In Nepalese Language

सिपालु पत्रकारको चोटिलो प्रश्नकला
आफैंले चाहेको उत्तर झार्ने चर्तिकला
घुमाउरो बातले चिटिक्क बुनेको माला
बाङ्गो पाराले सुटुक्क अल्झाउने चाला।
—
ज्ञाता भन्दा बढी प्रस्तोताको बोलबाला
श्रोतलाई चिप्ल्याउन चाप्लुसीको खोला
श्रोतावृन्दलाई छक्याउन चलाकी खेला
पूर्वनियोजित व्यापार प्रवर्धनको मेला।
—
सत्य कतै खुलिहालेमा तब देखाजाला
संस्था चट्टै पानीमाथिको ओबानो होला
प्रस्तोताको जागिरमा कस्तो असर पर्ला
ज्ञाता अतिथिको प्रतिष्ठा के कता जाला !
—
थोरैमा मात्र भेटिन्छ इमान्दारीको प्याला
सत्य सन्देशले समाजमा सेवा दिनेवाला
थोरै त्यस्ता पत्रकारलाई नमन सबै बेला
समाज सुधारको कारक त्यो सानो भेला।