैले पाएकोथिएँ। मैले त्यति छोटो काम गर्नलाई साह्रै लामो समय लाउने गरेको देखेर आमाले एकजना साथीलाई हाम्रो घर गएर हेरिदिन आग्रह गर्नुभएछ। मरीयम क्षेमाले आएर हेरिदिएपछि त स्टोभ मज्जाले बल्यो र जाउलो पनि एकैछिनमा पाक्ने भयो। सलेदोवाला स्टोभमा बाक्लो सिट्टी जमेछ र पाक्न धेरै बेर लाग्दोरहेछ। त्यति सिट्टी मठार्न पनि नजानेको भनेर आफैंलाई खूब लज्जाबोध भएकोथियो।
त्यो घरको ढोका मेरो कारणले फोड्नु परेको कुरा गाउँलेहरुले पछि सम्म मलाई जिस्क्याउदै सुनाइ रहन्थे। कुरो के भएछ भने मलाई घर कुरुवा राखेर बा-आमा कतै जानुभएछ, बेलुकी झमक्क भई सकेपछि फर्केर आउँदा म यति गहिरो निन्द्रामा परेछु कि कुनै उपाय गर्दा पनि मलाई ढोका खोल्न बिउंझाउन नसकेर ढोकै फोड्नु परेछ।
त्यहि घरको अर्को हिस्सामा तिब्बती मूलको एउटा परिवार हाम्रो छिमेकी थिए। त्यो परिवारको छिरीङ्ग् र तिनको भाइ-बहिनी मेरा खेल्ने साथीहरु बने। छिरीङ्गको बुवाले महंगीको गुनासो गर्दै भन्ने गर्थे कि अब नून खाएर नै बाँच्नु पर्ला किनकि सबै भन्दा सस्तो त्यै नून मात्रै छ। त्यो बेला नून १० पैसा प्रति किलोको दरले पाइन्थ्यो।
त्यो घरमा छँदा एकजना धरणीधर बजे आइरहनु हुन्थ्यो। उहाँलाई सम्झिरहने कारण चाहिं के छ भने उहाँ घर आउने बित्तिकै जुत्तैसरी खाटमा डङ्गणगै पल्टिहाल्ने। जुत्ता बाहिरै खोल्ने चलन भएका हामीलाई चाहिं यो कुराले साह्रै झिंझो लगाउँदथियो।
कालेम्पोंग गएपछि परिवारको गुजारा चाहिं बालाई दीइएको कामको आम्दानिबाट हुँदोरहेछ। भर्ना हुनुभएको अस्पतालका दिर्घरोगीहरुलाई प्रौढ शिक्षा दिने काम बालाई दिइएको रहेछ। त्यो अस्पताल परिसरमा बस्ने जति सबै मेरा काका, बडा, क्षेमा र बडीहरु थिए। पढाउने काम गर्नुभएकोले हाम्रो बालाई ‘गुरुबा’ भन्थे र मचाहिँ ‘सानागुरुबा’ भनी बोलाइन्थें।

यसै दौरान मावली हजुरबा हामीलाई भेटन कालिम्पोंग आउनुभयो। आमा र मलाई दाहिने-देब्रे राखेर माइलो भाइलाई काखमा लिएर स्टुडियोमा खिंचाउनुभएको त्यो श्याम-स्वेत फोटो हाम्रो निम्ति गर्वको सम्झना बनेकोछ। दुर्भाग्यवश हजुरबासंगको त्यो भेट हामी सबैको निम्ति अन्तिम भेट हुनपुग्यो।
यो बेला सम्म हाम्रो मुन्ग्लान बसाई त्यती धेरै गाह्रो भने जस्तो लागेको थिएन। बालाई बेला-बेलामा अस्पताल भर्ना हुनपरिरहन्थ्यो र पनि साधारण गुजारा चलिरहेकै थियो। बा घरमा संगै हुनुभएको बेला धेरै रमाइलो लाग्थ्यो, मलाइ पढाइमा सहयोग गर्नुहुन्थ्यो अनि चाखलाग्दो तरिकाले कुराकानी गर्न जान्नुहुन्थ्यो।
तर त्यो रमाइलो यामले अब बिट मर्ने बेला भैसकेको हामीले चालै पाएका थिएनौं, हाम्रो मुन्ग्लाने दुख: का दिनले हामीलाई गांजिहाले। कुरो यस्तो भयो – हामी आमा-छोरा हालसालै पहाडबाट झरेका, धेरै बजारे रहन-सहन नदेखेका र नजानेका, कता-कता पाखे समुहमा अझैपनि थियौं। बाले बडो माया गरेर, हामीलाई शहरिया मनोरन्जन दिलाउने रहर बोकेर, बाइस्कोप देखाउन तल कन्चन हलमा लिएरजानुभयो। बाइस्कोप हेरिसकेर हलबाट निस्कंदै गर्दा एकजना हुनेखाने छिमेकीले देखेर अस्पतालको हाकिमलाई यो कुरा सुनाउनु भएछ। त्यो बेला बडो कडा स्वभावको एकजना बेलायती मेमसाहिबा त्यहाँको सि. एम. ओ. हुनुहुन्थ्यो। उहाँलाई यो कुरो ठिक लागेनछ र बाइस्कोप हेर्न गएको जघन्य अपराधको निम्ति तुरन्तै बसिरहेको त्यो घर र गरिरहेको त्यो काम छोडिहाल्नुपर्ने कडा हुकुम जारी भयो। अहिले सम्झंदा त्यो वहिर्गमनमा मानिसको पहिलो जोडीलाई अदन बगैंचाबाट लाघारिंदाको भन्दापनि बडी दयनीय चित्रण मनमा देख्छु। त्यसरी निस्किंदा आदम त सद्दे भौतिक ज्यान भएका थिए, कोडले गलेको, आलो घाऊ बोकेको, अंग-भंग भएर लौरोको भरमा खोच्याउँदै हिड्नुपर्ने थिएनन्। उनकी पत्नीसित मानिएको चतूर संग कुराकानी गर्ने र सर्वज्ञानी सृष्टिकर्ता संग बहस गर्ने आँट थियो, पहाडको सोझोपनको कमजोरी उनीसित थिएन। त्यो भन्दा पनि मुख्य कुरो उनीहरु सित तिन-तिन जना अबोध नाबालक लालाबालाको जिम्मेवारी थिएन।
मिसन कम्पाउण्डबाट लघारिएपछि हाम्रो पहिलो पडाव चमड़ा-गोदाम भयो। सुँगुर पालनमा खूब फस्टाएको त्यो गाउँमा नाक-इन्द्रिय निस्क्रिय नगरी बस्न सक्ने अवस्था थिएन। त्यो ठाउँमा बसेर बा-आमाले अरु कुनै ठाउँ खोज्दैहुनुहुन्थ्यो जहाँ आम्दानीको पनि केहि श्रोत हुनसकोस्। चमड़ा-गोदामबाट हामी छिट्टै नै भालुखोप, दोरोङ्गिनी आमाको बारीमा अदियाँमा बारी कमाउने गरी बस्न गयौं। अब बाको अस्पताल, मेरो स्कूल र किनमेल गर्ने बजार सबै धेरै टाडा भए। बारीको अदियाँले मात्रै परिवार धान्न नपुग्ने भएर एउटा गाई पनि पालियो।
परिवारको यो बदलिएको अवस्थामा आमा, बा, भाइहरु र म हरेकलाई नै कठिनाई मनग्गे थपिएका थिए तर सबै भन्दा बडी दुख: र जिम्मेवारीको बोझ आमाको थाप्लोमा पर्न गयो। पारिवारिक अवस्थाको तनावले गर्दा होला, बाको रोग पनि घरी-घरी बल्झिदै च्याप्न लग्यो। उहाँलाई धेरै जसो अस्पतालमा नै भर्ना भईरहनु पर्ने हुनथाल्यो।
भालुखोपको त्यो पडावमा आमाको र आफ्नो दुख: बाहेक अरु केहि सम्झनामा छैन। त्योबेला पालेको रातो गाई साह्रै दुष्ट थियो, धेरै नै लात्ती हान्ने। दुध दुहुन बस्यो कि त लात्ती हानिहल्ने। फुल्याऊँदै भएपनि दुध त दुहुनै पर्यो, यस क्रममा आमाको जिऊ भरि लात्तीको डामै डाम भएका थिए।
मलाई स्कूल पनि साह्रै टाडो हुनगयो। पहिले स्कूल नजिक हुँदा ४० मिनटको लंच ब्रेकमा घर गएर खाना खाएर फर्किन समय पर्याप्त हुन्थ्यो तर अब त नयाँ ठाऊँबाट स्कूल पुग्न नै डेड घण्टा लाग्ने भयो। बिहान दुधको केन बोकेर घरबाट निस्किंदथें, माथि त्रिपाईमा दुध छोडेर स्कूल जान्थें अनि बेलुका फर्किंदा दुधको खालि केन लिदै घर पुग्थें। दिनभरिको स्कूल, लामो बाटो अनि भोको पेटले गर्दा होला त्यो बेला मलाई साह्रै झर्को लागिरहन्थ्यो। आमाले खाजाको लागि भनेर मकै भुटेर गोजीमा हाली त दिनुहुन्थ्यो तर त्यो त माथि त्रिपाई पुगुन्जेल मा नै खाइ सिद्धिन्थ्यो। स्कूलबाट यसरि लखतरान भएर घर पुग्ने बित्तिकै आमाले डोको र कचिया थमाएर एक भारी घाँस ल्याएर मात्रै खाजा खान पाउँछस भनेर खेदाउनुहुन्थ्यो। त्यो अवस्थाको कारणले होला मलाई जिन्दगीको सबै भन्दा कठिन काम चाहिं घाँस काट्नु नै हो जस्तो लाग्थ्यो।
त्रिपाईमा मैले दुध पुर्याउने घर एकजना दोरोगा बाबुको रहेछ। त्यो घर पुग्दा मलाई खुशी लागदथियो। अहिले फर्केर हेर्दा मलाई लाग्छ कि उहाँहरुले हामीलाई केहि सहयोग होस् भनेर हम्रोबाट दुध किन्नुहुन्थ्यो। त्यो घरमा धेरै मान्छेहरु थिए अनि सबैले मलाई मायासित राम्रो व्यवहार गरेको जस्तो लाग्थ्यो। प्रष्ट देखिन्थ्यो कि त्यो घरको हर्ता-कर्ता दोरोङ्गिनी आमा हुनुहुन्थ्यो। उहाँ कडा स्वभावको तर धार्मिक व्यवहारको भएको सजिलै देख्न सकिन्थ्यो।
आमा-बा संग के सल्लाह भयो कुन्नि केहि समय बितेपछि हामी त्रिपाईको त्यहि दोरोगा बाबुको बारीमा बसाई सर्यौं। साविकको ठाउँ धेरै टाडो भएको कारणले हो कि जस्तो मलाई लाग्छ। त्यहाँ सरेपछि थाहा लग्यो कि उहाँलाई रोङ्गोङ्ग बाबु भनेर पनि चिनिँदोरहेछ। उहाँको बारीमा एउटा लामो गोठ रहेछ, त्यसैलाई आधा बारेर हाम्रो बस्ने ठाऊँ बन्यो अनि बाँकि भाग हाम्रो गोठ। त्यो ठाउँमा हामीले बाख्रा र कुखुरा पनि पाल्यौं कि जस्तो लाग्छ। जे होस् त्रिपाई सरेपछि हामीलाई केहि सहज भएको अनुभव अवश्य भयो। मेरो स्कूलको बाटो आधा नै छोट्टियो, बजार अनि चर्च नजिक भयो, रोंगोंग बाबुकै घरमा पनि सेवा-संगतिहरु संचालन हुन्थे। बाको अस्पताल भने अझै पनि निकै टाडो नै थियो।
त्यो घरका सारा दिदी, जितेन दाजु, तता दिदी, साहिंला सर् -हरु धेरै फ़र्साइला र इज्जतका पात्रहरु छन्। रोंगोंगनी आमा त हाम्रो भलाइको निम्ति वास्ता लिएर निर्णय गर्ने मुख्य व्यक्ति नै हुनुहुन्थ्यो। ती बाहेक माहिला सर, अन्तरे सर, दरोगा बाजे अनि भीमदल सर पनि भेटिएको बेलामा स्नेह दर्शाउने परिवारजन हुनुहुन्थ्यो। कुनै समयमा उहाँहरुको जेठो दाजु राजेन्द्र सरको परिवार त्यहाँ आउनुहुँदा उहाँहरु नेपालमा बस्नुहुन्छ र धेरै ठूलो ओहदामा रहनुहुन्छ भनेको सुन्दा मलाई धेरै गर्व महसुस भएको थियो। मेरो देशबाट आएको कोहि ठुलो मान्छे देख्नपाएँ भनेर मनभित्र कताकता खुशी लागेको थियो।
