In Nepalese Language

वीरको लर्को लगाइयो विदेश, उर्जा र सीप संगसंगै भए परदेश,
बलहीन, अदक्ष, छोडिए देश, देशभक्त थोरैले मात्र नकारे विदेश।
—
जवानीको जाँगरले विदेश सप्रिंदैछ, स्वदेश भने यहाँ भोकले झोक्रिंदैछ,
सेवाग्राही परदेशी पूष्ट बन्दैछन्, पीरले आमाको स्नेही मन खोक्रिंदैछ।
—
कर्मभूमीमा फोहोर फाली सिनित्त, आफ्नै घरभरी मुसाको प्वालै-प्वाल,
विदेशी मालिकको सुरक्षा, स्वास्थ्य-संभार, आफ्नो घर भने हिले आहाल।
—
देशको मलिलो खेतबारी बाँझो छ, पसिनाले पराईभूमि सिचाउँछ सन्तति,
आमा-बा, गुरुजन अभावमा टोलाउँछन्, अरुलाई मनोरंजन दिन्छ सन्तति।
—
अगम्य श्रोत आफ्नै घर-आँगनमा, जडाउरी सोहोर्न क्रूर मालिकको दास,
इस्पाती पाखुरा र तातो पसिनाको, देशले राख्दछ स्व-सन्ततिबाट आश।
—
ईश्वरले यहाँ जन्माए, यो हाम्रो देश, जन्माउने हुर्काउने आमा-बा हुन् देश,
संस्कार सिकाउने, संसार चिनाउने, पीडा जित्न तालिम दिने समाज नै स्वदेश।
—
मालिकपनको स्वाभिमान दिन्छ यो देश, दासत्वको जुवामुनि पेल्छ त्यो विदेश,
विदेशी दलाल भित्रिए, विदेशको सपना छरे, मालिक दास बन्न पुर्याइए परदेश।
—
सन्तति दास भएपछि नागरिक दास भए, दास नागरिकको देश नै स्वतः दास,
सार्वभौमिकता खै? ऋणको, ससर्त-सहयोगको र मगन्ते मानसिकताको दास।

विपदाले विरलाई स्वदेश फिराएकोछ, फुरसत जुराएकोछ सोच्न आफ्नै देश,
परदेशको पीडा ताजै छ मनमा, अब त प्रण गरौँ – देशमा अरु नथपौं क्लेश।