भ्रातृप्रेमको छ ट्याग टाँसेको
धर्म नामले छ समाज मासेको
कृपाको भेषमा क्रोध हाँसेको
धर्म-विषले समाज यो डसेको।
—
धनीले स्व-धर्मको नाच नाचेको
गरिबप्रति बल्ल सिन्को भाँचेको
भेटीमा गरिबको सुको साँचेको
धनपरस्त भई अब धर्म बाँचेको।
—
सिद्धान्त र शिक्षामा प्रेम बखान
जात, वर्ण र वर्गको सदैव ध्यान
बोलीमा मेल त व्यवहारमा झेल
धर्म बनेछ फूट फैलाउने खेल।
—
यसको मन्दिर त उसको बुर्जा
उसको गुम्बा त त्यसको गिर्जा
धर्मले थमाएको बेमेलको पुर्जा
गुटगत द्वन्दमा नै लुटायो उर्जा।
—
ईश्वर गुरु छन् हरेकजनको इष्ट
धर्मको नजरमा अरु सकल दुष्ट
धर्मले ईश्वरलाई दर्शायो क्लिष्ट
ईशको नाउँमा धर्म भो’ बलिष्ठ।
—
ईश्वरको रचना हो समस्त सृष्टि
धर्म स्थापना त नश्वरको कुदृष्टि
धर्मले गरे आ-आफ्नै ईश तुष्टि
ईश्वर लुकाइए धर्म भो’ प्रविष्टि।
—
सृष्टिको उदेश्य सहअस्तित्वपक्ष
कर्ताको बुझिन्छ प्रष्ट छ यो लक्ष
धर्मले रोपिदिए द्वन्द र वैमनस्य
द्वन्द रोपेपछि फल्दैन सौमनस्य।
—
निल्नु न ओकल्नु बनेकोछ धर्म
गर्जन्छ मिचेर सृष्टिको लक्ष मर्म
ईश्वरको मान खोस्ने गर्दै दुष्कर्म
जानाजानी धर्मको नपोसौं चर्म।
—
तपाईं धर्मभीरु कि ईश्वरभक्त मित्र?
द्वन्द अक्षेम कि एकता प्रेमको चित्र?
डरको कर कि शान्ति सौम्य चरित्र?
धर्म-बन्धन कि ईश्वरको प्रेम पवित्र?