त्यो ठाऊँमा बस्दा एकपल्ट बाकोबाट पहिलो अनि अन्तिम सजाय खेप्ने सुअवसर पाएँ। बाको कोटको खल्तीबाट ५० पैसा सुटुक्क झिक्ने कुबुद्धि कतैबाट पाएर यो कुकृत्य गर्ने आँट पनि भएछ। चोरी गरियो भन्ने डरले त्यो लगेर पर्खालको प्वालमा लुकाउनलाई राखें। तर बाले त कसरी कसरी थाहा पाईहाल्नु भएछ। बाले सोध्नुभयो, मुखले त ढाँटन चाहें तर अनुहारले सच्चाई भन्दीईहाल्यो। बाले पिटेको त के ठूलो सोर गरेको पनि मलाई थाहा छैन तर मबाट चोरीको निर्मूलीकरण हेतु मलाई मुर्गा-आसनमा बस्न लगाउनुभयो। त्यो आसनले मलाई कुनै पनि चोरीलाई घृणा गर्ने ठूलो गुण लाएकोछ। धन्य बाको त्यो दूरदर्शी प्रेम।
त्रिपाईको त्यो गोठ्घरमा आमालाई सुत्केरी बेथा लागेछ। बिहानपख कै बेला थियो, आमा छटपटाउन लागनुभयो। बाले मलाई गाऊँ को नर्स आन्टीलाई झट्टै बोलाउनु भनेर पठाउनुभयो। नर्स आन्टी आईपुगेर हामी सबैलाई बाहिर खेदनुभयो अनि एकछिन मा नै हाम्रो कान्छो भाइ जन्म्यो।
अब परिवार संख्या पनि छ: पुगिसक्यो। परिवार धान्न धेरै नै गाह्रो अवस्था रहेको सजिलै बुझ्न सकिन्थ्यो। बा रोगले कमजोर, खासै केहि गर्न नसक्ने। म भर्खर ११ वर्षकोले जति नै गरेको भने पनि कति नै हुन्थ्यो र। भाइहरु ४ वर्ष, २ वर्ष र नवजात। गोठ, बारी र घरको प्राय: सबै काम सकी-नसकी सुत्केरी आमाले नै भ्याउनुपर्ने।
यसै दौरान बालाई बारम्बार रोगले च्यापने अनि अस्पताल भर्ना भैरहनुपर्ने हुन थाल्यो। त्रिपाईमा बसेको ठाऊँबाट बालाई अस्पतालमा भेट्न आऊ-जाऊ गर्न नै साह्रै हम्मे हुनथाल्यो। यहि कठिनाईको कारणले होला, तब हामी अस्पताल नजिकैको ठकुरिनी आमाको जग्गामा आफ्ना सबै झिटिमिटी र गाई-बस्तु लिएर बसाईं सर्यौं। ठकुरिनी आमालाई त्यो गाऊँकाहरुले ‘स्विट बोजू’ भनेर चिन्दारहेछन र उहाँको स्वामित्वको घर-बारीलाई चाहिं ‘स्विट कमपाउण्ड’। उहाँ निकै कडा र छुच्चो बोलीको हुनुहुन्थ्यो तर शायद उहाँको मन चाहिं ‘स्विट’ भएकोले त्यस्तो नाऊँबाट चिनिनुभएकोहोला। बाँसको भाटाले बुनेकोमा माटो लिपेर बनाएको त्यो घरको आधा हिस्सा चाहिं हामीलाई रहेछ। घर तलको गरामा सानो गोठ बनाइयो। त्यहाँ हाम्रा दुई माऊ गाई थिए। अलिअलि गोठको सरसफाई र बस्तुलाई दाना-पानी गर्ने सम्म म भैसकेको थिएँ। यी बाहेक पर धाराबाट पानि ओसार्ने, घाँस-दाउरा गर्ने तथा बालाई अस्पतालमा खाना पुर्याउने कामहरु मेरो जिम्मामा थिए।
त्यो घरको अर्को आधा भागमा चाहिं लखपति बडीहरु बसनुहुँदोरहेछ। बडी कुष्ट रोगको बिरामी हुनुहुँदोरहेछ। उहाँको पति चाहिं घर-घर चिट्ठी पुर्याउने पोस्टम्यान हुनुहुँदोरहेछ। पोस्टम्यान अंकलको आवाज सुनेको मलाई थाहै छैन तर लखपती बडी चाहिं आफ्नो पति घर भएको बेलामा कुनै विरामबिना, लगातार कच-कच को चर्को बोली बोलिरहनुहुन्थ्यो। उहाँहरु मधेस मूलको भएर उतैको भाषा बोल्ने कारणले सुनेको कुरा त केहि बुझिंदैन थियो तर उहाँ बोल्न थालेपछि चाल पाइन्थ्यो कि अंकल घर आउनुभएछ।
छिमेकमा बगान सरको घर थियो। उहाँको छोरा र म एकै कक्षाका विद्यार्थी। सरले समय-समयमा मेरो होम-वर्कमा सहयोग गरेर मलाई ठूलो गुण लाउनुभएकोछ।
स्विट बोजूको स्वामित्वमा त्यहाँ निकै धेरै जमिन रहेछ। अस्पताल जाने बाटो माथिको पूरै जस्तो पाखा उहाँकै रहेछ। त्यहाँ धेरै परिवारहरु भाडा तिरेर बस्दारहेछन। ती परिवारहरुमा धेरै दौंतरी ठिटीहरु पनि देखियो। उमेरको तजबिजले गर्दा हुनसक्छ ती ठिटीहरुलाई देख्दा मनमा कता-कता कुतकुती लागेको जस्तो हुन्थ्यो। यस्तो अनुभव यस अघि भएको थाहा थिएन। तर आफ्नो घरमा कुनै दिदी-बहिनीको संगत हुन नपाएकोले होला, कुनै केटी सित बोल्नु त के सामुन्ने पर्नु पनि कहिल्यै आँट भएन।
त्यो रुक्खा बारीको मकै, कोदो र गाईको दुधको आम्दानीले आमालाई परिवार धान्न धेरै गाह्रो हुनथाल्यो। कसैले सुझाव दिएछ कि बदम भुटेर बेच्यो भने केहि आम्दानी थपिन सक्छ। आमाले त्यो सुझावलाई प्रयोगमा ल्याउनुभयो। तब भुटेको बदमको सोली बनाएर बेच्न जाने काम चाहिं मेरो जिम्मामा पर्यो अनि बेच्न जानु पर्ने ठाऊँ चाहिं अस्पताल परिसरमा, विशेषगरी नर्सिङ्ग पढ्दै गरेका दिदीहरुको होस्टेल छेऊ तिर। अब आमाले अह्राएको नाईं भन्न त सोच बाहिरको कुरा थियो, तर किसोरावस्थाको एउटा सोझो ठिटोलाई देखेर जिस्क्याउन पछि नपर्ने ती कलकलाऊँदा दिदीहरुको मिठो अत्तर नाकैमा ठोक्किने गरि नजीक भएर सामना गर्नुपर्दा चाहिं लाजले भुतुक्कै होइन्थ्यो।
त्यहि समय थियो जुन बेला सन १९६८ को ठूलो भल-पाहिरोले धेरै धन-जनको क्षति गरेको थियो। अक्टोवर ४ तारिखको दिनको त्यो विध्वंसमा हाम्रा आफन्त पर्ने काका र काकी पनि बगाइएर हराए। त्यसैले टिस्टा खोलाको त्यस्तो बलियो पूल पनि बगायो।
बा कोइ कोइ बेला मात्र घर आउनुहुन्थ्यो, धेरै जसो अस्पतालमा भर्नाको अवस्थामा नै बितदथियो। यस्तैमा एकपल्ट धेरै नै सिकिस्त हुनुभयो। त्यसै त कुष्ट रोगले शरीर र त्यसको रोग प्रतिरोधात्मक क्षमतालाई क्षीण बनाइसकेको, त्यसमाथि कडा प्रकारको निमोनियाले ग्रस्त परेछ। आमा र म पालैपालो सिकिस्त बालाई कुर्न बस्थ्यौं। बालाई बोल्न पनि निकै गाह्रो भईसकेको बुझिन्थ्यो। यस्तैमा एकपल्ट आफैंसित बरबराउँदै गुनासो पोख्नुभयो कि अनारसको रस मागेको त्यति पनि ल्याइदिएनन भनेर। यो सुनेर साह्रै आत्मग्लानी भयो तर मैले गर्नु सक्ने पनि केहि थिएन। यो कुरा गएर आमालाई भन्नु पनि आँट भएन किनकि उहाँको हातको सबै पैसा सिद्धिसकेको भन्ने कुरा मेरो जानकारीमा थियो।
यस्तैमा बालाई निमोनियाले अरु च्यापेर बाहिरको मिसन अस्पतालको मेडिकल वार्डमा लगे। त्यहाँ लगेपछि बा धेरै जसो बेहोसी मै रहनुभयो। एक पल्ट आँखा खोल्दा मलाइ छेउमा उभिइरहेको देखेर झीनो स्वरमा भन्नुभयो कि आमाको वास्ता गर्नु अनि भाइहरुलाई राम्ररी पढाउनु। त्यति भनेर फेरि आँखा चिम्मै पार्नुभयो। गिर्जाका मान्छेहरु भेट्न आउंथे। त्यहाँ ल्याएको पनि अब तिन दिन बितिसकेको थियो, गिर्जाको प्राचिन बाबु आउनुभयो र मलाई केहि सोध्दैहुनुहुन्थ्यो। त्यतिकैमा बालाई होस आयो र टटकारो आँखा खोलेर हेर्नुभयो। प्राचिन बाबुले बालाई भन्नुभयो “भाई, हामी तपाईंको लागि प्रार्थना गर्न आएका हौँ”। त्यसको जवाफमा बाले प्रष्ट प्रश्न गर्नुभयो “अब यसको किन जरुरत पर्यो र ?” यति भनेर फेरि पहिलेकै स्थितिमा आँखा चिम्म भयो अनि प्राचिन बाबुहरू प्रार्थना गरेर जानुभयो। म चाहिं त्यो प्रश्नको अर्थ र औचित्य के होला भन्ने अन्योलमा नै अल्झिरहें।
प्राचिन बाबुहरू जानुभएको एकैछिनमा एउटी नर्स दिदी आएर बालाई हेर्नुभएपछिको उहाँको हाऊभाऊले मेरो मनमा चिसो पस्यो। नर्स दिदीले अरु साथीहरु बोलाएर त्यो पलंगलाई हरियो पर्दाले घेर्नुभयो र मलाई बाहिर पठाउनुभयो। प्रष्ट थियो कि बा केहि बेर अघि नै बिदा भईसक्नुभएको थियो। हेम बहादुर काका र मान बहादुर ककाहरुले मलाई भाइहरु हेर्न भनेर घर पठाउनुभयो।
भोलिपल्ट गिर्जामा मलामी सेवा गरेर लासलाई तल कोप्चे गाऊँ मुन्तिरको चिहानमा लगियो। म लासको पछि-पछि लुरुलुरु गएँ, आमा र भाइहरु त्यहाँ भएको-नभएको मलाई थाहा भएन। अस्पतालमा अब बा हुनुहुन्न भन्ने जानेदेखि नै मैले साह्रै एक्लो महसुस गरिरहेको थिएँ तर रोएको भने मलाई थाहा छैन। लास बिसाउने ठाऊँमा पहिले देखि नै तयार पारेर राखेको खाल्डोमा विधिवत् प्रार्थना गरी माटो दिएर हामि घर तिर फर्क्यौं। यसपछि केहि दिनसम्म गिर्जाबाट सी.ई. का दाजु-दिदीहरु र अरु व्यक्तिहरु समूह समूह मा हाम्रो घरमा आएर शान्तवनाका सेवा-संगति गर्नुहुन्थ्यो। नेपालको पहाडमा बाको विषयमा जानकारी दिने जिम्मावारी पाएर मैले माइला मामालाई चिट्ठी लेखेर पठाएँ अनि हाम्रो पारिवारिक जीवनको एउटा अध्यायले यहाँ बिट मारेको थियो।
बाको विदाई पछि विशेषगरी आमा पारिवारिक जिम्मावारिमा एक्लो हुनुभयो। परिवारको गुजारा त पहिले देखि नै बड़ो कष्टकर अवस्थामा चलिरहेको थियो, त्यसमाथि अब अभिभावक बिहिनताको मानसिक एक्लोपनाले थप बोझित बनाएकोथियो। पहाडबाट आउँदा साथमा ल्याएका तांबा, कांसा र पित्तलका खंड्करो, थालहरू, कसौंडी, अम्खरा, यस्ता बिक्न सक्ने सबै वस्तुहरु त बेची सकिएकोथियो। आमाका गहनाहरु त धेरै पहिले नै सिद्धिसकेका थिए।
तल सेन्ट अगस्टीन स्कूलमा एकजना फादर ग्रेगले साह्रै गरिबीमा भएकाहरुलाई केही सहयोग गर्नु हुन्थ्यो। हाम्रो आमाले पनि बेलाबेलामा उहाँको बाट सहयोग लिन जानुहुन्थ्यो। त्यहाँबाट थोरै भएपनि खाद्यान्न तथा केहि नगद प्राप्त हुने गर्थ्यो। यसबाट आमालाई घर चलाउन धेरै सहयोग पुगेको म थाहा पाउथें।
