In Nepalese Language

केही हप्ता अघि सम्म हाम्रा समाजका माननीय, वरिष्ट, बलिष्ठ, पुरातन-निष्ट, दैवी ज्ञानले हृष्ट-पुष्ट गुरू, शिक्षक, पुरोहित, पण्डित, सबैजना एकै मतका भएर गुनासो गरेको सुनिंदै थियो, कि अचेलका युट्युब र फेसबुके गुरू र शिक्षकहरुले, जे-पायो-त्यै इन्टरनेटमा प्रसारण गरेर, समाजलाई भडकाए, भ्रममा पारे, झुठो शिक्षा फैलाए र ज्ञान र शिक्षालाई कमसल र सस्तो बनाए। उनीहरुले बिंडो सम्हाल्दै आएको गहकिलो, गहिरो, अभेद्य ज्ञान-व्यवसायको पेशालाई, यी नवोदित प्रविधी-पोषित फुच्चे गुरुहरुले सजीलै, सस्तोमा, सबैतिर, सबैको पहुँचमा पुर्याइदिएर, शिक्षण-स्तर खस्काइदिएको आरोप लगाए। वास्तवमा, यो स्थापितवर्गको यस्तो गुनासो र चोटिलो आरोपको प्रमुख कारक, उनीहरुले खाई-पाई आएको, बडेमानको सम्मान र तलबमानमा प्रष्ट पर्न गैरहेको क्षय नै मुख्य हो भनेर बुझ्न केही गाह्रो छैन। केही अपवाद पनि अवश्य होलान। यातायात व्यवसायीले पनि यही पेशा-त्रासको कारण सिण्डिकेट कायम राखेको उदाहरण हामीसित ताजै छ।
यस्तो बलिष्ठ समूह, जसले जनमानसमा शिक्षालाई क्लिष्ट रुप प्रदान गरे, आज त्यही इन्टरनेट प्रदत्त युट्युब, फेसबुक, आदीको माध्यमद्वारा, आफैंलाई डरको भावमा नम्र बनाएर, आ-आफ्नो विधाको शिक्षा लिएर, समाज सामु प्रस्तुत भइरहेको देखिन्छ। ज्ञानको यस्तो आडम्बरलाई तोडेर, नम्र बन्दै, पहिले विरोध गरेको प्रविधीलाई अब सकार्ने अवस्थामा झुक्न यो समूहलाई वाध्य पार्ने वस्तु, तिब्र गतिको फैलावटद्वारा विश्वभर बवण्डर मच्चाइरहेको, प्रोटिनको त्यो सूक्ष्म कण, अझ कती बलवान रहेछ। यो सोचले प्रष्ट सित दिंदैगरेको सन्देश यही छ कि हामी मानव जातीले प्रकृतिको विरोध गरेर सक्दैनौं, यसकारण प्रकृतिको चालमा हिडौ, यसलाई उछिन्न नखोजौं।