सोचमा योजना-व्यवस्थापनको खाका

In Nepalese Language

समाजोपयोगी नैतिक सोच र आचरण – हरेक क्षेत्रको निम्ति अबको दूरगामी राष्ट्रीय आवश्यकता बनेको देखिंदैछ।  

अबका योजनाहरुमा मानवीय कल्याणकारी पक्षलाई प्राथमिकतामा राख्ने, न कि भौतिक र यान्त्रिक गणितीय वृद्धीलाई मात्रै उन्नतीको मापक मान्ने सुझाव सहित यो सोच पस्किने जमर्को गरेकोछु। 

युगौंदेखि हाम्रा पूर्खाले आफ्ना समय र परिस्थितीका अनुभवहरु साँचेर, खात माथी खात ज्ञान र संस्कारका अथाह भण्डार, हाम्रो सहज जीवन यापनको निम्ति, हरेक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै आएकाछन्। हामीसित यसरी संचित हुन पुगेको आध्यात्मिक, नैतिक र भौतिक भण्डारको बुद्धिमत्तापूर्ण उपयोग गर्न सक्यौं भने मात्रै पनि, हामी अरु कुनै समृद्ध गनिएका राष्ट्रहरु भन्दा कम उन्नत मानिनेछैनौं। यती मात्र हो कि ‘उन्नती’ को परिभाषा र मापन विधी, जीवनको सबै क्षेत्रलाई समेटने गरी फराकीलो राख्नुपर्दछ। कोविद-१९ महाव्याधीको घटनाक्रमले हामीलाई आफू भित्र विद्यमान मौलिक क्षमताको आकलन गर्ने अवसर प्रदान गरेकोछ।

घरबन्दीले थोपरेको यो फुरसतको बेलामा, जीवनको बहुमूल्य समय बेकार खेर गएको सम्झेर पिडित हुनुभन्दा, आफ्नो अन्तर्दृष्टिलाई पुनर्जीवित पार्दै, आफू भित्र रहेको क्षमतालाई सदुपयोग गर्ने बाटो र तरिका खोज्नमा समय बिताउनु उपयूक्त ठहर्छ। इतिहासले प्रशस्थ साक्षी दिएकोछ कि हामीभित्र यस्तो क्षमता विद्यमान छ। आधुनिक समयमा यो लुप्त रहनुको कारण यती मात्र हो कि हामीले यसलाई खोज्न छोडिदिएका छौं, खोज्दै नखोजे पछी भेट्टाउने त कुरै भएन। आफ्नै घरभित्र उपलब्ध ज्ञानको ठेलीलाई हामीले अभेद्य देवता मानेर पूजा मात्रै गरिरह्यौं।  हाम्रा आफ्नै पूर्खाले बडो मेहनत गरेर, आफ्ना सन्ततीले यो ज्ञानको भण्डारलाई प्रयोगद्वारा अझ परिष्कृत गर्दै, भावी पिडीलाई हस्तान्तरण गरुन भन्ने प्रयोजनले प्रदान गरेको, अमूल्य सम्पत्ती हो भन्ने सत्यलाई हामीले कुनै अँध्यारो खोपीमा लुकाएर बिर्सिदियौं। फलस्वरुप, आफ्नो घरभित्रको खुशी खोज्न पारि डांडा भन्दा परको क्षितिज नियाल्न थाल्यौं। पर-दृष्टिको बढी प्रयोगले समीपको दृश्य त अब सारै धमिलो देखिन थाल्यो। आजको अवस्थामा हामी बहुसंख्यक परजीवी भइसकेकाछौं। यो परजीवी मनस्थिती व्यक्ति-व्यक्तिमा मात्र सिमित नरहेर अब त संस्थागत भइसकेको भयावह अवस्थामा छ। जबर्जस्तीको यो घरबन्दीले हामीलाई अती-परदृष्टि र विक्षिप्त घर-दृष्टि दुवै अवस्थालाई पन्छाएर, समदृष्टि यूक्त सन्तुलित अन्तर्दृष्टि प्राप्त गर्ने अवस्थामा पुर्याउन सके, यसको सकारात्मक उपज मान्न सकिन्छ। 