गिर्जाबाट कतिजनाको सिफारिसमा ७ र ५ वर्षका माइलो र साइँलो भाइहरुलाई बम बस्तीमा पास्टर सोदेम्बाको होममा पुर्याएर जिम्मा लगाइयो। हरेक महिनाको तोकिएको दिनमा मात्र भाइहरुलाई त्यो होममा भेट्न दिइन्थ्यो। उनीहरुलाई भेट्दा मेरो मन साह्रै खिन्न हुन्थ्यो किनकि उनीहरुको अनुहारबाट बालापनको त्यो प्राकृतिक चमक नै हराएको जस्तो देखिन्थ्यो। साइँलो चाहिं साह्रै नै मायालाग्दो अवस्थामा देखिन्थ्यो। आमाले त्यहाँको आया दिदी सित केहि कुरा गर्नुहुन्थ्यो अनि हामी माइलो भाइलाई आफ्नो भाइको ख्याल गर्नु भन्ने जिम्मावारी दिएर गह्रौं मन गर्दै फर्किन्थ्यौं। यस्तैमा एउटा जाडो दिनमा भाइहरुलाई भेट्न होम पुग्यौं। हामि आउने आशामा होला दुवै भाइ ढोकैमा उभिईरहेका भेट्यौं अनि छेऊमा पुग्दा सानो चाहिंको लुगाबाट पिसाबको गन्ध ह्वास्सै आयो। भाइहरुले राम्रो हेरचाह पाइरहेका छैनन् भन्ने विचारले साह्रै मन रोयो, माया लाग्यो, तर गर्न सकिने केहि थिएन। मलाइ त त्यस्तो लाग्यो भने तिनलाई जन्म दिने आमाको मन कति भक्कानियो होला। सबै बुझ्दा-बुझ्दै पनि हिम्मत गरेर आमालाई यति चाहिं भनें “आमा, भाइहरुलाई घर लगे हुँदैन?” आमाले केहि जवाफ दिनुभएन, शायद त्यस दिनमा त्यो प्रश्नको कुनै जवाफ छँदै थिएन होला।

आमाको समसामयिक संघर्षको बारेमा हाम्रै गिर्जाकी एकजना ‘मेट्रोन बोजु’ ले जानकारी पाएर धेरै टिठ्याउनुभएछ। उहाँले आमालाई आफूले काम गर्ने ‘ब्लाइण्ड स्कूल’ मा लगेर त्यहाँको हाकिम साहिबा ब्रिगेडियर पेज समक्ष आमाको दयनीय अवस्था देखाएर सिफारिस गर्नुभएछ। मेट्रोन बोजु पनि निकै बृद्ध भईसक्नु भएकोले उहाँको काम अब आमालाई सिकाइदिनु भन्ने हुकुम हाकिम सहिबाले दिनुभएछ। फर्केर हेर्दा यो नयाँ सम्बन्ध हाम्रो परिवारको लागि एउटा सुखद आयामको शुरुवात थियो।
आमाले दृष्टिबिहीन मसिना केटा-केटीहरुको स्याहार-सुसारको काम गर्न थाल्नुभयो। आमाको मेहनत र हाम्रो पारिवारिक अवस्थाको जानकारी पऊँदै गए पछि ब्रिगेडियर पेजले हामीलाई ब्लाइण्ड स्कूल परिसर भित्रै आवासको सुविधा प्रदान गर्नु भएछ।

बड़ो खुशीसाथ हामि स्विट कमपाउण्डबाट ब्लाइण्ड स्कूल परिसरभित्र तोकिएको घरमा सर्यौं। सरेको केहि दिन भित्रै दुवै भाइहरुलाई होमबाट निकालेर आफैंसित ल्याइयो। हामि चारै भाइलाई पिङको छेऊमा उभिएर खिचिएको फोटो ब्रिगेडियर पेजले हामीलाई पनि एक प्रति दिनुभएको थियो।
कक्षा ७ देखि हाम्रो स्कूलमा अंग्रेजी मिडियममा पढाइने हुँदा मलाइ पढाइमा निकै गाह्रो हुँदै थियो किनकि मेरो लागि अंग्रेजी चाहिं धेरै कठीन विषय थियो। पढाइमा बडी ध्यान देओस भनेर आमाले मलाइ घरको काम त्यति अह्राउनहुन्नथियो। भाइहरु घरका केहि काम सघाउन सक्ने भइसकेका थिए, विशेष गरी माइला भाइले भान्साको काम खूब रुचि लिएर सफा संग गर्ने।
मेरो अंग्रेजीको ज्ञान बढोस् भनेर ब्रिगेडियर पेजले त्यहाँका दृष्टिविहीन दाजु-दिदीहरुको निम्ति उनीहरुका पाठ्य पुस्तक पढिदिने जिम्मा मलाइ दिनुभयो। विशेषगरी कृष्ण, इम्तियाज र इरशाद दाजुहरुको लागि पढीदिंदा मैले धेरै कुरो सिक्न पाएँ , किनकि मैले ठिक पढ्न नजानेको शब्दहरुलाई उहाँहरुले सच्याईदिनुहुन्थ्यो। उहाँहरुको त्यो गुण जीवन पर्यन्त म बडो कृतज्ञता साथ सम्झिरहन्छु।
ब्लाइण्ड स्कूलको, विशेषगरी होस्टेलको, दैनिकीमा म धेरै घुलमिल हुँदै गएँ। घरको संघुरोपन र होस्टेलमा आफ्नै उमेर समुहका ठिटाहरुको संगत पाउँदा अब मेरो धेरै जसो समय होस्टेलमा नै बित्न थाल्यो। यो देखेर होला, ब्रिगेडियर पेजले मलाइ बस्नलाई, आमाले काम गर्नुहुने परिसरमा नै एउटा कोठा उपलब्ध गराइदिनुभयो। यो सुविधा पाउँदा मलाइ एउटा ठूलो स्तर-वृद्धि प्राप्त भएको अनुभव भयो।
एकपल्ट ब्लाइण्ड स्कूलमा कतैबाट निकै ठुलो मात्रामा खाद्यान्न तथा लगाउने कपडाहरु प्राप्त भएको थियो। ती सामान चोरी नहोउन भनेर हामी केहि केटाहरुलाई स्टोरमा सुत्ने पालो दिइएको थियो। त्यहाँ हामीलाई सिसम धूलो र ससाना डिब्बामा हुने चिकेन सूप खान छूट थियो। मलाइ चाहिं यी दुवै थोक, यिनमा हुने गन्धको कारण खान मन पर्दैनथियो। यसै क्रममा एकदिन घरमा चियापत्ती सिद्धिएको जानेर, बिहान स्टोरबाट फर्किंदा दुई मुट्ठी चियापत्ती एउटा कागजमा पोको पारेर लागें। घर जाँदैगर्दा कप्तान प्रेमाले हातको पोको देखेर सोद्धा चियापत्ती हो भनें। यो कुरालाई चोरीको संज्ञा दिएर उहाँले ब्रिगेडियर पेजसम्म पुर्याउनुभएछ। ब्रिगेडियर पेजले बोलाएर सोध्नुहुंदा मैले भनें कि त्यहाँ हामीलाई दीईएको छूटको आधारमा मैले लिएको हो, चोरीको मनसायले त होइन। शायद उहाँले बुझ्नुभयो होला, त्यसैले रिसाउनु चाहिं भएन तर यो भन्नुभयो कि त्यहाँ भएका सामानहरु त्यहीं खान मात्रै अनुमति छ, लिएर जानु चाहिं छैन। त्यो सुनेर मैले उहाँसंग माफी मागें अनि यो सिकेर फर्कें कि जत्तिकै स्वतंत्रता भएपनि अरुको सम्पत्तिलाई अनुमतिबिना छुनुहुंदैन।
कुनै एउटा बिदाको बेला कृष्ण दाजुको नेपाल जाने योजना भएछ। ब्रिगेडियर पेजले मलाइ दाजुको साथि बनाएर पठाउन चाहनुभएछ। दाजु दृष्टिविहीन भए पनि यात्राको अनुभव भएकोले मैले उहाँलाई डोर्याइदिए उहाँले मलाइ डोर्याउन सक्ने निधो गरेर हामि नेपालको यात्रामा हिड्यौं। त्यो बेलासम्म नेपालको पूर्व-पश्चिम राजमार्ग बनेको रहेनछ, यसकारण रेल चढेर रक्सौल हुँदै बीरगंजबाट गाडीमा काठमाण्डौ पुग्नु पर्दो रहेछ। खै कता-कता कसरि कसरि हुँदै हामी काठमाण्डौ स्थित मेंडीज होममा पुग्यौं। भोलिपल्ट हातमा भएको ठेगाना सोध्दै सोध्दै कमल पोखरी स्थित फुपूको घरमा पुगें। दुइ-तिन दिन त्यहाँ बसेर शहर अलिअलि घुमेपछि त्रिशुलीको गाडी चढेर पहाड तर्फ हिडें। त्रिशुलीबाट तिन घण्टा पैदल हिंडेपछि ढोड गाऊँ पुगीँदो रहेछ। ढोड गाऊँ पुगेर धारा र बाटोको मोड़हरु मात्रै केहि चिनेको जस्तो लाग्यो तर अरु केहि पनि र कोहि पनि नचिनिने गरी फरक भई सकेछन। आफू बसेको घर त अब नामो-निसान नै छैन रहेछ। अरु घरहरु पनि निकै बदलिसकेछन।
झंकनाथ पण्डितको घर कुन हो भन्दै सोधी हिंड्दा एउटी दिदीले प्याच्चै “भुन्टे भाइ होइन?” भनेर सोध्नुभयो। म अकमक्क परेको देखेर त्यो दिदीले अरु केहि सोधेपछि मलाइ माइला मामाको घर लिएरै जानुभयो। घर पुगेपछि मात्र थाहा लाग्यो कि सानुमा मलाइ बोलाउने नाऊँ भुन्टे रहेछ अनि त्यो दिदी मेरो ठूली आमाको छोरी हुनुहुँदो रहेछ। मामा-माइज्युहरु खुशीले पिल-पिल रुन थाले। आफुले हुर्काएको बच्चो भन्दै दुवै माइज्युहरु मलाइ सुमसुम्याउन थाल्नुभयो। माइला मामा र कान्छा मामाहरुले गाऊँ-बेसी डुलाएर सबैलाई परिचय गराउंदै पुराना कुराहरु सम्झाउनु भयो। केहि दिन त्यहाँ रमाइलो सित बसेर काठमाण्डौ फर्कें। त्यहाँबाट कृष्ण दाजु संगै तिन दिनको यात्रा गरेर कालेम्पोंग पुगियो। छोराले नेपालबाट ल्याएको माया र सम्झनाका खबरले आमा असाध्यै खुशी हुनुभयो। म पनि नयाँ ताजापन पाएर आफ्नो पढाइको क्रममा डुबें।
यसरि समय बित्दै जाँदा त्यहाँका कतिजना वरिष्ट व्यक्तित्वहरुले हाम्रो आमाको उमेर र अवस्थालाई हेरी, लामो जिन्दगी एक्लो कटाउन गाह्रो हुने ठहर गरी, आमाले बिवाह गर्नुपर्ने सुझाव राखेछन। बिहे गर्न चाहने पुरुष पनि मिलिसकेछ, आमाको पनि राजामंदी लिईसकिएको हुनुपर्छ। अब ठूलो भैसकेको जेठो छोरोलाई यो प्रस्ताव कसरि सुझाउने भन्ने कुराको निकै पेचिलो खड्को परेछ। गहन सरसल्लाह र प्रस्तुत गर्ने तर्कको खाका तयार भएपछी जोन सरले यसको जिम्मा लिनुभएछ। उहाँले बड़ो तयारीका साथ, माथिका बुँदाहरुलाई तर्कमा प्रस्तुत गरेर, मलाइ मनाउन कोशिस गर्नुभयो। मेरो निम्ति यो प्रस्ताव एउटा झस्को थियो। मेरो मनले त यो कुरालाई रत्तिभर सहमति दिएको थिएन तर बहस गर्नमा खप्पिस जोन सरले अघि सार्नुभएका बुंदाहरुलाई बिरोध गर्न सक्ने मसित केहि पनि थिएन। मेरो मौनतालाई नै सहमति मानेको जस्तो गरेर उहाँले त्यो वैठकलाई यति मै टुंग्याउनुभयो। म कताकता आफैंमा ठगिएको अनुभव गर्दै उहाँको पछि-पछि बाहिर निस्कें। यो कुरा अरु कसैले भन्दा पहिले आमाले नै हामीलाई भन्नुभएको भए कति असल हुन्थ्यो जस्तो लागिरह्यो।
जोन सर संगको उपरोक्त वैठकको भोलिपल्ट नै एनएन सरले स्कूलको हिजोको त्यहि सानो कोठामा मलाइ लिएर जानुभयो। हिजोको वैठकमा मेरो प्रतिक्रिया कुनै उत्साहजनक थिएन भन्ने कुराको जानकारी उहाँलाई गराईसकिएको हुनपर्छ, यसैले होला, उहाँले सबै कुरा आफैंलाई बचाव पक्षमा राखेर गर्नुभयो। मैले उहाँलाई केहि पनि भनिन किनभने भन्न पर्ने केहि पनि थिएन। उहाँले त्यो बेला भनेको एउटा कुराले चाहिं साह्रै चित्त दुखायो, त्यो के भने, उहाँलाई अरु कन्ये केटीहरुको पनि प्रस्ताव थियो अरे तर ति सबैलाई नकारेर एउटी बिधवा उमा दिदीलाई सहयोग गर्नलाई यो बिवाह गर्न मानिलिनु भएछ।

