आस्थाको वास्ता

विज्ञको ज्ञान भनी विज्ञान सकार्दा 

अनभिज्ञको अज्ञानले लगायो पर्दा, 

दृश्य प्रमाणमा एकतर्फी भर गर्दा 

भ्रमले छोप्यो अध्यात्म नस्वीकार्दा। 

दृश्य भन्दा अदृश्यलोक विशाल छ

मन, विवेक, भावको बढी चाल छ,

विज्ञानमा केवल भौतिक पहल छ

जगमा अभौतिकको ठूलो बल छ।

सृष्टिमा अगम्य वस्तु तथा विधि थान

भण्डारबाट खोजेर झिक्दछ विज्ञान

सृष्टि-ज्ञान त केवल ईशमा विद्यमान

बुझ्नै नचाहनेलाई के ज्ञान के विज्ञान।

जान्दिन म

In Nepalese Language

“जान्दिन म परमेश्वरले प्रेम किन गर्नुभो, वा ख्रीष्टले किन बचाए अयोग्य प्राण मेरो”

यदि कसैले मलाइ प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने कारण सोधे भने मैले दिन सक्ने साँचो उत्तर यति मात्र हो कि म जान्दिन। कति मित्रहरुले जिज्ञासा राख्दछन् कि मैले प्रभुलाई कसरी पाएँ, यसको उत्तर दिन खोज्दा पनि मलाई असमन्जस हुन्छ किनभने प्रभुलाई मैले खोजेर पाएको भन्ने केहि मलाई थाहै छैन। मैले भन्न सक्ने त यति मात्रै हो कि परमेश्वरले हाम्रो परिवारलाई यस्तो अवस्थाहरु बाट भएर जान दिनुभयो, जुन अवस्थाहरुको कारण नै मैले प्रभु येशूको बारेमा सुन्न पाएँ, जान्न पाएँ र उहाँलाई मेरो प्रभु स्विकार्न पाएँ। यसमा मैले गरेको भन्न सक्ने केहि पनि देख्दिन, सबै त परमेश्वरले नै गर्नुभएकोछ। 

मेरो जन्म नुवाकोट जिल्लाको बुधसिंग गाउँ पंचायतमा रहेको मेरो मावल, ढोड़ गाउँमा भएको रहेछ। बालाई कुष्ठ रोग भएकोले गर्दा घरदेखि टाड़ो रहेर लामो समयको उपचार गर्नु पर्ने हुँदा, मलाई हुर्काउने जिम्मा एक्लो आमालाई परेछ। 

म छ: वर्षको हुँदा बा पहाड़मा हामीकहाँ आएर, घर बाहिरै उभिएर, आफूले इसाई धर्म अंगालेको घोषणा गर्नुभएछ। जजमानी गरिहिड़ने पण्डित खलकका मेरो मावली हजुरबा र छ: भाई मामा परिवारले यो घोषणालाई कस्तो प्रतिक्रियाद्वारा स्वागत गरे भन्ने कुरा त मलाई थाहा छैन, तर आमाको प्रतिक्रिया चाहिं परमेश्वरद्वारा उत्प्रेरित थियो भन्ने कुरा मैले धेरै पछि, प्रभुले देखाउनुभए पश्चात मात्रै, थाहा पाएँ। बा अब उनीहरुको निम्ति “पानि नचल्ने” भएको कारणले आमालाई नै निर्णय गर्ने छुट दिएर भन्नु भएछ कि उहाँलाई साथ दिएर कालेम्पोंग जाने वा त्यसो नगरी माइतीमा नै बसिरहने। ढोड गाऊँमा हाम्रो आफ्नै घर र खेत-बारी थिए, अहिले सम्म आमा एक्लैले राम्रै गुजारा चलाइराख्नु भएकैथियो। तर पनि आमाले निर्णय लिनुभएछ कि आफ्ना बा र दाइहरुले असल मानेर सुम्पिदिएको खसम कै पछि लागेर जान्छु भनेर। त्यसपछि छोरो काखी च्यापेर, बाको पछि-पछि, उहाँको उपचार भईरहेको शहर कलेम्पोंगमा आमा पुग्नुभयो। 

