धर्म कि धन-कर्म?

In Nepalese Language

हामी धेरैको आदर्श बन्नुभएको एकजना अग्रणी सर्जकले, केहि समय अघी, उहाँको सामाजिक संजालमा, ठट्यौली पारामा एउटा मुद्दा प्रस्तुत गर्नुभयो। त्यहाँ केहि नेपाली उखान टुक्काहरु उद्धरण गरिएका थिए, जसका शाब्दिक अर्थ अबका दिनमा बेअर्थ भईसकेका छन्। जस्तै, मेरो गोरुको बाह्रै टका, उपियाँ फड्क्यो जुम्राको घान, घोड़ा बेचेर निदाएको, आदि। व्यवहारिक असान्दर्भिकताको कारण प्रयोगमा कमी हुँदा, यस्ता वाक्यांशहरुको शाब्दिक मात्र होइन, भविक अर्थ समेत लोप हुने अवस्थामा छन्। बाह्र टका (रुपियाँ) भन्दा कममा मेरो गोरु बेच्दै बेच्दिन भन्ने अडान लिने व्यापारीलाई अचेल हाँसोको पात्र मात्रै होइन, बौलाहा नै भन्लान्। 

यसो सोच्दा, ती पुराना उखानहरु जस्तै हाम्रा प्रयोगका कतिपय शब्दहरुले पनि तीनका शब्दार्थ र भावार्थ दुवै हराई सकेको अवस्थामा भेट्टाईन्छ। शब्दकोषमा त तीनको अर्थ जस्तो हुनुपर्ने हो त्यस्तै छ तर व्यवहारमा भने आकाश-जमीनको फरक आईसकेको भेट्टाइन्छ। झट्टै मनमा आउने त्यस्ता शब्दहरुमा व्यापार, विज्ञापन, राजनीति, जन-प्रतिनिधी, स्वयंसेवा, सेवा, जागिर, धर्म, दान, यस्तैहरु पाइन्छन्। यस्ता शब्दहरुलाई केलाएर हेर्ने हो भने, यिनीहरुको अर्थले व्यवहारिक बाटो बिराएको बुझ्न केही कठीन पर्दैन। 

उदाहरणको निम्ति हामीले प्रयोग गरी रहने शब्द ‘धर्म’ लाई लिऔं:

धन्य+कर्म = धर्म 

धर+अन्य  = धन्य

म+आन = मन वा मान   

कर+मर्म  = कर्म 

‘कर’ शब्दले मनमा सोचेर केहि काम गर्नुलाई प्रस्तुत गर्दछ। 

‘मर्म’ भन्नाले कुनै पनि कामको खाँट्टी उदेश्य, भावनात्मक लक्ष, चाहनाको प्रकार, आदीलाई बुझाउँदछ।

‘आन’ शब्दले उच्च महत्वमा हेरिएको वा राखिएको अवस्था वा मान्यता बुझ्न सकिन्छ।   

‘मन’ वा ‘मान’ भन्दा ‘म’ को निम्ति, आफ्नै लागी, ‘म’ उचालिएको चाहना, स्वयं लक्षित सोच जनाएको बुझिन्छ।

‘धर’ भन्दाखेरी केहि कुरो सम्हाल्नु, खस्नु वा नाश हुनबाट बचाउनु, धारण गर्नु, समातेर जोगाउनु, जस्तो कार्यलाई जनाउँदछ। 

‘अन्य’ भनेर आफू वा स्वय: भन्दा बाहेकका, अरुहरु, आफूसंग भएका भन्दा अर्कै भन्ने वस्तु वा व्यक्ति बुझाउँछ। 

यो बुझाईको आधारमा हेर्दा:

‘धन्य’ शब्दले त्यस्तो विशेषता बुझाउँदछ जहाँ आफ्नो होइन तर अरुको असलको निम्ति गारिने भलाई रहन्छ। 

‘कर्म’ भन्नाले पूरा होशमा, जानीजानी, मनैदेखि केहि उदेश्य लिएर गरिने कार्यलाई बुझाएको देखिन्छ। 

अब उपरोक्त सबैको निचोडको शब्द ‘धर्म’ को अर्थ त यस्तो हुनुपर्ने देखिन्छ:

स्वार्थभाव छोडेर, केवल अरुको भलाई र कल्याणको उदेश्य लिएर, कसैको उक्साहट कि आवेशमा नभई, आफ्नै चाहना र सदिक्षामा गरिने असल कार्य। 

के अचेल धर्म शब्दको व्यवहारिक बुझाई यस्तै ढाँचाको छ त?

