In Nepalese Language

ज्ञान जब बन्न पुग्छ भ्रष्टाचारीको लाचार शिकार
आविष्कार तब बन्छ लालची व्यापारीको हतियार,
समाजमा देखिन्न सुधार, जता हेर्यो त्यतै विकार।
—
ज्ञान प्रयोगको सारमा, खोजिन्छ शान्तिको बहार,
अहंकारको हुँकारमा ज्ञान बन्यो संहारको औजार,
जीव प्रकृतिको सन्तुलनमा दुष्टको लोभी व्यवहार।
—
शक्ति केन्द्रको आडमा प्रकृतिमाथि खुंखार प्रहार,
द्रव्यपिचासको दुष्ट मारले ओखती नै विष-भण्डार,
ज्ञान दुरुप्रयोगको परिणामले आक्रान्त सब संसार।
—
विश्लेषण गरिएको ज्ञानको ‘विज्ञान’ नामले प्रचार
विज्ञानले जनमा दिनुपर्ने सत्य, शान्ति र सदाचार,
तर उपहारमा मिल्यो बन्धन, अशान्ति र दुराचार।
—
विज्ञान बन्यो आडम्बरी शोषक शक्तिको हतियार
विज्ञानको उपजमा व्यापारी अनि शासक मतियार
परिणामको दुष्प्रयोगले आविष्कार हुँदैछन् बेकार।
—
ज्ञानवृद्धिमा सहकालको आस, वृद्धिमा छ भोको मुहार
आशामा स्वास्थ्यको सुधार, तर बढ्दोछ व्याधिको मार
समाज झनझन कमजोर, त्रसित, आक्रोशित, लाचार।
—
गलपासो: समाज सुधार नगर्दा आविष्कार बन्दैछ विष-भार।