In Nepalese Language

शुभ दिनको संकेत दिने यो मिरमिरे प्रहर
न्यानोपनको आकांक्षा बोकेको मानवीय रहर;
हरेक पाइलाले पालन गरोस् दैवी ठहर
छेऊ पर्न नपाओस् दानवीय कहर;
दैवले जुटाउन आज यस्तो अवसर
आफूभन्दा बिपन्नको बन्न पाउँ केही भर।
—
दिनको छनकले दोलो भयो रातको हुंकार
उज्यालोको बहिर्गमन नै रहेछ अँध्यारोको रास
आँखा चिम्ले अन्धकार, खोल्नासाथ छर्लंङ्ग दिशा चार
समाजबाट यसै रितले अलप होस् भ्रष्ट्राचार।
आक्रान्त नागरिकको थकावटपूर्ण चित्कार
सुनिदेओस सरकार, व्यवहारमा होस् सदाचार।
—
गाउँ र शहर भरी विपदाको भौतिक मार,
डर, त्रास र तनावले मनोबलमा प्रहार;
व्यवस्थापनको अक्षमतामा बाटो बिराएको सरकार,
अधिकारको अहंकारमा शक्तिकेन्द्र छ खुंखार;
धेर अबेर भइसक्यो, जाग, अब त नथप बिगार,
देशमा सुशासन छाओस्, जनमा उज्यालो मुहार।