कालेम्पोंगको ठूलो गिर्जामा विधिवत् बप्तिस्मा लिएर हामी त्यस गिर्जाका सदस्य इसाई बन्यौं। छ: वर्षको त्यो उमेरमा यो कुराले कुनै बदलाव ल्याएको मलाई ज्ञात छैन, यति हो कि बाले हामीलाई भन्नुभए अनुसार, टीको-टालो र चढाएको प्रशाददेखि परै रहने र हरेक साता गिर्जा जाने कुरा चाहिं सिक्यौं।   

कालेम्पोंगमा हामीलाई मिसन कम्पाउण्डभित्रै बस्ने बन्दोबस्त थियो। त्यहाँ बस्दा म नबिराइकन साप्ताहिक सण्डे-स्कूल जाने गर्थें। अच्चचीमा गुरुआमाको हँसीलो, मायालु व्यवहार तथा टाँसी सर् को सैनिक अनुभवका रोचक कथाहरुले सण्डे-स्कूलका कक्षाहरुलाई अती आकार्षक बनाउँथे। मिसन कम्पाउण्डबाट बाहिरिएर, निकै टाड़ोको बस्तीमा सरेपछि चाहिं गिर्जा र सण्डे-स्कूल पनि टाड़ियो। बेला-बेलामा बाले सुनाउनुहुने बाइबलका कथाहरु र स्कूलको बाइबल पिरियडमा सुनाइने कुराहरु नै इसाई शिक्षाको श्रोत थिए। 

बसाईं-सराई को क्रममा, त्रिपाइको रोंगोंग परिवारको गोठमा अदियाँ बस्न आएपछि चाहिं अलि बढी बाइबलीय शिक्षा प्राप्त हुनथाल्यो। त्यहाँ वरिपरिका केटाकेटीहरुलाई भेला गरेर सारा गुरुआमा र जितेन दाजुले सिकाउनु हुन्थ्यो। मलाई रोंगोंग परिवारका सबैजना शिक्षित, स्वस्थ, सुन्दर र असल व्यवहार भएकाहरु जस्तो लाग्दथियो अनि उहाँहरुको रहन-सहनद्वारा म धेरै प्रभावित थिएँ। परमेश्वरको आशिषले नै यो सबै राम्रो भएको हो भनेर रोंगोंगनी आमाले भन्नुहुँदा मलाई लाग्थ्यो कि परमेश्वर असल हुनुहुँदोरहेछ। 

त्रिपाइबाट सरेर, मिसन कम्पाउण्डसंगै जोडिएको, स्विट कम्पाउण्डमा बस्न थालेपछि भने गिर्जा तथा अरु सम्बन्धित भेलाहरुमा सामेल हुन सहज भयो। उमेर निकै बढिसकेकोले, म अब सण्डे-स्कूलको सट्टा जवानहरु भेला हुने सी.ई. (Christian Endeavour) मा सामेल हुनथालें। थुप्रै दाजु-दिदी अनि सरहरुले सी.ई. को अगुवाई गर्दै शिक्षा दिनुहुन्थ्यो। टि.डी. दाजुले सी.ई. मा सच्चाईको बारेमा बाइबलबाट सिकाउँदा, कुनैपनि क्षणिक फाईदा हुन्छ भन्दैमा सानोतिनो झूठ बोल्ने बानी छ भने, त्यस्तो बानी छोडिहाल्नु पर्छ भनेर दिनुभएको शिक्षाले मलाई जीवन पर्यन्त रहनेगरी सत्यको सिद्धान्त सिकायो। रोइरहेको नानी फुल्याउन नसकेर ढोका बाहिर नभएको स्याललाई ‘छ’ भन्दै फुल्याउने बानीको उहाँले उदाहरण दिनुभएकोथियो। 