हामी भित्र विद्यमान क्षमता र हाम्रो अधिकारमा रहेको सम्पत्तीको हामी आफैंले नै ठीकसित आकलन गर्न सकेका छैनौं। पूर्खाको अनुभवद्वारा संचित अथाह ज्ञान मात्र होइन, प्रकृतिले पनि बहू-आयामिक सम्पत्तीको विशाल भण्डार हाम्रो अधिकार अन्तर्गत राखिदिएकोछ। त्यती मात्र होइन, मानव संसाधनमा पनि हाम्रो राष्ट्र अरूको दाँजोमा धेरै फायदाको स्थानमा छौं; कति देशहरुमा केवल एक वा केहि सिमित क्षमता भएका नागरिक मात्र छन्, तर हाम्रो देशमा त भिन्न-भिन्न क्षमता भएका विभिन्न समूहहरु बहूलतामा छन्। कसैसित चुस्त दिमाग यूक्त बौद्धिक क्षमता छ त कसैमा सुगठित ज्यानमा शारीरिक शक्तिको भरपुरी छ। कोही सगरमाथाको चीसो चुचुरोलाई पानी पधेंरो बनाउन सक्छन् त कोही तराई फाँटको उखर्माउलो गर्मीमा रमाउंदै मेहनत गर्दैछन्। नदीनाला र घना जंगललाई आफ्नो चहेता कार्यक्षेत्र बनाएर रमाउनेहरु पनि यही देशमा छन्। मानव संसाधनमा यस्तो विविधता उपलब्ध हुनु नै हाम्रो निम्ति ठूलो फायदाको स्थान ठहर्छ। प्रकृतीले हाम्रो क्षेत्रलाई विभिन्न मौसमको चक्रीय अनुशासनमा राखेकोछ, जसको फलस्वरुप, आवश्यक आहाराको जोहो संगसंगै प्रकृतीको बदलिँदो रूप र पहिरनको मनोरंजन हामीलाई प्राप्त भई रहन्छ। 

यहाँको जन, जमीन, जल र जीवको सन्तुलित र समूचित प्रयोगमा, स्थानीय परिवेश सुहाउँदो व्यवस्थापन गरेर, प्रकृती संगको सम्मानपूर्वक साझेदारीमा, फल्दै, फुल्दै, वृद्धी हुँदै जाने अविभारा यहीं कै बासिन्दाहरुको हो। प्रकृतीसित सहकार्यमा खुशी खोज्नुको विकल्प हामी कसै सित छैन। प्रकृतीसित जुझेर जीत हासिल गर्ने जमर्कोले जनलाई जमीनमा जोताउँछ भन्ने कुराको ज्वलन्त जानकार हामी आफैं नै छौं। 

यहाँ सम्म पुग्दा, सामाजिक समुन्नतीको चुरो चुस्त व्यवस्थापनमा हुने रहेछ भन्ने बुझिन्छ। साथै यो पनि बुझ्न अपरिहार्य छ कि त्यो व्यवस्थापन ‘स्थानीय परिवेश सुहाउँदो’ हुनुपर्दछ, कुनै पनि ढाँचाको भएर पुग्दैन। कुनै पनि परियोजनाको व्यवस्थापन गर्नलाई पहिले त योजना हुनुपर्यो। योजना बनाउनलाई लक्षित उदेश्य चाहिन्छ। उदेश्य चाहिं सम्बन्धित व्यक्ति, समूहको दर्शनमा आधारित हुनपर्दछ। दर्शन अमुर्त कुरो हो, जुन कुरो हरेक व्यक्तिको अन्तरात्मामा अवस्थित  विवेकले निर्दिष्ट गर्दछ। विवेकको सुझावलाई मलजल गरेर रंगरूप दिने चाहिं हाम्रा पारिवारिक र सामाजिक मुल्य, मान्यता र संस्कारहरु बन्दछन्। अन्तरात्माका सुझावहरुलाई उच्च महत्व दिंदै स्थापित भएका मूल्य, मान्यता र संस्कारहरुको समष्टीलाई ‘नैतिकता’ भनेर चिनिन्छ। 

उपरोक्त पंक्तीहरुमा यो पाठकले दर्शाउन चाहेको यती मात्र हो कि प्रकृती प्रदत्त दिगो उन्नतीको बाटोमा उक्लिँदै जानको निम्ति विवेकशील बनेर नैतिकतालाई आधार बनाउन जरुरी बन्दछ। यसभन्दा अलग आधारमा परिकल्पना गरिएका द्रूत, क्षणिक, स्वार्थी  र प्रकृती सित जोरी खोज्ने उन्नतीका योजनाहरुले ढिलो-चांडो स्वभावत: विकास होइन हतास विनास, सम्पत्ती होइन आपत्ती विपत्ती, शान्ती होइन भ्रम भ्रान्ती, विश्राम होइन आकूल व्याकुलता, शितल स्वास्थ्य होइन तनावको जलन; विकल्प हाम्रै सामुन्ने छन्, रोज्ने हामी आफैंले हो – प्रकृती संगको गती वा उग्र महत्वाकांक्षाको मती?

सारा विश्वले खेप्नु परिरहेको अहिलेको यो महाव्याधीको परिवेशमा, सर्वसाधारण नागरिकदेखि, योजना तर्जुमा गर्ने गहन जिम्मेवारी पाएका प्रशासक, जन-प्रतिनिधी, सांसद, मन्त्री तथा बुद्धिजीवी, अधिकारकर्मी, विभिन्न संघ-संस्थाका प्रतिनिधी पात्रहरु समेत, संवेदनशील सोचको अवस्थामा पुगेको बेला छ। प्राकृतिक होस् वा मानव निर्मित, यस्तो विनासकारी विपत्ती फेरी नदोहोरियोस् भन्ने सबैको चाहना हो। प्रस्तुत सोचलाई सम्बन्धित सबैले ध्यान दिएर योजना तर्जुमा तथा कार्यान्वयन विधीको खाका कोर्न सके, अवश्य नै हाम्रो समाजमा सकारात्मक बदलाव आउनेछ। भ्रष्टाचारले सर्वत्र जरा फैलाएको आजको अवस्थामा यो सोचलाई कार्यान्वयन गर्नमा बाधाहरु त अवश्य नै आउनेछन्, तर दृढ अठोट साथ अघी बढ्ने हो भने, बाधाहरूले पनि बिस्तारै बाटो छोड्नै पर्ने हुन्छ।

