In Nepalese Language
सकारात्मकताको भूत लागेकाहरु भ्रम-यानमा चढी बतासमा हुइकिंदैछन्;
नकारात्मकताको बाक्लो सिरकमा लुकेकाहरु आँखा चिम्लेर निदाएकाछन्।
वर्तमानमा विद्यमान वास्तविकताको सत्य सामना गर्न ती दुवै नै चुकेकाछन्।
—
सकारात्मकताको प्रचारमा खप्पिस वाक-व्यापारीले भ्रमको मिठाई बेच्छन्,
मनोवैज्ञानिक वशीकरणमा सहभागीलाई विदेशी बाँदर-नाच नचाउँदछन्;
हालको वास्तविक सत्यतालाई भ्रम बताउँदै ज्यालामा मोटो रकम असुल्छन्।
—
नकारात्मकताको निराशाले आफैं ग्रस्त भएकाहरु छिमेकीलाई तर्साउँछन्,
विनाशको चिन्ता र फिक्रीको गुनासोको रासले भयानक संत्रास फैलाउँछन्;
वास्तविकता र आसको विकासप्रति आँखा टम्म चिम्लेर जीवन सुकाउँछन्।
—
एकपक्ष मात्र अति भएमा तराजुको सन्तुलनमा खति अवश्यम्भावी बनिन्छ,
वर्तमान सत्यको वास्तविकतालाई आशामा डटेर सामना गरेमा निकास छ;
सकारात्मक र नकारात्मक केवल भ्रमका भकारी, मात्र वास्तविक सत्य छ।