त्यो बेला ठूलो गिर्जाको अगुवाई वयोवृद्ध आदरणीय पास्टर तार्गेनले गर्नुहुन्थ्यो। हाम्रो बप्तिस्मा पनि उहाँले नै दिनुभएको रहेछ। उहाँ अतिरिक्त वचनको शिक्षा दिनेहरुमा पास्टर मोलोमु, मिकाहांग सर, इडेन सर, लामा बाबु, अधिकारी बाबु, बि.सी. सर, यिनै नाऊँहरु सम्झानामा छन्। 

म १४ वर्षको हुँदा बा प्रभुमा सुत्नुभयो। बाको बिदाईको केहि समय पछि हामी नौ माइलमा रहेको साल्वेसन आर्मीले संचालन गरेको ब्लाइण्ड स्कूलको परिसरमा बस्न पुग्यौं। आमाले त्यहीं काम गर्न थाल्नुभएकोथियो। त्यहाँ मलाई निकै राम्रो आत्मिकी वातावरण प्राप्त भयो। विभिन्न प्रकारका इसाई कार्यक्रमहरुमा सहभागी हुने अवसर पाइरहें, जसद्वारा इसाई जीवनको निम्ति आवश्यक शिक्षा र सिद्धान्तहरु जान्ने मौका पाउँदैरहें अनि यस्ता कुराहरुमा रुची पनि बढ्दै गयो। 

मेरो स्कूले जीवनको अन्ततिर कालेम्पोंगको टाउन हलमा केहि दिनसम्म सुसमाचारीय सभा आयोजना गरिएको थियो। ब्लाइण्ड स्कूलका दाजुहरुले उनीहरुलाई डोर्याएर त्यो सभामा जाइदिन मलाई अनुरोध गरे अनि म त्यहाँ गएर सहभागी भएँ। पापको पश्चाताप गरेर येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाता स्विकार्दै नयाँ जन्म प्राप्त गरेर मात्र सृष्टिकर्ता परमेश्वरले योजना गर्नुभएको पूर्ण जीवन यापन गर्न सम्भव रहेको तथ्य बाइबलबाट देखाउंदै प्रचारकाले ति सभाहरुमा शिक्षा दिनुभएकोथियो। यो शिक्षाले मलाई गहिरो गरी छोयो अनि मनमनै प्रार्थनामा आफ्ना सबै पापको क्षमा मांग्दै येशू ख्रीष्टलाई मेरो मुक्तिदाता र प्रभु भनी स्विकार गरें। त्यो बेला मैले हृदयमा ठूलो हलुकोपन र मनमा गहिरो शान्तिको अनुभूति पाएँ। 

कलेजको अद्धयन गर्नलाई पंजाब पुग्दा पनि इसाई वातावरणले प्रभु येशूको नजीकै रहन सहयोग गरिरह्यो। तर पनि मेरो पश्चातापको प्रार्थनाको सुनवाई भएको निश्चयता मैले पाउन सकेको थिईन। कलेज पछिको उच्च शिक्षाको क्रममा त इसाई जीवनको बढोत्तरी ठप्प जस्तै रह्यो। त्यसपछि नयाँ नयाँ शुरु गरेको कामको चटारो र व्यस्तताले गर्दा निकै वर्ष सम्म प्रभु येशूसंगको सामिप्यमा कुनै प्रगति हुन सकेन। तर पनि प्रभुसँग नजिकिने चाहनाको तृष्णाले भने कहिल्यै छोडेन।     

