In Nepalese Language

जता हेर्यो उतै सबै नै जान्ने, अर्कोको बुझाइलाई कसैले नमान्ने,
आफ्नै मात्रै सधैं ठीक्क ठान्ने, अरु कसैलाई मान्छे नै पो नगन्ने;
अभिमानको लिङ्गो ठिङ्ग ठड्याउने, परजनको सातो उतार्ने,
तब दोभान कसरी भेट्टाउने र मिलन-बिन्दु कसरी फेला पार्ने?
—
शासक र अधिकारीवर्गको ध्याउन्न स्वजनलाई मात्र सपार्ने,
अरुको खाँचो र मुद्दा जति भएपनि नबुझे झैं गरी पर सार्ने;
अकर्मण्यताको आरोप लागेमा बहाना बनाई हाललाई टार्ने,
स्व-पोषक नीति बनाई आफैं डकार्ने, अरुको भने पेट बटार्ने।
—
भन्दामा समाज-सेवा गर्ने, प्रचारमा निर्धाको हालत खूब सुधार्ने,
दैनिकीमा आ-आफ्नै जागीर भर्ने, सुकिलो मगन्ते पेशा मुसार्ने;
गरीबलाई अल्छी र परजीवी पार्ने, मुख बुच्याउन कनिका छर्ने,
निर्धाको हालत झन तल झर्ने, सेवकको सम्पत्ति उकालो सर्ने।
—
शिक्षक, सुधारक, धर्मगुरु र अगुवाको त झन के नै कुरा गर्ने,
रोकटोक बिनाको पेशा र जागीरमा कसैको केही सुन्नु नपर्ने;
मनमौजी दैनिकी, स्वछन्द विचरण, सबैतिरबाट सम्मान सोहोर्ने,
व्याप्त अपराध, भ्रष्टता र नैतिक पतनको जिम्मेवारी कसले सकार्ने?
—
नीति नै अनैतिक, विधिको आधार नै अपराध, आड के को पर्ने?
अपराध रोक्नुपर्ने शासक नै अपराधी भए, पीडितले अब के गर्ने?
भेंडाको गोठालो ब्वाँसो बनेछ, ब्वाँसो मोज गर्ने, शिकार भेंडा मर्ने,
भ्रष्टाचारले ग्रस्त समाज शिथिल छ, के अझै पनि जाग्ने जमर्को नगर्ने?
