In Nepalese Language

सामाजिक संजाल – जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बीँड
थोरै समझदारले सदुपयोग गरेकाछन् – केलाएर संचारको भीड,
धेरै भेंडे बगालले आफैंलाई ठगेकाछन्, भएर यसको लतमा चित
संस्कारी संवादको खडेरीमा, उपहास र ठट्टामा रमाउने यी मीत।
—
फेसबुकमा ठेस खाएर नैतिकता, संस्कृति, संस्कार, सबैमा लाचार
ट्वीटरको ठक्करले जमीनमा जोतिएर, समयको अनुशासनमा प्रहार,
यिनको प्रयोगले ठगिएको अल्छी पुस्तामा, पढाइमा पटक्कै छैन रहर
आलश्यमा सुस्ताउने बानीले, सोचेर लेख्नु चाहिं त अति अभेद्य नहर।
—
विदेशी संस्कारको नमूनामा, खुच्चिङ्ग, डिच्च, ठुस्स, आकार ट्यास्स
पढन-लेख्न छोडेपछि सोच र सृजनशीलता दिमागबाट उडिगो’ फुस्स,
टिप्पणी केहि लेखिहाले पनि नसोची, नबुझी, फ्याट्ट लेख्दिने छ्यास्स
पोस्ट्याइसकेपछि मात्रै, नबुझी गल्ती लेखेको जानकारीमा झल्याँस्स।