विवेचना किञ्चित् नगरी आलोचनाको प्रहार गर्ने
नबुझीकनै बोल्नेको आफ्नै खुट्टामा बन्चरो झर्ने।
अल्छी बनी सोच्नै छोडे तीतो प्रतिफल बेहोर्न पर्ने
सुनी, सोची मनन गरे स्व-मनभित्र आनन्द फुर्ने।
—
‘मै हुँ’ भन्ने उग्र अहंकारी उफ्रे उफ्रे थ्याच्चिसके
नीच हुङ्कारको अँगार छर्ने तिनै रापले जलिसके।
शिष्टतालाई लाचारी ठान्ने अशिष्ट आफैं ढलिसके
सभ्य समाज बन्न सक्छ स्वच्छ सोचमा बढ्नसके।
—
बोल्ने हक छ भन्दैमा विष वमनका शब्द नबोलौं
बोल्नेले अशिष्ट बोलीरहे सुन्नेले ध्यानै दिन छोडौं।
बोल्नेको मुख थुन्न सकिन्न सक्ने काममा लागीपरौं
उसलाई सुधार्न हेतु यस्तो वाचक बहिष्कार गरौं।
—
अहंकारले अन्धो मान्छेले सबैलाई सिकाउन खोज्छ
सर्वज्ञाता बनेको सोच्दै सिक्ने केही नै छैन सोच्छ।
झुक्न टार्ने यस्तो व्यक्ति सानै ठेसमा विनाश भोग्छ
बोली जहाँ अशिष्ट छ, जानौं त्यहाँ सोच नै दुषित छ।
—
अनेकन वाद र तन्त्र, विभिन्न सपना देखाउने टाँसो
कथित अधिकारको लोभमा पार्ने बर्बादीको पासो।
अतृप्तिको आक्रोश अशिष्ट आलापमा व्यक्त चासो
समाजमा छताछुल्ल देखिन्छ निकृष्ट बोलीको मेसो।