बिहेको दिन पनि तय भैसकेछ। त्यो दिन मलाई त्यहाँ छेउछाउ बस्नु पटक्कै मन लागेन। बिहानै गन्तव्यविहीन त्यहांबाट निस्कें, तल डांडा हुँदो तिर डुल्दै दिन बिताएँ। ब्लाइण्ड स्कूल फर्किने रत्तिभर मन थिएन, तर मेरो लागि जान सक्ने ठाउँ अरु कहाँ नै थियो र ? बेलुका झमक्क परेपछि होस्टेलको त्यहि कोठामा आएर सुतें।
मलाइ होस्टेलमा खाने-बस्ने सुविधा दिए बापत ब्रिगेडियर पेजले मलाइ सानो-तिनो कामहरु अह्राइरहनु हुन्थ्यो। ति मद्धे मसिना दृष्टिविहीन भाइ-बहिनीहरुको तर्फबाट ‘स्पोन्सर पत्र’ लेखिदिने चाहिं मुख्य काम हुन्थ्यो। शुरु-शुरुमा त हातैले लेखिन्थ्यो तर पछि उहाँको अफिसमा बसेर टाइप-राइटरमा लेख्नु लगाउनुभयो। मेडोना दिदीले टाइपमा लेखने तरिका सिकाइदिनु भएपछी घन्टौं समय लिएर बल्ल-बल्ल एक पेज चिट्ठी लेखि सक्ने सम्म भएँ। रेमिङ्गटोन मेसिनको त्यो अक्षरहरु धेरै बल लाएर हान्नु पर्ने हुँदा औंला फत्रक्क गल्थे, तर ब्रिगेडियर पेजले भने सबै औंलाहरूको तरिका मिलाएर प्रयोग गर्नुपर्नेमा जोड दिनुहुन्थ्यो। ढाड सोझो भएन वा औंला राखेको मिलेन भने टवाकसिङ लाउँदै सच्याउनु हुन्थ्यो। यसरि उहाँले ठूलो उपयोगी सिप मलाइ सिकाउनुभयो।
कक्षा ९ पुगेपछि स्कूलमा हामीले पढने विधा छान्नु पर्ने हुन्थ्यो। मलाइ विज्ञान पढने रहर भएर यो इच्छा आमालाई जाहेर गरें। विज्ञानको पढाइ अरु विधाको दाँजोमा महँगो हुन्थ्यो, र पनि आमाले छोरोको रहरलाई सहमति दिनुभयो। मेरो छनौट अनुसारको बिल लिएर स्कूलमा फिस तिर्न जाँदा लेखा-प्रमुख मिकाहाङ्ग सरले आमालाई निकै हप्काउनु भएछ। मिकाहाङ्ग सर हाम्रै गिर्जाको निकै अधिकार राख्ने अगुवा हुनुहुन्थ्यो, उहाँले आमाको आर्थिक स्थितिलाई जानेर, छोरोलाई विज्ञान पढाउनु चाहिं मुर्खता हो भन्ने तर्क राखेर, अरु कम खर्चिलो विषय पढाउनु भन्नुभएको रहेछ। हाम्रो गरिबीको उपहास भएको भोगेर आमाले त्यो बेला निकै चित्त दुखाउनु भएको थियो। जसले जे भने पनि आमाले चाहिं मैले छानेकै विषयमा मलाइ भर्ना गराउनुभयो।
हुन पनि हो, विज्ञान विषयको पढाइ छिचल्नु मलाइ गाह्रो चाहिं भएकै हो – आर्थिक पक्षले भन्दा पनि चाहिने जति समय पढाइलाई नदिएको कारणले। त्यसै पनि कक्षा ७ देखि अंग्रेजी मिडियममा पढन पर्दा कठिनाइ भैरहेको नै थियो, अब विज्ञान विषयमा त ब्लाइण्ड स्कूलका दाजुहरुले सहयोग गर्न सक्ने पनि केहि थिएन। फलस्वरूप, कक्षा ६ सम्म अव्वल रहिआएको मेरो शैक्षिक उपलब्धी, ७ बाट केहि खस्किंदै गयो अनि ९ देखि त परीक्षाहरूमा तेस्रो, चौथो, पाचौं स्थान मात्र प्राप्त हुन थाल्यो।
हाम्रो समयमा कक्षा ११ पढेर उच्च माध्यमिक परिक्षा दिने नियम थियो। त्यसपछि के गर्ने भन्ने निर्णय गर्न बडो कठिन देखिनाथाल्यो। मलाइ विज्ञान कै पढाई लगातार गर्ने चाहना थियो तर कलिम्पोङ्ग कलेजमा यो विधाको पढाइ उपलब्ध थिएन। अरु शहरतिर गएर होस्टेलमा बसेर पढ्न सक्ने हाम्रो घरको हैसियत थिएन। हाम्रो यो अन्योललाई बुझेर ब्रिगेडियर पेजले सहयोग गर्ने आश्वासन दिनु भयो। कुराकानीको क्रममा उहाँले मलाइ जीव-विज्ञान मन पर्ने कुरा थाहा पाएर, चिकित्साशास्त्र अध्ययन गर्ने इच्छा छ कि भनेर सोध्नुभयो। त्यसपछि उहाँले नै मेरो अगाडिको पढाइको निम्ति प्रक्रिया, स्थान र आवश्यक आर्थिक जोहो गर्ने सबै जिम्मवारी लिएर काम अघि बढाउँन थाल्नुभयो।
हाम्रो पश्चिम बङ्गाल बोर्डको परिक्षा पनि ढीलो हुने अनि रिजल्ट पनि ढीलै प्रकाशित हुने गर्थ्यो। यसकारण हाम्रो उच्च माध्यमिक परिक्षा सिद्धिए पछि प्री-मेडिकल मा भर्ना हुन खोज्दा छेउ-छाउका सबै प्रान्तहरुमा त्यो वर्षको भर्ना बन्द भईसकेको रहेछ। धेरै दाजु-दिदीहरुको सुझावको आधारमा पश्चिम बङ्गाल मा नै पढने चाहिं मलाइ पटक्कै इच्छा थिएन। यस्तै खोजीको क्रममा ब्रिगेडियर पेजले जानकारी पाउनुभएछ कि पन्जाबको बटाला भनिने ठाउँमा यो विधाको लागी भर्ना खुला रहेछ। मेरो सहपाठी विजय पनि यहि पढाइ गर्ने विचार लिएर, केहि दिन भित्रै हामि दुई भाइ बटाला तर्फ लाग्यौं। तिन दिनको रेल यात्रा पछि हामी बटाला पुग्यौं। रेल स्टेसनबाट हामीलाई लिन आउने मित्रको घरमा गयौं। त्यहाँ हात-मुख धुनलाई धारा खोल्दा निस्केको पानीले पोल्दाखेरी साथि विजयले चाहिं त्यतिनै बेला त्यो ठाऊँबाट फर्किहाल्ने घोषणा गर्यो। त्यसै पनि उसलाई यात्राको दूरीले अत्यास पारिसकेको थियो। अघिल्लो दिनको टिकट मिलाएर उ वापसी यात्रामा हिंड्यो।
बटालाको बेरिंग युनियन क्रिश्चियन कलेजमा, होस्टेलमा बसेर पढ़नेगरी भर्ना लीइयो र तुरन्तै पढाइको क्रम पनि शुरु भइहाल्यो। मेरो परीक्षाको रिजल्ट नाइसकेकोले मलाइ प्रोभिजनल भर्ना दिइएको थियो। रिजल्ट धेरै दिन सम्म प्राप्त नहुँदा मेरो भर्ना नै खारेज हुने डर भइ सकेको थियो तर जसो-तसो थामेर राखियो।
प्रि-मेडिकल को पढाइ त्यति गाह्रो जस्तो लागेन। त्यसपछि लिनुपर्ने मेडिकल कलेजको भर्ना चाहिं दुइ पक्षमा धेरै कठिन रहेछ। पहिलो, भर्ना लिने जाँचमा धेरै प्रतिस्पर्धा हुने अनि दोस्रोमा हरेक कलेजले धेरै ठूलो मात्रामा क्यापिटेसन फी (चन्दा) माग गर्ने। चन्दाको रकम सुन्दा ब्रिगेडियर पेजले आँट गर्नुभएन। खोजीनिती गर्दै जाँदा उहाँले चाल पाउनुभएछ कि लुधियानाको सिएमसि कलेजमा उहाँको संस्था सालवेसन आर्मीलाई एउटा सिट दिइएको रहेछ। जाँचमा नाम निकाल्न सके त्यो वर्षको लागि त्यो सिट मलाइ दिने स्वीकृति भएछ। दुर्भाग्यवश, प्रि-मेडिकलको जाँचपछि घर गएर फर्किंदा सम्म सिएमसीको भर्ना जाँच भइ सकिएछ र मलाइ स्वीकृत सिट मैले गुमाएँ। अरु कलेजमा भर्ना खोज्नलाई मसित चन्दा दिने जोहो नै थिएन।

त्यसपछि बटालाको त्यहि कलेजमा अरु दुइ वर्ष लगाएर मैले बि. एससी. पढी सिध्याएँ। होस्टेलमा छँदा एकजना बंगाली र पांच-छ जना केरलाका साथीहरु निकै नजिक थिए। ति मध्ये जर्ज के.जे., रोय भर्घीज र जोन धेरै कुरामा संगसंगै हुन्थ्यौं। यी बाहेक पंजाब कै अमरजित, राजु पिटर र नरोत्तम पनि सम्झनामा रहिरहेका सहपाठीहरू हुन्। त्यहि ठाऊँमा हुँदा अमरजितको अग्लो साइकलमा, धेरै पल्ट लड्दै, चोट पार्दै साइकल चलाउने सीप सिखियो।
यसै दौरान एम.बि.ए. पढ्ने विचार पलायो, ब्रिगेरियर पेजले पनि यसमा सहमति जनाउनुभयो। एम.बि.ए. को पढाइमा पनि भर्ना पाउनु सजिलो त रहेनछ। यसको खोजि र तयारीको समयमा ब्रिगेडियर पेजले मलाइ सालवेसन आर्मीको अस्पताल धारिवालमा पठाउनु भयो। त्यहाँ म प्रशासनिक सहायकको रुपमा काम गर्दै कलेजको खोजीमा रहें।
धरिवालको बसाई, विभिन्न कारणले, मेरो निम्ति निकै अर्थपूर्ण रह्यो। पहिलो कारण त एम.बि.ए. मा भर्ना पाउन धेरै कठीन भएकोले त्यहाँ रहँदाको सारा समय उत्सुकता र तनाव मिश्रित खोजि कार्यमा नै बित्यो। यस बाहेक, मेरो यो पहिलो कार्य अनुभव भएकोले, मलाइ अस्पतालको विभिन्न विभागहरुको प्रशासनिक अनुभव हुनेगरी कार्य-तालिका दिइएको थियो, जसको फलस्वरूप मलाइ धेरै महत्वपूर्ण व्यवसायिक लाभका व्यवहारिक शिक्षा र तालिम हासिल गर्ने अवसर प्राप्त भयो। संस्थाले नै मलाइ अस्पताल प्रशासन सम्बन्धी एउटा तालिममा समेत पठाएको थियो। त्यो तालिमको अनुभवले त मलाइ अस्पताल प्रशासानालाई नै मेरो भविष्यको पेषा बनाउने हो कि भन्ने समेत सोच जगाएको थियो। तर आफ्नो पहिलो लक्षलाई नै प्राथमिकता दिएर यो नयाँ सम्भावनालाई दोस्रो स्थान मै सिमित राखियो।

धारिवालको पडावलाइ अविस्मरणीय बनाउने मुख्य कारक घटना चाहिं ति बडो सहासिली ठिटी संगको भेट हुन पुग्यो, जो अन्तत: मेरो जीवन-संगिनी बन्न पुगिन्। मैले धारिवालमा काम थालेको पहिलो दिनमा त्यहाँको प्रशासक सुरेंदरले मलाइ अस्पतालको सबै विभागहरुमा परिचय गराउन डुलाउनु भयो। यसै क्रममा, महिला वार्डबाट निस्कंदै गर्दा, मेरो घरेलु नाउँबाट सुरीलो स्वरमा कसैले बोलायो। फर्केर हेर्दा ति सेता ड्रेस लगाएका थुप्रै ठिटीहरुमा मलाइ बोलाउने को थियो भनेर मैले खुट्याउन सकिन। मेरो अन्योल र लाज लुकाउन सक्ने त्यहाँ मसित केहि पनि थिएन। मेरो त्यो असमन्जस बुझेर होला, एउटी अति आकर्षक सुन्दरी अघी बढेर, मैले उसलाई चिनिनछु भन्दै आफ्नो नाउँ चिनाइन। मेरो हाकिम मलाइ नै पर्खिरहेको हुँदा, त्यो नाउँको परिचय झट्टै स्वीकारेर म बाहिर निस्किहालें। प्रशासक सुरेंदरले मलाइ अरु कुन-कुन विभाग डुलाए थाहा छैन, मेरो कानमा त महिला वार्डमा मेरो छोटो नाउँ बोलाउने त्यहि सुरीलो स्वर नै गुन्जीरह्यो।