उपरोक्त बुझाईमा धर्म एउटा कार्य हो, तर अहिले यो शब्दले विभिन्न समूहलाई बुझाउँछ। धर्म भन्यो कि ‘कुन’ भन्ने स्वाभाविक प्रश्न उब्जिन्छ। 

शब्द विश्लेषणले व्यक्ति-व्यक्ति बिचको मिलाप र एकता सुझाउँछ, तर आजको समाजमा त मेरो धर्म र अर्कोको धर्म भनेर चिनारी प्रष्ट्याईन्छ। यसरी यो शब्द, समाजलाई मिलापमा जुटाउनुको सट्टा भिन्नतामा फुटाउने नाम भएकोछ। एउटै नाम भएका ‘धर्म’ हरु भित्र पनि विभिन्न हाँगाबिंगा समूहहरु छुट्टिएर निस्केकाछन्। अनि ती प्रत्येक समूहको एउटै अलाप रहेकोछ – मेरो मात्र साँचो अरु सबैको झूठो; मेरो असली अरुको नकली; मेरो सनातन अरुको नूतन; मेरो ईश्वरशस्त्रमा आधारित अरुको दन्त्यकथामा आधारित; मेरो सुसंस्कारी अरुको दुराचारी। यस्ता अडम्बर र दोषारोपणको परिपेक्षमा पनपनाएका समूहहरु कसरी चाहिं उपरोक्त अर्थ जनाउने ‘धर्म’ शब्दमा नारिन सकेका होलान? तर सबैले आफूलाई त्यही नाम दिन्छन अनि समाजले त्यो मानीआएकोछ।

शब्दले मीठो मिलापको परिदृश्य सुझाउँछ तर वास्तवमा यही शब्दको आधारमा परिवार, समाज र देश समेत टुक्रिएर अलग अनि कमजोर भएको इतिहास साक्षी छ। आजको ‘धर्म’ ले जोडेको होइन तोडेकोछ। 

स्वार्थभाव त्यागेर अरुको असल गरेको जनाउने शब्दको आधारमा, यी ‘धर्म’ भनिने समूहहरु र तिनका हर्ताकर्ताहरुले, निती-नियम नै बनाएर, व्यक्तिगत तथा संस्थागत प्रयोजनको निम्ति, आफू भन्दा कमजोर बौद्धिक र आर्थिक अवस्थामा रहेका अनुयायी सदस्यहरुबाट, धन, स्थान र सम्मान आर्जन गर्ने औपचारिक कार्यक्रमहरु नै संचालन गर्दै आएकाछन्। यो ‘धर्म’ ले नहुनेलाई हुनेले पोषण गरेको होइन, हुनेले नहुनेको लगातार शोषण गर्दै आएकोछ।

शब्दले करुणा र प्रेमद्वारा प्रेरित भएर सम्पन्न गरिने सहयोग, भलाइ र शिक्षण कार्यको भाव समेटेको देखिन्छ तर बहुतायत यस्ता समूहहरु, दिनको सट्टा लिनमा तल्लीन देखिन्छन; केहि कसैलाई दिनुपर्ने भयो भने पनि, प्रापकको गर्जो टरेको भन्दा बढी दाताको महानताको प्रचार चाहिं मूल उदेश्य रहने गरेको प्रष्ट देखिन्छ। जब कि यस्ता ‘धर्म’ समूहहरुका शिक्षामा – कर्म गर्दैजानु तर फलको आशा नराख्नु, दान यस्तो गुप्तमा होस् कि दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस्, भलाई गरेर त्यसको जस दरिया (पोखरी) मा फालिदिनु; शिक्षा चाहिं यस्ता आदर्शका तर व्यवहारमा भने गरीब र कमजोरको शर्मनाक उपहास हुनेगरी फोटो खिच्ने, पत्र-पत्रिका र सामाजिक संजालद्वारा प्रचार गर्ने, फोटोमा दाताको नाम कि लोगो देखिनुपर्ने, सहयोग कार्यक्रम कुनै गन्यमान्य व्यक्तिको उपस्थितीमा थालनी गर्नुपर्ने; यस्ता प्रचारमुखी क्रियाकलापहरु प्राथमिक चासोका विषय बनिरहेकाछन्। यस्ता ‘धर्म’ को नाममा टेकेर सम्पन्न गरिने सेवा र सहयोगको परियोजनाहरुमा खर्च हुने समय, साधन र अर्थको बाँडफाँड हिसाब गर्नु हो भने, लक्षितवर्गले खाँट्टी उपभोग गर्न पाउने वस्तु वा सेवामा भन्दा, यस्ता परियोजनाको परिकल्पना, प्रस्तुती, प्रमाणिकरण, स्विकृती, प्राविधिक पुष्टी, मानव संसाधन, यातायात तथा प्रशासनिक व्यवस्थापन, कार्य-सम्पादन प्रतिवेदन, आदीमा बढी खर्च भईरहेको पाइन्छ। जसको नाउँ र टिठलाग्दो फोटोको आधारमा परियोजना संचालन गरिएकोछ, उनीहरुको सुविधा भन्दा बढी ध्यान, सेवा प्रदायक व्यक्ति वा संस्थाको सुविधा, सम्मान, तलबमान, सुरक्षा, जस्ता कुराहरुमा केन्द्रित रहन्छ भने, त्यो परियोजना लक्षित समूहको सेवाको निम्ती होला कि सेवा प्रदायकको आम्दानीको श्रोत होला? यस्तो कार्य धन्य-कर्म हो कि धन-कर्म हो, जहाँ एक लगानी गरेर दश आम्दानी गर्ने मुनाफामुखी व्यापार हुन्छ?

यस्तो विकृत अवस्था कसरी सृजना हुन पुग्यो र यसको समाधान के होला?   

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s