म परमेश्वरसंग प्रार्थना गरिनै रहन्थें, विशेष गरी केहि निराशाको अवस्था वा भौतिक कष्टको बेलामा धेरै समय प्रार्थनामा बित्दथियो। मैले गरेका प्रर्थनाहरुको सुनवाईको निश्चयाताले भने धेरै समय सम्म मसंग लुकामारी खेलिरह्यो। यस्तैमा परमेश्वरले उहाँको कुनै सेवकद्वारा रोमी १०:९ र १ यूहन्ना १:९ बाट शिक्षा दिएर, पक्का निश्चयता साथ मलाई शंकाको भारीबाट छुटकारा दिनुभयो। परमेश्वरले येशूलाई मरेकाहरुबाट जीवित पार्नुभयो भनी हृदयमा विश्वास गरेर धेरै पल्ट नै आफ्नो पाप मानिलिएर येशूलाई आफ्नो जीवनको प्रभु भनेर स्वीकार गरेको थिएँ। त्यसोभए परमेश्वरको विश्वासयोग्यता र धार्मिकताको आधारमा मेरो पाप क्षमा गरिएको र सबै अधर्मबाट शुद्ध पारिएको निश्चयता यो शिक्षाले मलाई पक्का गरी प्रदान गर्यो। त्यो दिन परमेश्वरलाई धन्यवाद चढ़ाए पछी मलाई मेरो मुक्ती प्रति कुनै शंका रहेन। पछी गएर यूहन्ना ६:३७ मा “मकहाँ आउनेलाई कुनै रीतिले म त्याग्नेछैनँ” भन्ने प्रभु येशूको दरीलो प्रतिज्ञाले त मेरो यो निश्चयतालाई अझ पक्का गरी स्थापित गरिदियो। 

आज फर्केर हेर्दा यो एउटा कुरा पक्का गरी देख्छु कि बाको कुष्ठ रोग हाम्रो परिवारको निम्ती कुनै श्राप नभएर हामी सबैलाई जीवनको बाटो चिनाउने ठूलो आशिषको कारण बन्यो। साथै, माईतीमा सबै सुविधा छँदाछँदै पनि, आमाले बाको पछी लागेर त्यो कष्टको बाटो रोज्नुमा पनि परमेश्वरकै अगुवाई देख्दछु। किनकि यदि म पहाड़मा नै रहेर सुखमा हुर्केको भए, सम्भवत: पण्डित मामाहरुको शिक्षा र सिकोमा, जजमानी गर्दै हिड्ने एउटा व्यस्त र सफल पुरोहित बन्ने थिएँ – सत्य जीवनको बाटो देखि धेरै टाड़ो। अवश्य पनि बालाई रोगले धेरै कष्ट दियो, आमालाई एक्लै परिवारको देखरेख गर्न र चार-चार सन्तान हुर्काउन साह्रै नै गाह्रो भयो, पारम्परिक परिवार र समाजबाट छी-छी, दूर-दूर सहनु पर्यो, तर यी सबै अवस्थालाई प्रयोग गरेर परमेश्वरले हामीलाई सत्य जीवनको बाटोमा डोर्याउनु भयो। यस्तो अचम्भको कृपा गर्ने परमेश्वरलाई सदैव धन्यवाद। 

प्रभु येशू ख्रीष्टमा साँचो सृष्टिकर्ता परमेश्वरलाई चिन्न पाएको अवस्थालाई नियाल्दा, मैले आफूले गरेको भन्नलाई केही पनि देख्दिन। मैले साँचो परमेश्वरको खोजी गरेको भन्नलाई पनि मसित केही छैन। सबै अवस्थाहरु अनुकूल पारेर, मेरो मनमा उहाँ प्रतिको चाहना जगाउने काम पनि परमेश्वरले नै गर्नुभएको देख्दछु। उहाँले नै आफ्नो कृपा र अनुग्रहमा मलाई अनन्त जीवनको बाटोमा ल्याउनुभयो र डोर्याउँदै हुनुहुन्छ। 

अब परमेश्वर पिताको शासनमा र उहाँको आत्माको अगुवाईमा यो जीवन जिउंदैछु भन्दैमा म सिद्ध भैसकें र पाप नै गर्दिन भन्ने चाहिं पटक्कै होइन रहेछ। बरु अहिले सम्म पाप भनेर नचिनिएका मेरो जीवनका धेरै पक्षहरुलाई परमेश्वरको आत्माले उहाँको वचनद्वारा दिनदिनै चिनाइदिनुहुन्छ, र त्यसरी प्रायश्चितको अवसर दिएर उहाँको अनुग्रह अझ थपिदिनुहुन्छ। यस्तो महान अनुग्रहको काम गर्नुहुने परमेश्वर पितालाई, कृतज्ञतापूर्ण मन लिएर, प्रभु येशू ख्रिष्टको नाऊँमा सधैं प्रशंसा दण्डवत् गर्दछु।