In Nepalese Language

लहैलहैमा लाठे भइसक्यो, लन्ठू अझै छ लठेब्रो,
ज्ञानगुणका कुरामा देब्रो, व्यवाहारमा सदेव डेब्रो,
गफगाफमा खप्पिस जिब्रो, प्रश्न सोध्दा तान्छ लेप्रो,
बाँसुरी मादल भो’ झ्याउरे, ठोक्छ अम्रिकी ढ्याँग्रो।
—
घरको खाना भन्छ झूर, भट्टीको बासी च्वाँक राम्रो,
फुत्त चोक, सुत्त गल्ली, सम्झाउँदा भने सारै चाम्रो,
नैतिक शिक्षा सारै झ्याउ, अग्रज आदर छुसी काम्रो,
सुन्नु वा मान्नु छैन कसैलाई, भन्छ जमाना नै हाम्रो।
—-
टोलको भुत्ते टोली पोस्छ, बाउको धनमा निर्धक्क,
आमा भन्छिन् कुबाटो छोड, ब्रो चैं अक्क-न-बक्क,
बाउ हकार्छन्, आमा मुसार्छिन्, उ छ मस्त ढुक्क,
हारेर बाउ गर्छन् खुइय्य, आमा पीरले सुँक्कसुँक्क।
—-
ब्रो कसरी बन्ला छोरो, आमा-बाउको सहारा लौरो,
आफ्नै पेट कसरी भरला, समाजको त नगरौं कुरो,
बरालिएर समय बितायो, शिक्षा सीपमा भएन सुरो,
बालकैमा पाएको बाटो, जीवन पर्यन्त फेर्दैन पाटो।
(हितोपदेश २२:६ को उद्धरण)