बुद्धि-वीर नेपाली

विद्वान मूर्खहरुको उत्पादन गर्ने शिक्षा प्रणाली, 

सन्तानलाई सम्पन्न दु:खी बनाउने अभिभावकीय होडबाजी, 

दुरुस्तलाई सिकिस्त पार्ने व्यापारी स्वास्थ्य संरचना, 

गरीबीको निरन्तरता टुट्नै नदिने जागिरमुखी सामाजिक संस्थाहरु,

वसुधैव कुटुम्बकमको नाराले समाज भाँड्ने ठेकेदार धर्मगुटहरु, 

सिंहासनको भारमुनि जनता पिस्ने प्रजाभ्रान्तिक शासन पद्धति,

जनसेवाको धज्जी उडाइरहेका द्रव्यपिपासु साँढेहरुको प्रशासनिक चक्रव्यूह, 

आग्रह र अनुग्रहको ठिंगुरोमा आफैं जकडिएको बन्दी न्याय प्रणाली,

स्वतन्त्रताको दासत्वमा बँधुवा रहेको त्रसित जन-दैनिकी,

सुष्क भोटर सधैं ख्याउटे, धुपौरे जनप्रतिनिधि भने पुट्ट पुष्ट घैंटे,

राजनीतिको साटो छलनीति, बलनीति, बहानानीति र ठाडो डकैती;   

यही हो त हामीलाई सपनामा देखाइएको नयाँ नेपाल?

त्रास, अपहरण, हत्या र जंगलराजको बाटो आएका डाकालाई कसरी नेता भनिएछ?

दुष्ट डाकाहरुको कर्तुत छर्लङ्ग देखिसकेर पनि, यिनीहरुलाई सहने मात्रै होइन 

अझ पूजा नै गरेर सिंहासनमा राखेर अन्धभक्त बनी जयजयकार गरिरहने?

हामी नेपाली कति मजबुर, भ्रष्टभक्त अन्धो, बहिरो, कुँजो, लाछी, हुतीहारा ‘वीर’ रहेछौं त? 

हामी वीर नेपालीको कातर वीरतालाई मान्नै पर्छ, 

आफूलाई लाछेर, ताछेर, पाछेर, अरुलाई बनाउने वीर हामी,

संसारले गजब हेपेर मानेकै छ – स्वदेश-मारा परदेश-प्यारा मगन्ते वीर भनेर।     

हे उर्जावान जवान नेपाली, तिम्रो अस्तित्व खतरामा छ, 

यही चाल रहिरहे चिनारी नै लोप हुने साइत निश्चित छ,

खुकुरी र बन्दुकको वीरताको अवसान भइसक्यो, 

बुद्धिमा वीर बन्ने दरकार छ, अनि बौरिने हतार छ। 

अब त जुर्मुराऊ जाग, भ्रष्ट प्रणालीमा प्रहार दाग, 

छली नेताको जुठेन त्याग, सन्ततिको खातिर बुद्धिको बाटो लाग।