राज गर्नेले सुबुद्धिसित गरोस् र शासक सावधान रहून्,
शास्त्रको नीतिवचनको मनन गर्दै प्रदत्त शासन गरून्;
दुवै नै मालिकका कारिन्दा हुन्, कम्पसाथ उनैमा रहून्,
ईश-अभिषिक्तको कोपमा नडढून्, उनको शरण परून्।
—
मात्रा मिलाएर प्रयोग गरे शासकको शक्ति अमृत समान,
मात्रा लत्याएर मनमानी गरे त्यही अमृत नै बन्छ दुर्व्यसन;
प्रेम र सत्यमा आधारित शासन समाजको निम्ति वरदान,
शक्ति प्रयोगमा असन्तुलनले समाजमा क्रान्ति विस्फोटन।
—
स्वार्थी अधिकारीले लालचीको मनसायप्रति नै लालच लिन्छ,
आफ्नै फाइदाको लागि लालचीको सुझावमा सहमति दिन्छ;
समाजको खाँचो पन्छाएर आफ्नै फलिफापको मात्रै सम्झन्छ,
सोझाको शान्ति लुटेर लालचीको स्वार्थी सोचको साथी बन्छ।
—
भ्रष्ट अधिकारीका मति कुटिल, अभिमानी दृष्टि र घमण्डी मन,
छिमेकीको दिन पार्दै जटिल, छल-कपट र झूटमा बित्छ दिन;
ईशको न्यायमा टिक्दैनन् यी नीच, सबै काम खुल्नेछ त्यो दिन,
झट्टै नष्ट भै भेटिंदैनन् छिमेकी बीच, क्षणमा ती बन्ने शक्तिहीन।
—
शासनको आसन हो ईशको दान, बढाउन उनैको सृष्टिको शान,
न्यायको दिनमा खुल्नेछ प्रमाण – सबै झूटको हुने नै छ अवसान;
कहिलेसम्म गरिरहन्छौ अन्यायी र दुष्ट दुराचारीको पक्षपोषण?
दुर्बल अनाथको रक्षा गर, गरिब पीडितलाई देऊ न्याय दान।
—
त्यो अधिकारको स्थान ईश्वरको हो दान, सदैव यो सम्झना गर,
अहङ्कारको हुङ्कार होइन तर अबोध र दीनहरुको संरक्षण गर;
लेखा दिनु पर्नेछ जान, दम्भले दानव नबन शासक, होसियार !
घमण्डले दाता-दोहन गर्ने शासकको अवश्यम्भावी छ संहार।