In Nepalese Language

शीर्षकमा ‘कार’ देखेर नजर यता सार्ने सुरसारमा रहनुभएका यारहरुलाई धोका नहोस् भनेर शुरुमा नै स्पष्ट पार्न चाहन्छु कि यहाँ सडकमा सरर गुडने मोटर कार वा पानीमा सलल बग्ने वाटर कार वा तारमा झुण्डिएर चुईकिंदै सर्ने केबुल कार वा अरु कुनै पनि यताबाट उता ओसार पसार गर्ने सवारी साधन ‘कार’ को कुरा प्रसार गर्ने कुनै विचार छैन। विभिन्न आकारका त्यस्ता कारहरु त हाम्रो सरकारले भरमार किनेर बेकार बनेपछि संभार गर्न झम्मार भएर टार टार भरी भरी थुपार गरेकैछ। यति सुनिसके पछि पनि हतार नमानी पढिरहनु भएका मित्रहरुमा मेरो आभार प्रकट गर्दै अब यो कार विचार प्रसार गर्न तयार छु।
यहाँ भने प्रत्यय प्रयोगमा आउने ‘कार‘ को विवेचनाको विचार छ। तर टाउकोमा भार पार्ने व्याकरणको पाठ चाहिँ होइन है। कलाको आकार, प्रकार, चमत्कार, झंकार, प्यार, सार, लगायत विकार, डकार, चित्कार, अहंकार, दुत्कार, आदि इत्यादिको प्रस्तुती प्रदान गर्ने सीप भएको व्यक्तिलाई ‘कलाकार’ भनिन्छ। कलाकारले निराकार कलाको अथाह भावबाट केही प्रकारका आकार भौतिकीकरण गरेर संचार गर्ने क्षमता राख्दछ। कलाकारका प्रकारहरुमा गीतकार, संगीतकार, नाटककार, मुर्तीकार, चित्रकार, कथाकार, व्यंजनकार, पत्रकार, आदि धेरै पर्दछन्। यिनीहरु भित्रबाट पनि अरु सूक्ष्म र मिहिन विशेषतायुक्त हाँगाबिंगा अस्तित्वमा छन् अनि लगातार बनिने क्रममा छन्। यी सबै मानिसमा अन्तर्निहित खुबी र गुणका प्रस्फुटन हुन्। कतिले चाह, धैर्य र मेहनतमा लगनशील भएर आफू भित्रको क्षमतालाई निखार्दै र प्रस्तुत गर्दै आफ्नो समाजमा मानवताको सार र खुशी छर्दछन्। अरुले खोजी नै नगरी वा जानेर पनि, विभिन्न बहानामा आफ्नो सीपलाई सुषुप्त राखेर नै सेलाइदिन्छन्।
मित्र, तपाईंले यहाँ सम्म पढ्ने धैर्य राख्नुभएछ, गदगद हुँदै धन्यवाद प्रदान गर्छु। जाँदाजाँदै तपाईं सामु खुसुक्क एउटा व्यक्तिगत प्रश्न राख्न चाहन्छु। तपाईंको यो जीवनको परियोजनाकारले, विशेष तपाईंकै लागि भनेर एक्लो तपाईंभित्र राखिदिएको क्षमता, सीप, कला, आदिको खोजी गर्नुभएकोछ? भेउ पाउनुभएकोछ? प्राप्त गर्नुभएकोछ? प्रयोग गर्नुभएकोछ? सकारात्मक जवाफ हुने मित्रहरुलाई बधाईको उपहार छ। नभए पनि निराशाको कुनै कारण छैन किनकि, केहि बिग्रेको छैन, तपाईं जुन तहमा हुनुहुन्छ त्यहीँबाट शुरु गर्नसक्नुहुन्छ। किनकि, यो कालखण्ड, यो स्थान र समाज, यो राष्ट्र र संस्कृति, यो परिवार र छरछिमेक, यो उन्नति/अवन्नतिको परिवेश, कुनै पनि हामीले आफैं चुनेनौँ; हामीमा अन्तर्निहित क्षमता, सीप, कला र खुबी पनि हामीलाई दिईएको हो, यसलाई तिखारेर निखार ल्याउने जिम्मा चाहिँ हाम्रो हो। हामी आफैं पनि हामीलाई सीप दिनुहुने ईश्वरका सीप हौं। उनैद्वारा पहिलेबाटै तयार गरिएको असल कामहरु उनकै अभिषिक्त योजनाको इच्छामा हिंड्दै पूरा गरौं भनेर हामी अहिले, यो ठाउँ र अवस्थामा छौं।
हाम्रो योजनाकार नाटककारले तोकेको प्रकारको जिम्मेवार कलाकार बनेर उनको योजना साकार गर्ने रहर बोकी, प्रदत्त कला र काममा निखार, तिखार ल्याउँदै, उक्त योजनाको बाटोमा प्रखर रहर साथ हिड्दै उनलाई आदर दिएका छौं त?
छौं भने ढुक्क भई अघि बढौं, काम बिग्रिन्छ कि भनेर डराउने आवश्यकता छैन; किनकि उनकै करार अनुसार उनी सधैं हामी संगै छन्। छैनौं भने चाहिं, अबेर नगरी, यो क्षणिक जीवन बेकार हुन नदिन, आजै जुर्मुराएर जिम्मेवार कलाकार बन्ने तरखरमा जोरजाम गरौँ।