In Nepalese Language

मनको बाकसभरि छ आकाश
तर निकास नपाई बन्छ सिकस
अमखराभरि नै छ स्वादिष्ट रस
तर पोखिन नपाएर लागेको कस।
—
नसुन्नेको देशमा सुनाउनेलाई क्लेश
श्रोता सुप्त रहँदा प्रस्तोतालाई हरेस
नीरस सन्देश बन्छ साहित्यले सरस
सुन्नेले नचाहे भन्नेलाई केवल सकस।
—
नेपाली संसारमा गर्न सत्य सञ्चार
सरल समझको भाषाको दरकार
भाषा प्रसारमा साहित्यको आधार
साहित्य सज्जामा सन्देशको सार।
—
ईशको सत्य होस् सन्देशको आधार
सम्प्रदायको दुर्गन्धले नगरोस् प्रहार
साहित्य नहोस् सम्प्रदायको घरबार
सधैं होस् केवल सत्य ईशको प्रसार।
—
विचारमा छ कसरी गर्ने होला विकास
पहिले त सोचौं विकासको लक्ष खास
सत्य-सेवाको बोलीमा अनन्तको आस
समूह-टेवाको बातमा छ तिक्ताभास।
—
सोचौं, विचारौं, भेटौं, सकारौं लक्ष सरस
न आफ्नो न जगको, खोजौं ईशको जस
ईश योजना-पथमा जति नै रहोस् सकस
उनको साथ पाएर अवश्य हुन्छ विकास।