निधारमा नाम्लो, आँत सधैं टुटेको
घाँटीमा दाम्लो, चाल अर्कैले लुटेको
चलहलमा अंकुसे, पीडाले पिटेको
रक्षक बनेकाले भक्षक बनी चुटेको।
—
उन्नतिको आशामा, ऋणको छ भार
मुक्तिको भाषा, भोगाइ दास-व्यवहार
मित्रलाई अधिकार, चोटिको भ्रष्टाचार
अधिकारको हुँकार, दब्यो जन-चीत्कार।
—
मत मंग्दा मित्र, मत सोरेपछि अन्यत्र
वाचा सबै झूट-पत्र, बदनाम लोकतन्त्र
ख्याउटे अब पुष्ट, लुटेर राष्ट्रिय संयन्त्र
कुन तन्त्र, के मन्त्र, जनजीवन अलपत्र।
—
अधिकारी आडम्बरी, कुर्सीमा लिसोसरी
एकल लक्ष स्वार्थसिद्धि, जनादेश रद्दीसरी
प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र, थरीथरी
जनादेश दिने जनता छलमा पर्यौं बेसरी।