In Nepalese Language

(१)
मीत भावको मिठासभरी, साहित्य सज्जाले सिङ्गारिएको भेष,
साहित्यको सुन्दर आवरणमा सजिएको, कालजयी सुसन्देश।
(२)
सुन्दर साहित्य तर यामले उडाइदिन्छ, कालले गराउँछ शेष,
अमर सन्देश प्रेमभावमा पेश, युगयुग अटल, अजर, अशेष।
(३)
साहित्यले सपना सुसार्छ, मनलाई मुसार्छ, परै सार्छ क्लेश,
कटु बन्नु परे पनि भलाइहेतु, सम्झाउँछ, हप्काउँछ सन्देश।
(४)
चित्त चटक्क चिर्ने चेतावनीको सन्देश, साहित्यले बन्छ बेस,
फकाई, जताई, कुरा ग्राह्य बनाई, साहित्य पस्कन्छ सन्देश।
(५)
अनुशासन र ताडनाको सन्देश, मान्छे सोच्छ स्वेच्छामा ठेस,
सुसेली-सुरले भरी साहित्यले, साम्य पार्छ त्यो ठेसको क्लेश।
(६)
भाषा र भेष, संस्कारको परिवेश, फरक छन् अनुसार देश,
साहित्यको सुशोभनमा सन्देशको सार, एकै छ देश-विदेश।
(७)
सन्देशलाई कुनै सिमाना छैन, सारा विश्व नै यसको निज देश,
समाज सुहाउँदो सुरमा सजाई, यसलाई गर्छ साहित्यले पेश।
(८)
साहित्य सुन्दर छ, सजावट दिन्छ, आकर्षक पार्दछ परिवेश,
सजावटको उन्मादमा बरालिंदै कतै नपरोस् सन्देशमा द्वेष।
(९)
बिरानोको भ्रान्तिमा शान्ति ल्याउन, साहित्य नखाओस् हरेस,
साहित्यको आवरणमा प्रस्तुत सन्देशको, नहोस् सारको शेष।
(१०)
साहित्य फुरेर जाग्यो, कालसंगै टल्यो, नछोडी केहि अवशेष,
सृष्टि सदभावको सत्य सन्देश सदा अटल, हमेशा हर निमेष।
(११)
भाषा भावमा प्रस्फुटित साहित्य, भावावेश जस्तै हुनेछ शेष,
सत्य प्रेमको प्राकृतिक सन्देश, अवशेष बन्दैन सदैव अशेष।
(१२)
कर्णप्रिय कलाले लेस, साहित्यले हलुको पार्दछ ठेसको क्लेश,
सुहाउँदो साहित्यमा सजेको सन्देश, बन्छ मनको ठोस अडेस।
(१३)
बोली संस्कारको साहित्यले, छुट्याउँदछ निजदेश कि परदेश,
प्रकृति-प्रेमको सन्देशमा सामेल, सब सृष्टि, संसार नै निजदेश।
(१४)
परिपूरक हुन्, सदैव बनिरहुन्, एक-अर्कामा साहित्य र सन्देश,
विविध गुणका यी परपूरकमा, कहिल्यै नरहोस् द्वेषको आवेश।
(१५)
पक्षपातमा अतिवाद अँगाली, कोही खोज्ने केवल सज्जा र भेष,
सन्देशरहित साहित्य बन्छ, कंकाल सजाउने परिधान र केश।
(१६)
अमूर्त सन्देश सुषुप्त सधैं, नपाएमा भाषा साहित्यको परिवेश,
अपाच्य भद्दा सन्देश बन्छ, सुपाच्य सुशील पाएर साहित्य-भेष।