मलाइ धारिवाल पठाउने बेलामा ब्रिगेडियर पेजले भन्नु त भएको थियो कि कप्तान स्टिफनको भान्जी पनि त्यहीं गएकी छिन्। तर त्यो सूचनामा मलाइ कुनै सोच वा प्रतिक्रियाको विचार नै आएन, किनकि मेरो सामुन्नेको यात्रा र भावी योजनाले नै सम्पूर्ण ध्यान ओगटेका थिए। कप्तान स्टिफनको भान्जीलाई ५-६ वर्ष पहिले कालेम्पोंगमा भेटेको त हो। उनको मामा संस्थाको तर्फबाट ब्लाइण्ड स्कूलमा खटिएका थिए। उनी बिदाको समयमा मामालाई भेट्न त्यहाँ आएकी थिइन्। केटाकेटी स्वभावको जिद्दीपन लिएर तिनले मेरो नजिकै भएर खेल्ने प्रयास गर्दा मलाइ साह्रै अप्ठ्यारो लाग्थ्यो। कलकत्ता जस्तो ठूलो शहरमा बस्नेहरु यसैगरी फ़र्साइलो र सहासी हुँदा रहेछन भन्ने म सोच्थें। त्यो बेलाको उनको दुब्लो बच्चो जिऊ, ठूलो टाउको, हाँस्दा देखिने थोतो दाँत, उनको बारेमा यस्तै कुराहरुका चित्रण मात्र मेरो मानसपटलमा अंकित थिए। अब, कुनै सम्बन्ध, सम्पर्क वा सोच नै नभएको, यति धेरै वर्षको अन्तराल पछि अकस्मात त्यो वार्डको भिड-भाडमा सामुन्ने पर्दा म बबुरोले उनलाई कसरी चिन्नु त ? नाउँ त उनले ‘मिना’ भनेर चिनाइन तर उनको रुप-रंग, जिऊ-डाल र स्वभाव चाहिं मेरो मनमा भएको चित्रण भन्दा बिल्कुलै अलग। त्यो सिकुटे केटा-केटी जिऊको सट्टामा अब त जवानी छछल्किरहेको, टम्म भरिएको, मोहित पार्ने भरभराउँदो शरीर भएछ। गोरो मुहारबाट मेरो नजरमा स्थिर मुद्रामा जुझीरहेका हिम्मतिला, चम्किला, काला आँखाले त मलाइ आँखा झुकाउन बाध्य बनाइरहेका थिए। यस्तो भेटद्वारा रोपिएको प्रेम प्रसंग बिस्तारै मौलाउंदै समयको अनुकूलतामा विवाहमा परिणत भयो।

धारिवालमा रहंदा त्यहाँको टाउके, मेजर बेनेटले मलाइ एक हप्ताको लागी उत्तर-पूर्वी भारतको शिलाङ्ग जानुपर्ने निर्देशन दिनुभयो। त्यहाँ बाइबल सोसाइटीले, बाइबल अनुवाद सम्बन्धि एउटा कार्यशाला आयोजना गरेको रहेछ। मेरो नाऊँ कसले, किन र कसरि त्यो कार्यशालाको निम्ति सिफारिस वा छनोट गरेको हो भनेर मलाइ आज सम्म थाहा छैन। १२-१५ सहभागी सम्मिलित, यो एउटा सानो झुण्डको न्यानो संगतिको कार्यशाला थियो। त्यो झुण्डमा उमेर, अनुभव, ज्ञान, सबै पक्षमा कनिष्ट चाहिं म नै रहेछु। अरु सबै आ-आफ्नो क्षेत्रका वरिष्ट वुद्धिजीवीहरु हुनुहुन्थ्यो। मेरो निम्ति त्यो कार्यशालाको सहभागिता अति ज्ञानवर्द्धक तथा मिठो सम्झानको अवसर बन्न पुग्यो। त्यहाँ सामेल हुनुभएका धेरैको त मैले नाऊँ बिर्सिसकें तर सम्झनामा रहिरहने, आफ्नै क्षेत्रकाहरु चाहिं प्रोफेसर पाण्डे, रेभ. हेमदत्त सुब्बा, लोकनाथ दाजु र पास्टर बेन्जामिन राई हुनुहुन्छ। त्यहि सहभागिताको क्रममा प्राप्त जीवनको पहिलो हवाई यात्राको अनुभव पनि मिठो सम्झना बनेर रहिरहेकोछ।
मैले काम गरे बापत त्यो अस्पतालबाट मलाइ महिनाको ५०० रुपियाँ ज्याला प्राप्त हुन्थ्यो। सन् १९७८-७९ तिर त्यो रकम प्रसस्तै हुँदो रहेछ। आफ्नो आवश्यकता पूरा गरेर पनि मासिक केहि रकम आमालाई मनी-अर्डर गर्न समेत पुग्थ्यो।
धारिवालको २ वर्ष र ८ महिनाको बसाई पछि मात्र एउटा प्रतिष्ठानमा एम.बि.ए. को सिट प्राप्त भयो। गुडगांव स्थित इन्डियन इंस्टीच्युट अफ् प्लानिंग एण्ड म्यानेजमेन्टमा भर्ना पाएर जीवनको लक्ष पछ्याउन अग्रसर भइयो। धारिवालबाट को बहिर्गमन हर्ष र विस्मातको एउटा मिश्रित मनस्थितिमा हुन पुग्यो। लगभग ३ वर्षदेखि लागिपरेको आफ्नो लक्ष प्राप्तिको हर्ष संगसंगै भर्खरै मौलाउंदै गरेको प्रेम प्रसंगको सामिप्यदेखि टाढिनु पर्नुको विस्मातको मिश्रण बडो अचम्भको अनुभव हुँदोरहेछ।
मेरो कलेजको दोस्रो वर्षमा मिनु पनि आफ्नो तालिमको सिलसिलामा दिल्ली आइन, यो कुराले हामीलाई सजिलो भेटघाटको सुविधा प्राप्त भयो।
कलेजको पाचौं सेमिस्टरको समयमा हिन्दुस्तान टाइम्स नामक अखबारमा एउटा सानो विज्ञापन देखें, जसमा नेपाली भाषाको ज्ञान भएको व्यक्तिको माँग गरिएको रहेछ। अब अर्को ८-९ महिना पछि त कति धेरै ठाऊँमा कामको खोजीमा अन्तर्वार्ता दिंदै धाउनुपर्ने हो, त्यसको अनुभव बटुल्ने विचारमा यो विज्ञापनको ठेगानामा पुगें। कामको खोजी प्रति त्यती गम्भीर भइनसकेकोले यो कस्तो कम्पनि हो, कामको प्रकृति के हो, केहि पनि मलाइ थाहा थिएन। दीइएको ठेगानामा पुग्दा मलाइ एउटा छोटो लिखित जाँच दिन भनियो र अर्को दिन फेरि आउनलाई भनियो। अर्को दिन त्यहाँ जाँदा एकजना निकै वरिष्ट बुझिने व्यक्तिले कुराकानीको क्रममा म साच्चिनै नेपाली बुझने मान्छे हो कि भन्ने कुरामा शंका व्यक्त गरे तर मेरो नेपालीको ज्ञान जाँच्न सक्ने मान्छे कोहि रहेनछ। मेरो स्कूलको मार्क-सिटमा नेपाली विषयमा प्राप्त अंक देखाएपछि बल्ल तिनलाई चित्त बुझेछ। तब तिनले मलाइ झट्टै काम शुरु गरिहाल्नलाइ भने। तर मलाइ भने चालु पाचौं सेमिस्टरको बाँकी दुइ महिना कक्षामा हाजिरी दिनु अनिवार्य थियो। अन्तिम सेमिस्टर भने सोधपत्र तयारीमा खर्चिने हुँदा, कक्षाको हाजिरी आवश्यक थिएन। यो समस्या प्रस्तुत गर्दा ति मेनेजर के. आर. सर्माले कुरा बुझेर, मलाइ दुइ महिना पछि फरवरी १९८३ मा शुरु गर्नेगरी, नेस्ले इण्डिया लिमिटेडको दिल्ली क्षेत्रमा, काममा भर्ना दिए। नेस्ले कस्तो संस्था हो र के काम गर्छ भन्ने कुराको मलाइ केहि ज्ञान नै थिएन। कोठामा फर्किएर संगै पढ्ने साथीहरुलाई भने पछि पो उनीहरुले त्यो बहुराष्ट्रिय कम्पनीको कामको स्थूलताको बारेमा मलाइ केहि जानकारी दिए। राम्रै कम्पनीमा काम पाइएछ भनेर निकै खुशी लाग्यो।
फरवरीको दोस्रो हप्तामा, कलेजको जाँच सिद्धिएको भोलिपल्ट नै दरियागंज नेस्लेको त्यहि अफिसमा चिटिक्क परेर पुगें। दुइ महिना जतिको प्रारम्भिक परिचय र तालिमको कार्य-सूची बनाएर मेरो नयाँ काम शुरु भयो। यस अवधीमा दिल्लीका विभिन्न क्षेत्रका बिक्रि-प्रतिनिधिहरु संगसंगै लागेर, उनीहरुले गर्ने कामको तरिका र बजारमा कम्पनीका उत्पादनहरुको अवस्था बारे जानकारी र तालिम लिने काम भयो।
दिल्लीमा त्यो छोटो परिचयात्मक तालिम लगत्तै मलाइ नेपाल जाने झुण्डमा सामेल गरेर काठमाण्डौ पठाइयो। काठमाण्डौको बजारमा कम्पनीको म्यागी चाउ-चाउको बिक्रि शुरु गर्ने योजना बनेको रहेछ। त्यो समयको बजारको मुटु असनमा अवस्थित केशमा ट्रेडर्स चाहिं नेस्ले कम्पनीको मुख्य वितरक रहेछन। दिल्लीबाट आएको झुण्डसंग रहेर कामको तरिका र ढांचा अनुसारको प्रतिवेदन तयार गरेर बुझाउने सीपहरु सिकियो। एक हप्ता पछि, मलाइ काम जिम्मा लगाएर, झुण्डका सबै दिल्ली फर्के। म चाहिं केशमा ट्रेडर्सका बिक्रि-सहायक दुर्गालाइ साथमा लिएर काठमाण्डौका गल्लि-गल्लि चाहार्न थालें। त्यसताका नेपालमा नेस्लेका उत्पादन नेस्केफे, ल्याक्टोजेन, मिल्कमेड, नेस्टम र भरखरैको म्यागी चाउ-चाउ थिए। कुनै खास प्रतिष्पर्धा नभएकोले बिक्रि वितरणको काम त्यती गाह्रो थिएन।
केहि हप्ता पछि सिनियर अफिसर बि. बि. मेहता फेरि आउनुभयो र मलाइ कामका तरिकाहरु सिकाउंदै साथ दिनुभयो। हरेक महिनाको अन्तमा दिल्ली गएर कामको मासिक प्रतिवेदन दिनुपर्ने हुन्थ्यो। यस्तै कार्य तालिका पछ्याउंदै नेपालका सबै प्रमुख शहरहरुमा आधिकारिक वितरकहरु नियुक्त गर्ने काम चुस्त गतिमा अघि बढ्दै रह्यो।
यस कम्पनीलाई नेपालको निम्ति म नै पहिलो पूर्ण-कालिन नेपाली बिक्री-प्रतिनिधि रहेछु। विभिन्न शहरहरुमा कम्पनीका उत्पादन फैलाउंदै जाँदा बिक्रि त बढ्यो नै, संगसंगै कामको भार पनि धेरै बढेर गयो। अब एकजना मात्रै कर्मचारीबाट पूरा नेपालको काम भ्याउन नसकिने देखेर दोस्रो व्यक्ति लिने निधो भयो। फलस्वरुप, प्रताप रावललाई, केहि समय दिल्लीमा तालिम दिएर, नेपाल पठाइयो। अब हामि दुइजनाले काठमाण्डौको कान्तिपथलाइ सिमाना मानी पुरै नेपाललाई पूर्व र पश्चिम गरेर कार्यक्षेत्र छुट्यायौं, पूर्व मलाइ पर्यो र पश्चिम रावलजीलाइ। त्यसको केहि महिना पछि हाम्रो हेडक्वार्टर दिल्लीको सट्टा काठमाण्डौलाइ बनाइयो र हाम्रा मासिक प्रतिवेदन वैठकहरु यहीं हुनथाले।

नेस्लेमा काम थालेको दुई वर्षमा मिनुसित विवाह सम्पन्न भयो र काठमाण्डौमा पारिवारिक जीवनको शुरुवात भयो।
