भ्रष्टभावले मतिमा क्षति भएकाले नीतिको गति जब हडप्छन्
विधि र विधान दुष्टताको परिधानको परिधिभित्र खुम्चिन्छन्।
—
शास्त्रको वस्त्र भित्र लुकेर नि:शस्त्रलाई त्रस्त पार्ने बहुजन
आफ्नै भयग्रस्त मन निर्वस्त्र भएको हेक्का हराउँदारहेछन्।
—
धन पुज्ने समाजले जन पिर्ने काज गरी परधन कप्लक्क पार्छ
गोडा मोलेर होस् वा खप्पर तोडेर, अरुको सम्पत्ति डकार्छ।
—
नीतिवचन कण्ठ पोख्त, धर्मसंस्कार गरी नथाक्ने, चिनारी छ
तैपनि नीति-विधि, धर्म-कर्म, सबै भन्दा माथि धन नै भारी छ।
—
युगौंदेखिको मन्त्र र श्लोक, ठेली मा ठेली शास्त्र र ग्रन्थ बोकी
धन ध्याउन्नमै बाँच्ने भए, के लाभ छ ती श्लोक र शास्त्र घोकी?