In Nepalese Language

क्षणिक छ जीवन
चालै नदिई ढल्छ यो तन
खोजौं मूल सत्य धन
पन्छाई फालौं भ्रमित कथन।
—
के होला त्यो सत् धन
जेबाट बनिन्छ शान्त मन
वस्तु धन, विचार धन, व्यक्ति धन,
के होला सन्तुष्टि दिने धन?
—
वस्तु धन सिद्धिन्छ एक दिन
खिया लाग्छ, कीराले खान्छन्
चोरीमा पर्छ, हराउँछ त्यो धन
रहन्छ केवल शोक र जलन।
—
विचार धन हुन्छ परिवर्तन
ज्ञानवृद्धि संगै फेरिन्छ दर्शन
आजको विचार भोलि पत्रू पुरातन
बेमोलको बन्छ सबै विचार धन।
—
व्यक्ति धन सम्बन्धमा जडान
शान्तिको श्रोत, संवादको मुहान
तर मानवीय संवादमा भित्रिन्छ थकान
कहाँ छ अनन्त सम्बन्धको व्यक्ति धन?
—
अनादि अनन्त त केवल ईश छन्
हृदय, विवेक, आत्मामा संवाद गर्छन्
मानव र जगमा पवित्र प्रेम भर्छन्
ईशसितको सम्बन्ध ठहर्छ अनन्त धन।
—
ईश अनन्त छन्, सर्वज्ञानी छन्
जीवनदायी सृष्टिकर्ताको सत्य वचन
उनको शिक्षा सुझावमा नै सत्य धन
उनमा समर्पित मन नै शान्तिको जीवन।
सन्दर्भ: मत्ती ६:२१