नेपालको त्यो बेलाको पछौटे अवस्था देखेर, यहि ठाऊँलाइ आफ्नो कार्यक्षेत्र बनाउने पटक्कै मन थिएन। बढी अनुभव र बढोत्तरीको चाहना राख्दै, इन्डिया सरुवाको मांग राखेर धेरै पल्ट निवेदन दिंदैजांदा, बल्ल सात लामो वर्षपछि मलाइ राजस्थान क्षेत्रमा सरुवा दिइयो। अब नेपाल नफर्किने विचार राखेर, यहाँ जोडेका धेरै जसो सरसामान पाखा लगाएर, सपरिवार खुशी-खुशी राजस्थान सारियो। त्यो बेला दुइ छोराहरु ५ वर्ष र ७ महिनाका थिए। नेपालको दाँजोमा राजस्थानको जयपुर अचाक्ली गर्मी हुन्थ्यो। विशेषगरी मिनुलाई दुइ स-साना बच्चाहरु सम्हाल्दै त्यो उखर्माउलो गर्मीको सामना गर्नु धेरै कठिन थियो। मलाइ पनि त्यहाँ हुँदा एकपल्ट जन्डिसले सिकिस्त पारेको थियो। यस्तो विरानो अवस्थामा हुँदा जयपुरका सहृदयी मित्रहरुबाट मनग्गे सहयोग प्राप्त भएको थियो।
जयपुर सरेको दुइ वर्ष मात्रै के हुँदै थियो, मेनेजर ए. के. श्रीवास्तवले मलाइ भेटेर नेपालमा मेरो आवश्यकता भएकोले त्यहाँ फर्काउने प्रस्ताव राखे। मैले मेरो बालबच्चाको शिक्षा सुविधा र परिवारको भविष्यको चिन्ता देखाएर उनको प्रस्ताव टार्न कोशिस गरें। मेरो कुराहरु तर्कसंगत मानेर उनले मलाइ अरु कर गरेनन्। यता नेपालमा भने कम्पनीको लागि समस्या निकै जटिल हुँदै गएको रहेछ, यसैले गर्दा होला, तेस्रो वर्ष बित्दै गर्दा, ती मेनेजरले कुनै विकल्प नै नहुने गरी, नेपालको काम सम्भाल्न भनेर सरुवा-पत्र थमाइदिए। यस बारे कुरा राख्नलाई भेटको समय समेत दिएनन्। अब नेपाल नफर्की सुखै थिएन।
पारिवारिक संरचनामा आएका बदलावहरुका कारण जीवनका प्रथाकमिकतामा पनि स्वत: परिवर्तन आइसकेकाथिए। छोराहरुले स्तरीय शिक्षा-दीक्षा र असल देखरेख पाउनपर्छ भन्ने कुरा अब उच्च प्राथमिकतामा पर्दथिए। यसैले हामीले यो पारिवारिक निर्णय लियौं कि मलाइ कामको कारणले कतै सरुवा हुन परे पनि, परिवारलाई चाहिं अब काठमाण्डौ मा नै स्थापित गर्ने।
नेस्लेले आफ्नो कार्यक्रम-तालिका अनुसार मलाइ धेरै नै व्यवसायिक तालिमहरुमा संलग्न गरायो। यसबाट विभिन्न क्षेत्रमा मलाइ व्यक्तिगत स्तरवृद्धिको अवसर प्राप्त भयो। व्यापारिक व्यवसायको माहौलमा काम गर्नु परेको कारणले होला, कुनै पनि उपलब्धिले सन्तुष्टी दिन नसक्ने रोगले ग्रसित भइसकेको मैले थाहै पाइन। हुन पनि हामीलाई सन्तुष्ट हुनु हुँदैन भन्ने नै सिकाइन्थ्यो। यसरि नै आफूलाई सुम्पिएको जिम्मावारी, सकेजति मेहनत गरेर र बुझेजति इमान्दार भएर, पूरा गर्दै, नेस्ले कम्पनीमा १४ वर्ष बितिसकेछ। निकै समय पहिले देखि नै मलाइ कम्पनीले बरिष्ट बिक्री प्रतिनिधीको उपाधि त दिएको थियो तर त्यस पछिको अपेक्षित बढोत्तरी चाहिं केवल आश्वासनमा मात्रै सिमित रहिरहेको थियो। मेनेजरहरु संगीता तलवार, प्रेम कुमार, ए. के. श्रीवास्तव पालै संग फेरिंदै रहे तर सबैले मलाइ अनदेखा, अनासुना व्यवहार गर्दै पन्छाईरहे। साधारणतया भोगिएको, हाम्रा भारतीय छिमेकीहरुले नेपालीहरुलाई हीन दृष्टिले हेर्दै दबाएर राख्न चाहने प्रवृत्तिबाट उहाँहरु पनि अछुतो हुनुहुन्नथियो।
यस्तैमा एकदिन हंगकंगबाट एकजना अपरिचित व्यक्तिले फोन गरेर नयाँ कामको प्रस्ताव राख्यो। मेरो असमंजस बुझेर उसले उसको कम्पनीको र मलाइ प्रस्ताव गरिएको जिम्मावारिको साधारण परिचय दियो। नेपालमा फिलिप मोरिस कम्पनीको व्यापार प्रवर्धनको जिम्मा सुम्पिने प्रस्ताव रहेछ। मैले निर्णयको निम्ति केहि समयको मांग गरेर त्यो कम्पनीको वारेमा जानकारी लिन चाहें। थाहा लाग्यो कि यो एउटा धेरै विशाल अमरिकी कम्पनी रहेछ अनि नेपालमा यसको उच्च स्तरीय चुरोट मार्लबोरो बिक्दो रहेछ। चुरोटको प्रवर्धन गर्नु पर्ने कुरोले म केहि हच्किएँ तर नेपालको बिक्रि प्रमुख बन्न पाउने कुराले चाहिं मलाइ आकर्षित गर्दै थियो। नेस्लेमा दिक्क लागिरहेको अवस्थामा यो प्रस्तावले एउटा असल बदलाव प्रदान गर्दै थियो भने चुरोटको प्रसार चाहिं मेरो चाहना विपरित को कार्य थियो। मेरो असमंजस लिएर ईश्वरको अघि प्रार्थनामा राखें। मिनुले पनि निर्णय गर्ने जिम्मा मलाइ नै छोडिदिइन। यस बारे सल्लाह दिन सक्ने व्यक्ति खोज्दै जाँदा, भाइ नर्बु तामाङ्गलाइ निकै सन्तुलित आत्मिकी विचार प्रस्तुत गर्ने व्यक्ति देखेर, एकदिन भेटेर मेरो अन्योल विस्तारसित बताएँ। नर्बु भाईले, ईश्वरले युसफ र दानिएललाइ बिरानो ठाऊँमा रहेर पनि, ईश्वरको भयमा रहने अनुग्रह दिएर, आफ्नो दैवी योजना पूरा गर्नुभएको घटनाबाट सिखो लिंदै, यो नयाँ कामको प्रस्ताव स्विकार्नु असल हुने सल्लाह दिनुभयो। यहि आधारमा नयाँ कम्पनीको प्रस्ताव स्विकार गरेर काम शुरु गरियो।
फिलिप मोरिसको यो कामले अवश्य नै मेरो आर्थिक र सामाजिक स्तरमा राम्रो वृद्धि त गरेकै हो तर चुरोटको माहौलमा घुलमिल गर्न चाहिं मेरो रहन-सहन र आनी-बानि अनुरुप नहुँदा निकै कष्टकर हुन गयो। मलाइ हंगकंग स्थित एशिया क्षेत्रीय कार्यालय अन्तर्गत राखिएको थियो। नेपालमा सेती चुरोट कारखाना सित पहिले नै आधिकारिक वितरकको सम्झौता भईसकेको रहेछ। त्यसै समुहसंग मिलेर नेपाल मा नै निकै ठूलो चुरोट कारखाना स्थापना गर्ने कार्य पनि अघि बढी सकेको रहेछ। हुन त उत्पादन मेरो क्षेत्र थिएन तर पनि त्यो बन्दै गरेको कारखानाको संचालान खर्च र उत्पादान क्षमता सित नेपालको बजार क्षमता दाँजेर हेर्दा त्यो कारखानाले व्यापारिक गति लिनसक्ने कुनै पनि आधार देखिंदैनथियो। मैले यो विषयमा कुरा पनि निकालें तर कसैले ध्यान दिन चाहेन। पछि थाहा लाग्यो कि केहि विशेष व्यक्तिको स्वार्थमा यो परियोजनाको सम्भाव्यता अध्यान प्रतिवेदन नै बजारको सत्य-तथ्य भन्दा धेरै फरक प्रस्तुत गरिएको रहेछ।
फिलिप मोरिसले सेती चुरोट कारखानाबाट नेपालमा पहिलो चोटी बोण्ड स्ट्रीट नामक चुरोट उत्पादन गरेर बडो ताम-झाम र ठूलो खर्चमा बजार पठायो। तर थोरै समयमा नै प्रष्ट देखियो कि त्यो कारखानाको उत्पादन क्षमता अनुरुपको बजार नेपालमा छंदैछैन। फलस्वरुप, केहि समयपछि त्यो परियोजना र कारखाना नै नेपालबाट विस्थापित गरियो।
फिलिप मोरिसमा मैले काम थालेको तिन वर्ष जति पुग्दै थियो, त्यतिकै मा मेरो साइँलो भाइले सम्हाल्दै आएको कपाल कारखानाको लगानीकर्ता संग भाइले सम्पर्क गराए। ति युरोपियन, आर.सी. भेन रोयलाइ, आफ्नो नेपालको उत्पादन, छिमेकि भारतको ठूलो बजारमा पुर्याउने चाहना रहेछ। यसै सन्दर्भमा, अन्तर्राष्ट्रिय बिक्रि प्रवर्धनको अनुभव भएको व्यक्तिको खोजिक्रममा मलाइ सम्पर्क गर्न चाहेछन। मसंगको त्यो पहिलो अनौपचारिक भेटमा नै भेन रोयले मलाइ उनको उक्त परियोजनामा सामेल भएर, बिक्रि प्रवर्धनको जिम्मा लिने प्रस्ताव राखे। मलाइ पनि, कुनै छलछाम नगरी, प्रष्ट प्रकारले तिनले कुराकानी गरेको राम्रो लाग्यो। त्यसैले होला, तिनले मेरो हालको आम्दानि भन्दा १० प्रतिसत कम मात्र सुविधा दिन सक्ने प्रस्ताव राख्दा पनि, मलाइ तिनीसँग काम गर्ने चाहना भयो। त्यसै पनि मलाइ फिलिप मोरिसमा व्याप्त चुरोटको माहौलबाट छुटकारा पाउनु नै ठूलो प्रोत्साहनको विषय थियो। दुवै पक्षको सहमतिमा, सूचना समयलाई सम्मान गर्दै, नयाँ कम्पनीमा सर्ने दिनको निधो गरियो।
भेन रोयको लगानीमा रहेका, युरोपका र नेपालका सबै कम्पनीहरु के३३ (K33) भनेर नामाकरण गरिएका रहेछन। नेपालमा पनि, त्यो बेलाको विदेशी लगानीको झन्झटिलो व्यवस्थाको कारण, भाइ ज्योतिको नाऊँमा, कपाल उत्पादन र मरम्मत सम्भारको उदेश्य भएका दुइटा के३३ का कम्पनीहरु दर्ता गरिएका रहेछन। अब बजार प्रवर्धनको उदेश्य राखेर मैले त्यो समुहमा काम थालेपछि, बिक्रि-वितरण मात्रैको उदेश्य भएको के३३ युरोप हेयर नाऊँको नयाँ कम्पनी मेरो स्वामित्वमा स्थापना गरियो।
शुरुमा यस कम्पनीले बडो मेहनत सित प्रचार प्रसारका सामाग्रीहरु तयार गर्यो। अब स्थानीय बजारमा पनि के३३ का उत्पादन र सेवा प्रदान गर्ने निर्णय अनुरुप आवश्यक सेवा स्थल र सामग्रीहरुको जोहो गरेर, प्रचार प्रसार सहित उत्पादनको बिक्रि शुरु गरियो। नेपालको लागि नितान्त नयाँ रहेको, यो उत्पादनलाइ, काठमाण्डौका सेवाग्रहीले त्यो बेला दिएको स्वागतले, भेन रोय लगायत हामी सबैलाई धेरै उत्साहित गरायो।
धेरै जसो तकनिकी तालिम युरोपका कर्मचारीहरुले काठमाण्डौ आएर प्रदान गरेका थिए। तालिमका केहि हिस्सा मैले नेदरल्यान्ड्स गएर लिएँ। त्यसपछि यहाँका तकनिकि कर्मचारीहरुलाई कामको राम्रो अनुभव गराउनलाई, सम्बन्धित सबैलाई, पालै पालो तिन तिन महिनाको तालिम लक्षित काम गर्न, नेदरल्यान्ड्सको सबै भन्दा व्यस्त सेवा स्थलमा पठाउने कार्य भयो। यो तालिमको क्रम करिब १५ महिना जति चलाएर सम्पन्न गरियो।