सम्झनामा रहेका अहिले सम्मका कुनै पनि वार्षिक योजना हाम्रो आफ्नै विशिष्ट मौलिक परिवेशमा बनेको देखिंदैन। हाम्रो पर-दृष्टी र परजीवी मनस्थिती, मित्रराष्ट्रहरुको दान, सहयोग र सहुलीयत ऋणको भर पर्नुमा मात्र सिमित नरहेर, योजना तर्जुमा र कार्यान्वयन समेत विदेशी राष्ट्र र संस्थाहरुको भरमा छोडिदिएको देखिन्छ। केहि हिस्सा आफैंले गरेको देखिए पनि, त्यहाँ अरुको निती र तरिका जस्ताको तेस्तै आफ्नोमा टाँसेको प्रष्ट हुन्छ। यस्तो प्रवृत्तिले देशको हित गर्दैन किनकि त्यस्ता निती र योजना हाम्रो आफ्नै स्थानीय परिवेशमा बनेका हुँदैनन्। उनीहरुको नापमा बनेको लुगा हामीलाई ठीक हुँदैन, दानमा फ्याँकेको जडाउरी लुगाले हाम्रो इज्जत बढाउँदैन, बरु आत्मग्लानीमा शिर निहुरिन्छ, आत्मबलको क्षय हुन्छ र फेरि पनि पर-आश्रित बन्न बाध्य बनिन्छ। ऋण लिने चाहिं ऋण दिनेको दास हुन्छ भनेर शास्त्रले नै सचेत गराएकोछ। अहिलेको समयसम्म यस्तै नै भई रहेको कुरा जगजाहेर छ। ज्ञानी-मानी, सन्त-महात्माको पुर्ख्यौलीको गर्व गर्ने यो देशमा यती कुरा पनि बुझ्न सक्ने कोहि नभएको त अवश्य होइन। त्यसो हो भने, अब हामी आफ्नो माटो र संस्कार सुहाउँदो दर्शन, कार्ययोजना, लक्ष र व्यवस्थापन आफैं गरौँ। हाम्रो आफ्नै नैतिक संस्कार, आफ्नै अथाह श्रोत-साधन, आफ्नै मानव संसाधन, आफ्नै व्यवस्थापन विधी, समावेश र संचालन गरेर अघि बढ्नु हो भने, यो देशले आफ्ना सन्ततीलाई खुशी र सुख दिनलाई, प्रशस्तैको प्राकृतिक भण्डार संगालेर राखेकोछ। आफूलाई जन्माउने, हुर्काउने र सिकाउंदै सक्षम बनाउने माता, पिता, गुरुजन र अग्रज परिवारको आदर र कदर गर्नपाउनुलाई हाम्रो संस्कारले गर्वको अवसर र असल नैतिकता भनेर शिक्षा दिंदै आएकोछ। प्रकृती हाम्रो दास होइन, तर हामीलाई हुर्काउँदै अघी डोर्याउने अविभावक हो। भलो चाहने अविभावकले हठी सन्ततीलाई उपयूक्त अनुशासनको प्रयोगद्वारा सच्याउने अविभारा पनि इमान्दारीपूर्वक निभाउँदछ। यसकारण हाम्रो संस्कारले सिकाएको नैतिकताको आधारमा हामीले प्रकृतीको कदर, वास्ता र देखरेख गर्नुपर्दछ। हामीले प्रकृतीको चालमा चाल मिलाएर संगसंगै हिडनु पर्दछ, न कि यसलाई उछिन्ने महत्वाकांक्षामा यसको अती-दोहन गर्ने। प्राकृतिक ठहरको गतीलाई बेवास्ता गर्दै, लालची महत्वाकांक्षाको पासोमा झुण्डिएर, द्रूत-उन्नतीको चोरबाटो छिर्नेहरु कसैले पनि, दीगोपनको दूरगामी उन्नती हासिल गर्न सक्दैन। जीवनादाताले हामीलाई सुख र शान्तीको सामाजिक जीवन प्राप्त हुन सकोस् भनेर, स्थापित गरिदिएको प्राकृतिक व्यवस्था अनुरुपको चालमा अघी बढ्दै, प्रकृतीले प्रदान गर्ने प्रशस्तीको शितलता रसपान गर्ने वा त्यसको बेवास्ता गर्दै प्राकृतिक विपदाको पीडा निम्त्याउने, छनोट हाम्रो आफ्नै हातमा छ।    

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s