सोझा झुक्याउने अगुवाले देखाए छली क्रान्ति
छलको बलमा भ्रम छरे फसलमा पाए भ्रान्ति।
छट्टु छिरे लुट-महल लिएर सोझाको जन्ती
महलभित्र भ्रष्टमति, जन्तीको भागमा क्लान्ति।
—–
लोभभरि होडबाजीमा बने ती ईर्श्याले आक्रान्त
ध्यान ध्याउन्न, सपना जपना खोस्ने अरुको प्रान्त।
सीप उद्यमको सोच र समझ मिल्काई कतै अन्त
मुखिया बनेर सोझा उक्साए मर्नलाईअद्योपान्त।
—–
वरिपरि जता हेर्यो त्यतै नै झुट र छलको ताँती
अधिकार पायो कि भ्रष्टाचार गर्छन् भलीभाँती।
नामले सेवक तर काममा शोषकको परिपाटी
संकोच बिना लुटेको माल हसुर्छन् चाटीचाटी।
—–
असल पक्ष हेर्न खोज्दा भेट्टाउन सारै गाह्रो छ,
खराब हेर्दै नहेरुँ भन्दा यही छ्यापछ्याप्ती छ।
सकारात्मक सोचुँ भन्यो नकारात्मक देखिन्छ,
उज्यालो कसरी भन्ने जहाँ बाक्लो अँध्यारो छ?
—–
लोक व्यवस्था र विधि भ्रमित पछुवापथमा छ,
शिक्षाको गतिविधि अर्कोको हारमा लक्षित छ।
साम्प्रदायिक धर्ममा अधर्मको क्रूर अट्टहास छ,
नारामा सद्भाव त व्यवहारमा उग्र भेदभाव छ।
—–
अगुवा, मुखिया,नेता, बिक्रेता, नाम जेसुकै होस्,
सेवक, हाकिम, कार्यकर्ता, उपाधि जे नै भिरोस्;
मन उसको भ्रष्ट भएमा लुक्दैन जति छल गरोस्,
यस्ता भ्रष्टलाई गरौं बहिष्कार सहनु जे जे परोस्।
—–
यिनको कुटिल छल स्वीकार गर्यौं केहि नजाँची,
लोभ, धम्की अघि सारी अझै मिच्छन् हाकाहाकी
अन्धभक्त बन्न छोडौं जाँचौं यिनको व्यवहार मति
भ्रष्टको बहिष्कार गरे मात्र हुन्छ समाजमा प्रगति।