In Nepalese Language

लक्षित समूह
धर्मको धङ्धङ्तीमा धर्मराउँदै धकेलिएका अधमरो जीवनहरु,
बन्देजको बोझले थाङ्थिलो भई थलापरेर थेचारिएका बिचरा मनहरु,
थाप्लोले थेग्न नसक्ने अभेग धर्म-संस्कारको बोझले थिचिएकाहरु,
नबुझिएको हाउबुजी ‘पाप’ लाग्ने अन्धविश्वासका डरमा डुबाइएकाहरु!
जाग उठ
यी काल्पनिक डरका लहरहरुमा कहिलेसम्म मरिरहने हो जीवनहरु?
अझैसम्म मरिसकेका छैनौ भने एकपल्ट यो फोस्रो डरलाई मारेर हेर त –
भ्रमजालमा जेलिएको त्यो कथित धर्मको डर सबै फुस्स हराएर जानेछ,
धर्मको नाउँमा हुँदैआएको अधर्मी व्यापारको ठगी धन्दा पर्दाफास हुनेछ।
हेरेर जान
तिमीलाई डरमा डोर्याउने तिमी जस्तै मानिस नै हुन् तर ती कुटिल छन्,
ती धर्मगुरु होइनन्, सोझालाई भुलाएर धन थुत्न खप्पिस धुर्त ठेकेदार हुन्,
त्यस्ता कुटिल धूर्तले आँखा बन्द गराएर अन्धविश्वासको अँध्यारोमा फसाउँछन्;
उज्यालोमा आँखा खोलेर त हेर, तिमी स्वय:लाई नै सबै सत्य छर्लङ्ग देखिन्छन्।
‘धर्म’ शब्द विपरितार्थ भो’
धन्य कर्मलाई ‘धर्म’ भनी चिनियो, कालान्तरमा यसको मूल अर्थ नै धूमिल भयो,
ईशको सत्यमा डोर्याउनुपर्ने विधा थियो, तर उनलाई नै अभेग पार्ने विद्या बन्यो,
सृष्टिले सन्तुलित सहअस्तित्वको सदिच्छामा सद्भाव र सहिष्णुताको पाठ सिकायो,
तर कुटिलबाट कलुषित धर्मले साम्प्रदायिक गुट-उपगुटद्वारा मान्छेमा फूट ल्यायो।
आजको अधर्मी ‘धर्म’
धर्मको प्रथम परिभाषा नै फेरिएछ, ‘धर्म’ शब्द अब ‘धन्य’ नभई ‘धन’ कर्ममा जेलिएछ,
धर्मले शान्ति ल्याउनुपर्ने उदेश्य हो, तर समाज यसकै कारण अशान्तिमा पेलिएकोछ,
प्रेम र करुणाको मार्ग मानिएको धर्म, अब त कटुता, हिँसा र हत्याको औजार बनेकोछ,
धर्ममा धमिरा लागी धुजाधुजा भएकोछ, अब अधर्मी ‘धर्म’ फाली सत्य खोज्ने बेला भएछ।
