In Nepalese Language

कुन हो देश, कुन विदेश, शरीर आफैं रहेछ परदेश
आत्मा अशेष, यो शरीर केवल क्षणिक भौतिक भेष;
कोमल शिशुको प्रवेश, जननीको हराउँछ सब क्लेश
चंचल बालापन र ठिटौली हुँदै जवानी पनि बन्छ निमेष।
—
जीवन संघर्ष अनेक, केही सफलता संगै अरु ठेस
परिवार, समाज, दायित्व, देश; बोझिल बन्दा हरेस;
जिज्ञासा, उत्सुकता, जोस, जाँगर, प्रतिस्पर्धा र यश
भेट्टाउँदै, उछिन्दै उत्कर्ष चुमेपछि उन्नति हुन्छ शेष।
—
शरीर सुस्ताउंछ, मन जुर्मुराउंछ, सोचमा अन्त्य प्रवेश
ध्यानमा जीवन के, किन, कसरी, यसको को हो नरेश;
बिगतका मूल्य शून्य बन्छन्, बिलाउँछन् तब सबै रोष
होशमा देहको क्षणभंगुरता, शरीर त आत्माको प्रवास।
—
शरीरलाई नै जीवन मान्यौं, रहेछ केवल स्वासको बास
आत्माको अनन्त जीवनमा, शरीर मात्र निमेषको प्रवास;
व्यर्थ बिताएको बिगत यामको, मात्र छ पश्चातापको रास
अब बाँकी दिनको ईशलाई सोधौं उदेश्य प्रवासको खास।
—
*शिर्षक साभार ख्रीष्टीय भजन #३८७