नेपालको बजारमा यतिसम्म बिक्री स्थापित भैसकेपछि अब भारतको बजारमा रहेको सम्भावना बुझ्ने काम हाम्रो अगाडी थियो। यस काममा संलग्न केहि संस्था र व्यक्तिहरु संग सम्पर्क स्थापना गरेर केहि प्रारम्भिक जानकारी लिएपछि, दिल्लीको बजारमा गएर प्रत्यक्ष अवलोकन गर्ने निर्णय भयो। दिल्लीको बजार अवस्था हाम्रो स्तरको उत्पादनको लागी उति उत्साहजनक पाइएन, किनकि त्यहाँ कमसल स्तरको स्थानीय विगको प्रचलन धेरै रहेछ। त्यो स्तरको स्थानीय विग (wig) र हामीले ल्याएको कपाल प्रतिस्थापन (hair replacement) -मा आकास-जमिनको फरक हुन्छ तर एउटै बजार लक्षित हुनुपर्ने हुँदा सेवाग्रहीलाई त्यो फरक बुझाउन धेरै लगानी सहितको प्रचार प्रसारको आवश्यकता देखियो। दिल्लीमा प्रचलित विज्ञापन दर बुझ्दा हालको लागि त्यो परियोजना स्थगित राख्नु नै बेस देखियो।
नेपालको बजारले उत्साहजनक प्रतिफल दिई नै रहेको थियो अनि युरोपमा त यो नाम पहिले देखि नै स्थापित छँदै थियो। यसै बीच कम्पनीको एउटी कर्मचारीसित भाइको सामिप्यलाइ लिएर भाइ र बुहारी बीच समय समयमा देखिंदै गरेको खटमट बढेर निकै विकराल रुप लिईसकेको रहेछ। यस अघि पनि, म त्यो कम्पनि पुग्नु भन्दा पहिले नै, बुहारीले छुट्टिने सम्मको विचारमा पुग्दा, हामीले उनीहरुको नाबालक छोरोको वास्ता दिएर, त्यस्तो निर्णय लिनदेखि बल्ल-तल्ल रोकेका थियौं। त्यहि समस्या फेरि बढ्दै गएछ। पारिवारिक कलह धेरै बढेर तनाव भयो भन्दै, ठिक्क भेन रोय नेपाल आउने बेला पारेर भाई कलेम्पोंग तिर हिंड्यो। जाँदै गर्दा भेन रोयलाई दिनु भनेर एउटा मोटो लिफाफा मेरो हातमा दिएर गयो।
भेन रोय नेपाल आउनभन्दा केहि दिन पहिले बुहारी आफ्नो पक्षको गुनासो लिएर मसंग सहयोग माग्न थालिन। त्यो महिला कर्मचारी सितको ज्योतिको बढ्दो सम्बन्धले धेरै नै अप्ठेरो पारिसकेको अनि यो विषयमा भेन रोयबाट समाधानको सहयोग माग्ने सोच बनाएको कुरा व्यक्त गरिन। बुहारी सरला भेन रोयको धेरै ठूलो विश्वास-पात्र थिइन्, यसै सोचले यस्तो सहयोगको आशा राखेको हुनसक्छ। यस विषयमा मैले नै एउटा इमेल लेखिदेओस् भन्ने अनुरोध गरिन, तर मलाइ त्यसो गर्न ठिक लागेन। तपाइंको कुरा सुन्दिन भन्न पनि अप्ठेरो हुने हुँदा, भन्ने कुराहरुको साधारण खाका बताएर, उनले आफैं लेख्न असल हुन्छ भनेर पठाएँ।
भेन रोय काठमाण्डौ उत्रेको भोलिपल्टै देखि, ज्योति र सरलाको छुट्टा-छुट्टै भनाइका पत्रहरूका आधारमा, यो मुद्दाको तथ्यमा प्रकाश पर्न सक्ने कर्मचारीहरु सित गहन अन्तरवार्तामा लागिहाल्नुभयो। यो मुद्दा उहाँको व्यवसाय सित सम्बन्धित नभए पनि, त्यो व्यवसायको मुख्य जिम्मेवारी सम्भालिरहेका व्यक्तिहरुको पारिवारिक कलहले, व्यवसायमा पनि नकारात्मक असर पर्न सक्ने हुँदा, यस्तो चासो राखेको कुरा उहाँले पछि व्यक्त गर्नुभएकोथियो। तर उनीहरुलाई सहयोग पुगोस् भन्ने उदेश्य राखेर, व्यवसायसंग सम्बन्ध नभएको त्यो मुद्दाबारेको अन्तरवार्ता क्रममा, यस्ता कुराहरु प्रकाशमा आएछन जुन चाहिंले सरलाको व्यवसायिक इमान्दारिता प्रति नै प्रश्न तेर्स्याइदिएछन। तब भेन रोयको निम्ति यो मुद्दा पारिवारिक सहयोगको नरहेर, नितान्त अनि आवश्यक व्यवसायिक छानविनको बन्न पुग्यो। मुद्दाले लिएको मोड़ चाल पाएर सरला आत्तिएको प्रष्ट देखिन थाल्यो। उनले कर्मचारीहरुलाई आफ्नो पक्षमा पार्न दवाबपूर्ण सम्पर्क गर्न थालिन, जुन कुरा तिनै कर्मचारीहरुले भेन रोयलाई नै सुनाइदिंदा रहेछन। यसै बीच, अन्तरवार्ता स्थलका कुराकानी अर्को स्थानबाट सुन्न सकिने उपकरण जडान भएको कुरा भेट्टाए। यसले त सरलाको व्यवसायिक अइमान्दारितालाई अझ ठोस प्रमाणित गरिदियो। जसलाई आफ्नो विश्वासपात्र मानेर सबै किनमेलको जिम्मा लगाएको, उसैलाई आर्थिक बेइमानी गर्दै रहेको भेट्टाउँदा, भेन रोयपनि निकै विचलित हुन पुगे।
पारिवारिक सम्बन्ध भएको कारणले, यो समय सम्म, यो मुद्दामा मलाइ टाढै राखिएको थियो। तर मुद्दाले यस्तो मोड़ लिईसकेपछि, भेन रोयले मलाइ साक्षी राखेर सरलाको ब्याग खोलेर देखाउन लगाए। ब्यागबाट भेन रोयले अन्तरवार्ता रेकर्ड गरेका तीनवटा टेप भेटेपछि, ज्योति फर्केर नआउन्जेल अफिस पस्न नपाउने गरी सरलालाई बाहिर पठाइदिए।
अवस्था धेरै जटिल भैसकेको थियो तर ज्योति भने आफैंलाई सम्पर्क विहिन पारेर कालेम्पोंगमा बसिरहेको थियो। धेरै पल्ट आमाको फोनमा बोलाउँदा बल्ल मेरो सम्पर्कमा आयो। सरलाको यो अवस्थामा, पतिको नाताले, सुझ-बुझ सित, सबै सत्य-तथ्य बुझेर, सहि बाटो लिन सहयोग गर्नलाई, उसलाई यहाँ हुनु अत्यन्त आवश्यक भएको भन्दै कर लगाएपछि, बल्ल काठमाण्डौ आउन राजी भयो।
काठमाण्डौ आएपछि सरलाले उसलाई के-के सुनाइन कुन्नी, ज्योति पूरै भेन रोयको विरोधमा उभियो। अफिसका सबै बैंक खाताहरु ज्योति कै हस्तखतद्वारा चल्दथिए। मौज्जात रहेको सबै रकम (५० लाख जति) निकालिसकेछन। कति कर्मचारीहरुलाई हातमा लिएर, रातोरात कारखाना परिसरमा रहेका सबै उत्पादन बाहिर कतै गोप्य स्थानमा पुर्याएछन। सरलाले झुटो वा साँचो, भेन रोयले उनीसित गरेको व्यवहार बारे, जे सुकै सुनाएको भए पनि, ज्योतिका उपरोक्त दुइ कार्य, कुनै पनि नापमा वा नैतिकतामा ठिक मान्न सकिंदैनथियो। यी दुइ गलतिहरुलाइ सच्याउनै पर्छ भनेर धेरै पल्ट भाइलाई सम्झाउन चाहें तर उसले न त फोनमा पर्याप्त समय दिन चाह्यो न भेट्ने नै समय दियो। उल्टो, मैले उसलाई भेन रोयको विरोध गर्नमा साथ नदिएको भन्ने दोष दिंदैरह्यो। जुन भाइलाई सानो बेला देखि नै हात समाएर नैतिक शिक्षाको बाटोमा डोर्याएँ, उसैलाई यस्तो दुष्ट कार्यमा कसरि सहमति दिने?
कम्पनीका उत्पादन, विशेष गरि मरम्मत-सम्भार को निम्ति रहेका, ग्राहकको स्वामित्वका, निश्चित समयमा फर्काउन पर्ने कपाल ज्योतिले लगेर लुकाएको हुँदा, भेन रोयले अरु ठूलो रकम (५० लाख) फिरौती तिरेर ति कपाल प्राप्त गर्न कर लाग्यो। यो सबै काण्डमा कानुनी उपचार प्राप्तीको सम्भावना धेरै क्षीण थियो किनकि कागजी दस्तावेजहरुमा त्यो कम्पनी ज्योतिकै नाऊँमा दर्ता थियो।
आफ्नै भाइ-बुहारीले गरेको यति ठूलो ठगी र वस्तु-अपहरणको काण्डलाई सामना गर्दै के३३ कम्पनीमा बसिरहन मलाइ साह्रै कठिन लाग्न लाग्यो। कचिङ्गललाई सामुन्ने राखेर त्यसको पिडा खेपिरहनु भन्दा त्यसदेखि अलग रहेर शान्तिसित गुजारा गर्नु असल सम्झेर भेन रोय संग यो काम छोड्ने अनुमति मागें। मेरो भावनालाई कदर गर्दै उहाँले यसमा सहमति जनाउनु भयो। भाइको त्यस्तो कर्तुतपछी के३३ का सबै कामहरु मेरो नाऊँमा दर्ता रहेको कम्पनीको मार्फत भईरहेका थिए। मेरो नाऊँ त्यहाँ रहिरहेको पनि मलाइ बोझ झैं लाग्न लाग्यो, त्यसैले त्यो कम्पनीको स्वामित्व कसको नाऊँमा हस्तान्तरण गरौँ भनेर सोधें। भेन रोयले किरण श्रेष्ठलाई आफ्नो विश्वासपात्र मानेर उसैको नाऊँ प्रस्ताव गर्नुभयो। कम्पनी हस्तान्तरणको दस्तावेज तयार भएपछी आवश्यक हस्तखत गरेर, बडो हलुको अनुभव गर्दै त्यहाँबाट बाहिरिएँ।
के३३ बाट निस्के पछि केहि त गर्ने पर्यो। चौधरी समूहमा महा-प्रबन्धकको स्थान त पाइयो तर बिनोद बाबुले चुरोट शाखाको जिम्मा दिन चाहे। फिलिप मोरिससितको मेरो अनुभवलाई हेरी उनले यो चाहना राखेका थिए तर त्यहि अनुभवको कारणले मैले त्यो क्षेत्र सम्भाल्न चाहिन। त्यसपछि मलाइ खाद्यान्न शाखा दिइयो, जुन मलाइ स्विकार्य नै थियो। बहुराष्ट्रिय कम्पनीहरुमा काम गरेपछि एउटा पारिवारिक स्वामित्वको माडवाडी संस्थामा काम गर्नु त्यति सन्तोषप्रद चाहिं अवश्य थिएन। नेपालमा सबै भन्दा उच्च व्यवसायिकता भएको समुह हामि नै हौँ भनेर बिनोद बाबुले जत्तिकै धाक लगाए पनि, मेरो निम्ति चाहिं त्यो समुह अहिले सम्म आबद्ध रहेका कम्पानीहरु मद्धे सबै भन्दा निम्न व्यवसायिकता भएको र साहुजीको व्यक्तिगत लहडमा चल्ने समुह साबित भयो। मलाइ दिइएको क्षेत्र अर्कै भए पनि वारम्बार मलाइ चुरोटको प्रवर्धनमा तान्ने काम भइरहन्थ्यो, जुन कारणले म चाहिं न यता न उताको भएर पंगु बनिन्थें।
