In Nepalese Language

यो फेसबुक झर्रो साहित्यको ठेसबुक
व्याकरण र शुद्धतालाई अमिलो चूक
उरन्ठेउला लेखकको भयो अडेसबुक
सम्पादन, समालोचन आफैं नै बुज्रुक।
—-
फुर्यो कि लेखिहाल्यो जेजसो ट्याक्क
फेसबुके भित्तो सजाइहाल्यो चिटिक्क
मिल्दोजुल्दो फोटो गुगलबाट सुटुक्क
नेटद्वारा साथीको फेसबुकमा लुसुक्क।
—-
पढाइमा अल्छे पुस्ता बुझाइमा अकमक
फोटो देख्न पाउँदा भने आँखामा चमक
सत्य होस् नहोस् चोटीलो होस् बकबक
भाषाविद ज्ञातागण मनै मनमा थकथक।
—-
पढने धैर्यमा विकार सर्जक बने अमुक
लेखन पेसा सुस्तायो, जीविकामा शोक
छापा द्रुत ओरालो बिना कुनै रोकटोक
प्रकाशन संस्थाहरुको मन हुने ढुकढुक।
—-
प्रविधि र परिधि दुवै नै मानवका मन्थन
समन्वयमा प्रयोग गरे कल्याणकारी छन्
पक्षपाती बहस गर्दा प्रत्युत्पादक बन्छन्
भाषाको लक्ष सत्य सहज संचार प्रजनन।
—-
प्रविधी प्रवर्धनले प्रकृति-धन प्राप्य बन्छन्
परिधीले प्राप्त विधालाई जनग्राह्य पार्छन्
प्रविधीको उडान र परिधीको अनुशासन
दुवैको सम्मतीमा हुन्छ समाजको उत्थान।
—-
विरोधमा क्रोध मात्र छ, हुँदैन उन्नती कत्ति
मिलापमा सहकार्य छ, मेटिन्छ सबै भ्रान्ति
झर्रो साहित्य र टर्रो प्रविधी मिलेमा क्रान्ति
यो पुस्ता मिलेर बढे सुखी बन्छन सन्तती।
—-
विकास संगै बाटोले फेर्छ दिशा अनि गति
विरोध हो वैरी, खोजौं मेल-बिन्दु र सम्मति
अवरोधमा क्रोध फल्छ, सहमतिमा शान्ति
मिलिजुली संवाद सकारे सबैमा छ कान्ति।