बेथा छ चर्को

हन्तकालीले खाई खाली गरेको थालीको हालत हुँदैछ यो देश नेपालीको। 

जाली फटाहाले रखवाली गरेको फलको खाली डाली भागमा सन्ततिको।

विदेशीको आलीमा हाम फाली उसैको गालीमा नाच्ने बने युवाको लर्को। 

भ्रष्ट शासकवर्गको भोक र भोगमा सिनित्तै सखाप हुँदैछ सम्पत्ति घरको।  

—-

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका विविध मन्त्र केवल बने सपनाको सप्को। 

सत्र सहस्र युवा अनाहकमा मरे स्वीकार्दै भ्रान्तिपूर्ण क्रान्तिकोअग्नि लप्को।

उन्नति प्रगति विकास निकास कति थिए स्वप्निल आश तर सर्वत्र छ निराश।

केवल प्रष्ट देखिन्छ भ्रष्ट शासकवर्गको भोग विलासमा ज्यामितीय विकास। 

—-

गोर्खालीको चर्को जोसअघि फिरंगी सेना त्रासमा लास भई हारेको इतिहास। 

ज्यानको जोखिम मोली कर्तब्य पालना गर्ने जोस देखी फिरंगी लोभिए खास। 

बलिया र जोसिला गोर्खाली युवा खोजी पठाए मर्नलाई मलाया, लाहुर प्रवास।  

आजपनि यहाँका जवान ज्यान फाली जान्छन् विदेश, बन्नलाई तिनैको दास।

—-

वसुधैव कुटुम्बकमको गौरवमय नारामा गरे भूमिसुसारे पुर्खाले बन्धुत्व पुकार। 

कुटुम्ब संहारको यस्तो जटिल रोगले कसरी गाँज्यो यस पुस्ताको सोच विचार?

मानवताविहीन बनी आफैं जस्ता कलिला युवाको ज्यानमा गर्ने पाशविक प्रहार

आत्मग्लानिले चूरचूर हुनुपर्नेमा क्रूर गर्वले फुरफुर गर्ने घुसेछ खुङ्खार संस्कार?

—-

विदेशीको सीमा रक्षामा व्यस्त देशका जवान, तिनै विदेशी लुट्दै स्वदेशको सीमा। 

भाषा, भेष, संस्कार, परिवेश, सुर, सङ्गीत, सम्पूर्ण थोपरे विदेशीले तिनकै मर्जीमा। 

लुटे हाम्रा युवाका मौलिक संस्कार र परिवार प्यार, सुर्‍याउँदै आपसी होडबाजीमा। 

युवा उर्जालाई विदेशमुखी बनाएर, रजाईं गर्छन ती विदेशी, यो देश लुट्ने खोजीमा।     

—-

दायाँ बायाँ केही नहेरी भङ्गालोमा हाम फाल्ने नेपाली युवाको एकोहोरो जोस। 

विदेशी मालिक पोस्न दास मानसिकतामा स्वाभिमान गुमाएको बुझी गरी होस,

अब हे नेपाली युवा, तिम्रो कलकलाउँदो जवानीको उर्जारस अर्काले नचुसोस। 

आफ्नै घर आँगनमा प्रशस्त छ सम्पत्ति श्रोत, युवाको मनमा देशप्रेम त फुरोस। 

—-

हे नपाली युवा गर अब होस, देशमा व्याप्त व्यथाको रोषले तिम्रो चेत खुलोस्,

भ्रष्ट शासननीतिमा युवाशक्तिको बाढीले सिनित्त पार्न तिमीमा छ उर्जा र जोस। 

विकासको गतिमा प्रगति भित्र्याउनलाई आवश्यक बन्छ सक्रियता तिम्रो ठोस,

जाँगरिला र सक्षम सन्ततिको सामीप्यले परिवार र समाजमा उल्लास फुलोस।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s