यो कर्मकाण्डी उत्सवलाई कतिसम्म घिसारिरहने?
बाहिरकालाई देखाउनलाई घरकालाई निचोरिरहने?
महामारीले संसारै मारिसक्यो, रुनेसित पनि नरुने?
भित्र खोक्रो भइसक्यौ, कसलाई देखाउन ध्वाँस दिने?
—
धर्म नै गर्ने भए आफू भन्दा कमजोरलाई उत्सव देऊ,
बाहिर देखाउन हैन, घरकाहरुको विश्रामको भेउ लेऊ,
खाई पिई मात्तिने हैन, नभएकासित बाँडेर खुशी देऊ,
देखावटिपनको स्वाङ छोड, आफ्नो हैसियतमा रमाऊ।
—
सबै धर्म-सम्प्रदायको ओंठे आलापमा स्वयंको सम्मान
सबैले चिच्याउने करुणा, क्षमादान र सद्भावको रटान,
कार्यमा भने गरिबको उछितो, धनीलाई मानको स्थान
अडिग छ यिनैमा कटुता, प्रतिशोध र अहमको चट्टान।
—
चर्को बोलीमा सबै नै भट्याउँदछन् वसुधैव कुटुम्बकम,
व्यवहारमा तिनैले चातुर्यसाथ पार्छन छिमेकीको झ्वाम,
दैव नै बनी सौम्य शिक्षा फलाक्छन् सत्य, शान्ति र प्रेम
पस्कन पर्दा आफूले चाहिं तीतो इख र कलहको भ्रम।