मैले के३३ बाट बाहिरिएपछि पनि ज्योति र सरला चाहिं भेन रोयलाई जसरि पनि नेपालबाट विस्थापित गराउने उदेश्यले विभिन्न चालमा लागिरहेकारहेछन। यसै क्रममा, ज्योति सुटुक्क गएर हाम्रो कान्छो भाइको ससुराली कलकत्तामा लुकेछ अनि दाजुलाई चाहिं यो कुरा नभन्नु भन्ने कडा निर्देशन भाइलाई रहेछ। तयारि कै क्रममा सरलाले एक दिन फोन गरेर रुन्चे स्वरमा भनिन कि ज्योति केहि दिन देखि सम्पर्क विहीन भएकोछ। हामी तुरुन्तै सरलालाई भेटेर यस बारेमा अरु विस्तृत जानकारी लियौं। उसले चलाउने मोटर साइकल पनि गायब छ भन्ने बुझेर अझ सुर्ता बढ्यो किनकि वर्षाको बेलामा कतै सवारी दुर्घटनाको शिकार पो भयो कि भन्ने सोच पनि आयो। मैले जानेका जति उसका सम्भावित जान सक्ने सबै ठाऊँमा सम्पर्क गरियो – पहाड, दिल्ली, मुम्बई, रक्सौल, कलेम्पोंग कतैबाट पनि केहि आशा लाग्दो सुराक पाइएन। प्रहरीलाई सुचित गरेर सहयोग मागौं भन्दा परिवारको बेइज्जत हुन्छ भन्ने तर्क राखेर बुहारीले कडा विरोध गरिन। अब हामीले गर्न सक्ने अरु केहि देखिएन।
यति आधार तयार गरिसकेपछि सरलाले प्रहरी कार्यालयमा यस्तो एउटा उजुरी हालिछन् जसमा भनिएको थियो कि भेन रोय र उसको जेठाजु केशवनाथ शर्मा मिलेर उसको पति ज्योति कुमार शर्मालाई अपहरण गरी लुकाएकोले, उनीहरुलाई थुनामा राखी, उसको पतिको खोजि गरिदिनु पर्ने। म चौधरी समुहको आफ्नै कार्यकक्षमा हुँदा, के३३ को एकजना कर्मचारीले फोन गरेर जानकारी दिए कि भेन रोयलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लागेको र मलाइ पनि त्यहाँ बोलाएको छ भनेर। तुरन्तै म जाऊलाखेल प्रहरी कार्यालय पुग्दा भेन रोयले आफ्नो बयान दिसकेका रहेछन। त्यो उजुरीमा मलाइ पनि मुछिएको रहेछ चाल पाएपछि मैले पनि आफ्नो तर्फबाट विस्तृत घटनाक्रम प्रस्तुत गरें। सरला कै उपस्थितीमा मैले भाइ हराएको कुरा प्रहरीमा खबर गर्नुपर्छ भन्दा उसले नमानेको तथ्य सुनाएँ। त्यो कुरा सुन्ने बित्तिकै त्यहाँका अनुभवी प्रमुख बिनोद खरेलले सरलाको नियत माथि नै शंका गर्दै, झुठो उजुरी हालेर प्रहरीलाई भ्रममा परेको कसुरमा उसैलाई थुन्ने कुरा भनेपछि, सरलाले त्यो उजुरी फिर्ता लिने कुरा गरिन्। तर उजुरी दर्ता भइसकेकोले, मिलापत्र गरेर मात्रै त्यो टुंगिने भनाई आयो। भेन रोयलाई तर्साउन भनेर हालेको झुठो उजुरीले त आफैंलाई थुनामा पार्ने भयो भनेर सरला धेरै अत्तालिएको प्रष्ट बुझिन्थ्यो। भेन रोयले पनि, सरला र ज्योति मिलेर, कम्पनीलाई ठगेको आर्थिक रकम फिर्ता गर्ने सम्झौता, प्रहरी कै रोहवरमा गर्ने भए मात्र, मिलापत्र गर्ने सर्त अघि सरे। प्रहरी चौकीबाट छुटकारा पाउनु हो भने त्यस्तो सम्झौता गर्नै पर्ने देखेर सरला यसमा राजी भईन्। त्यो सम्झौता अन्तर्गतको मुद्दा अझै पनि ललितपुर अदालतमा जीवितै छ।
म चौधरी समुहमा आएको छ: महिना जति मात्रै भएको के थियो, भेन रोयको बाट एउटा इमेल प्राप्त भयो। के३३ को काम सम्हालिरहेको किरण श्रेष्ठले पनि भेन रोयलाई ज्योति कै पारामा लूट्न शुरु गरिसकेछ। उसले त अझ सम्पत्ति मात्रै लुट्ने होइन तर कम्पनी नै हडप्ने पोख्त योजना बनाई सकेको रहेछ। कानुनी सल्लाह लिंदा पनि यो मुद्दाले धेरै समय लिन सक्ने सम्भावना देखाएछन। यी सबै अवस्थालाई विचार गरेर भेन रोयले अब नेपालबाट काम नलिने सोच बनाउँदै रहेछन। तर कारखानाका अधिकांश कर्मचारीहरुले चाहिं, उनको लगानीको सुरक्षा गराउने आश्वासन दिंदै, उनलाई नेपाल नछोड्न धेरै अनुरोध गरिरहेका रहेछन। उनको इमेलमा उपरोक्त कुराको जानकारी मात्र थियो। तर केहि दिन पछि के३३ का कति कर्मचारीहरु मकहाँ आएर, मैले उनीहरुलाई र भेन रोयलाई साथ दिनुपर्ने अनुरोध राखे। भेन रोयले नेपालमा काम नगरे ती अधिकांश कर्मचारीहरुको रोजगारी हराउने कुराले मलाइ सोच्न बाध्य बनायो। मैले साथ नदिंदा यति धेरै व्यक्तिहरुको जीवन कष्टकर हुन्छ भने, उनीहरुको पक्षमा उभिनुपर्ने मेरो कर्तव्य बन्छ भन्ने सोच मनमा आयो। आखिर जहाँ भए पनि आफ्नो क्षमता भित्रको काम नै गर्ने हो सोचेर फेरि भेन रोयसंगै आवद्ध हुने निर्णय गरें।
अब चौधरी समुहलाई छोडेर भेन रोयसित आवद्ध भएपछि केहि समय सम्म किरणको हातबाट कम्पनी छुटाउने प्रयासमा लाग्यौं। प्रहरी र कानून पक्षबाटको प्रतिकृया निराशाजनक नै रह्यो। कहीं द्वन्दको अवस्था छ भनेर चाल पाए पछि ‘सहयोग’ को प्रस्ताव लिएर आउने माफिया प्रकृतिका समूह र व्यक्तिहरु पनि काठमाण्डौमा प्रसस्तै रहेछन। नाऊँ चलेका मिडिया समूह पनि, मोटो रकमको साटोमा, यो मुद्दालाई खूब बढाई-चढाई प्रस्तुत गरेर, जनमानसलाई हाम्रो पक्ष पारेर ‘पक्का सहयोग’ गर्ने प्रस्ताव लिएर आउँदारहेछन। तर हामीलाई त, नोक्सान नै सहनु परे तापनि, सबै कुरो असल सामाजिक व्यवहारमा रहेर मात्र गर्नु थियो।
किरण श्रेष्ठ सितको द्वन्दको कारण काम अवरुद्ध भएको दुइ महिना जस्तो भइसकेको थियो अनि यो द्वन्दको चांडो समाधानको सम्भावना पनि नजीक कतै देखिंदैन थियो। यसले युरोपको ग्राहक सेवालाई असर पर्ने ठूलो जोखिम थियो। यिनै कुरालाई मध्यनजर गर्दै, भेन रोयले झट्टै नयाँ कम्पनी खोलेर काम सुचारु गर्ने निर्णय गरे। फलस्वरुप, सिनामंगलमा एउटा उपयुक्त घर भेट्टाएर, नयाँ शुरुवातमा कर्मचारीहरुले उत्साहित भएर काम गर्न थाले।
पति-पत्नी मिलेर, षडयन्त्रकारी पारामा बुनिएको, अपहरणको झुटो उजुरीले ज्योति र सरलाको भित्री रुप छताछुल्ल भए पछाडी उनीहरु सम्पर्कविहीन भए। म फेरि भेन रोयसित आवद्ध भएको कुराले उनीहरु असाध्य विचलित भएर अति निम्न स्तरका गालि-गलौचले भरिएका इमेलहरु प्रेषित गर्न थाले। ति इमेलका भाषा र प्रस्तुती हेर्दा, शुरुमा त यस्तो लाग्थ्यो कि ज्योतिको नाऊँबाट अरु नै कसैले लेख्दैछ, किनकि मैले चिनेको ज्योतिले त्यती तल झरेर भाषाको दुरुपयोग गर्न सक्दैनथियो। तर निकै पछि एक दिन घरमा फोन गरेर भाउजूसँग त्यस्तै प्रकृतिको एकतर्फी संवाद सुनाएको चाल पाएपछि चाहिं, ति इमेलका श्रोत ज्योति नै भएको विश्वास गर्नै पर्ने भयो।
ति इमेलहरु बाट एउटा कुरा चाहिं पक्का गरी चाल पाएँ कि सरलाले ज्योतिलाई प्रशस्त झुठो कुराहरुले कान भरेकी रहिछन। तरै पनि भाइलाई सच्चाई अवगत गराएर ठिक बाटोमा फर्काउन सकिन्छ कि भनेर, बडो प्रेम सित ति इमेलहरुको जवाफ दिएँ, तर मेरा जवाफहरुको वास्तै नगरी, विष-बमनको रफ्तार बढ्दै गए पछि चाहिं मलाइ उसको इमेल ठेगाना ‘ब्लक’ गर्नु नै उचित लाग्यो।

ज्योति दम्पतीले हाम्रो बिरुद्धमा गरेका काम र कुराहरुको फेहरिस्त त धेरै लामो बन्न सक्छ। ति सबै कुराहरुलाई सम्झनाबाट मेटाउन त सकिंदैन तर म सम्झन चाहिं चाहन्न। सानै देखि हरेक कुरामा उसको भलाइ कामना गर्दै, आफ्नो बलबुताले भ्याए सम्म सहयोग गर्दै हुर्काएको भाइले, आँखा चिम्लेर अनि कान थुनेर, सत्यको विपक्षमा उभिएर अनैतिक कार्यमा रमाउन पुगेको देख्दा, म आफैंलाई असफल भएको महसुस गर्दछु। तर पनि, उसले बाटो बिराएको त्यो दिन देखि नै, कुनै दिन यो भाइ फर्केर आउँछ भन्ने आशा अहिले सम्म दरिलो छ। उसले अरु प्रती गरेको कार्यको त मैले के भन्नु तर मप्रति देखाएको व्यवहार र गरेको दुष्कार्यलाई भने, उसको कमजोरी मानेर, मैले उहिले नै माफी गरिसकें। यसैले, रुपैया-पैसाको मोह नै सबै किसिमको खराबीको जड भएको तथ्य बुझेर ईश्वरको डरमा फर्किन्छ र जीवनको शान्ती प्राप्त गर्छ भन्ने विश्वास लिएर, म उसलाई पर्खिरहेकोछु।
सिनामंगलमा शुरु गरिएको काम धमाधम अघि बढाउन हतारो नै थियो किनकि झन्डै दुइ-तिन महिना सम्म अवरोध खेपेको कामलाई साधारण दैनिकीमा ल्याउन त्यती सजिलो थिएन। पुरानो कारखानामा भएका औजार तथा समान मौज्जात सबै किरण श्रेष्ठले कब्जा गरेर राखेको थियो। यी सबै अवरोधका बावजूद पनि छ: महिना जतिमा, सबै कर्मचारीहरुको जोसिलो मेहनतको फलस्वरुप, काम पूर्ण सुचारु भइसकेको थियो।
भेन रोयले युरोपको लातभियामा एउटा धेरै ठूलो लगानीको परियोजनामा हात हालिसकेको भएर, उनको अधिकांस समय, सोच र सम्पत्ति त्यतै नै एकाग्र भएकोले, काठमाण्डौको काममा त्यति ध्यान दिन असमर्थ थिए। यहाँको स्थानीय बिक्रि बढिरहेको भए पनि युरोपमा हुने निर्यात चाहिं बिस्तारै खुम्चिने क्रममा रह्यो। समग्रमा यो कारखानाको उत्पादन र उपलब्धी यथास्थितिमा रहिरह्यो।
पछिल्ला दिनहरुमा, भेन रोयको लातभिया परियोजना, त्यहाँको चिनियाँ साझेदारको कारण, सफल नहुने जस्तो संकेतहरु देखिन शुरु भयो। नभन्दै, त्यो परियोजनालाइ छोडेर, सन् २०१६ मा परिवारै काठमाण्डौ आएर, भेन रोयले यहाँको काममा एकाग्र हुने योजना प्रस्तुत गर्नुभयो। यो योजनाले मलाइ पनि अब पूर्णकालीन कामको जिम्मेवारीबाट विश्राम लिने आवश्यक्ता र अवसर दर्शायो। त्यसै पनि अवकाशको उमेर त कटिसकेको थियो, यसैले, भेन रोयसंग सर-सल्लाह मिलेपछि, कोहि सक्षम व्यक्ति खोजेर, आवश्यक भए सम्म हस्तान्तरणको समय दिएर, कम्पनीबाट बिदा लिने सहमति भयो।
यसपश्चातका घटनाक्रम अर्को भेटमा।