शुभ दिन भित्र्याउने शुभ प्रभात

In Nepalese Language

शुभ दिनको संकेत दिने यो मिरमिरे प्रहर

न्यानोपनको आकांक्षा बोकेको मानवीय रहर; 

हरेक पाइलाले पालन गरोस् दैवी ठहर 

छेऊ पर्न नपाओस् दानवीय कहर; 

दैवले जुटाउन आज यस्तो अवसर 

आफूभन्दा बिपन्नको बन्न पाउँ केही भर।

दिनको छनकले दोलो भयो रातको हुंकार

उज्यालोको बहिर्गमन नै रहेछ अँध्यारोको रास

आँखा चिम्ले अन्धकार, खोल्नासाथ छर्लंङ्ग दिशा चार   

समाजबाट यसै रितले अलप होस् भ्रष्ट्राचार। 

आक्रान्त नागरिकको थकावटपूर्ण चित्कार 

सुनिदेओस सरकार, व्यवहारमा होस् सदाचार।

गाउँ र शहर भरी विपदाको भौतिक मार,

डर, त्रास र तनावले मनोबलमा प्रहार;

व्यवस्थापनको अक्षमतामा बाटो बिराएको सरकार,

अधिकारको अहंकारमा शक्तिकेन्द्र छ खुंखार;

धेर अबेर भइसक्यो, जाग, अब त नथप बिगार,  

देशमा सुशासन छाओस्, जनमा उज्यालो मुहार। 

यता अमृत नहर, उता जहर कहर

In Nepalese Language

शहर शहर व्याप्त विध्वंस लहर,

लोभको व्यापार, सेवामा लाचार,

प्रकृति नाश साटोमा दैवी कहर,

विदेश मोहमा घर देश खण्डहर। 

लोभीको रहरमा सम्पत्तिको घर,

चोर्न, ठग्न, तत्पर बिना कुनै डर,

लुट्नलाई हत्या गर्न पनि निडर,

लोभीको हुंकार प्रकृतिमा प्रहार।

चोरको घूसमा सरकार लाचार,

प्राकृतिक श्रोतमाथि बलात्कार,

सरकार निरीह, डाँका खुङ्खार,

श्रोत र सम्पत्ति जति सिमाना पार। 

विदेशको मारमा यहाँको सरकार,

यार भन्दै गर्दछन् विचारमा प्रहार,

सार सोरेर छोक्रा दिन्छन् उपहार,

भन्दै नमस्कार, घोप्छन् छुरा धार। 

व्यक्ति, विचार, संस्कृती, संस्कार,

बोली, वस्त्र, श्रव्य-दृश्यका प्रकार,

मौलिकता माथि छ लगातार प्रहार, 

नैतिकता विरानो भो’ लुप्त सदाचार। 

विदेश मोहले स्वाभिमानमा विकार, 

ज्ञानीका सन्तान हीनबोधको शिकार,

अन्तर्ज्ञान खोज्नेलाई यहीँ श्रोत अपार,

सम्पत्ति र शान्तिको यहीँ छ भण्डार।  

अमूल्य युवा उर्जाले विदेश झलमल्ल,

उर्जावान युवाको घर र देश रनभुल्ल,

विदेशीको दास बनेर युवा अलमल्ल,

त्यो पसिना यतै पोखे फल्छ असरल्ल। 

 —

युवाको जीविकामा, विदेशी छर्छ कनिका,

कोस्दै सोस्ने सय, दिने बल्ल एक फिक्का,

स्वाभिमान नाश, अस्मिताको छैन हेक्का, 

परिवार प्रेम पराई, यौवन अरुको ठेक्का।

वाचा जन-पोषक, बने जन-शोषक

In Nepalese Language

पट्यारलाग्ने ‘टार’ समाचार जनता पेल्ने छल्ने व्यापार,

बालुवाटार, खुमलटार, मण्डिखाटार, गोठाटार, अपार,

देशलाई चुस्ने आर्थिक भार, जनता माथि करको प्रहार,

नाममा जननेता, काममा जन-बिक्रेता, जनता लाचार।

सके फकाउने अनि लोभ्याउने, अझै नबने धम्क्याउने, 

टुक्र्याउने, जोडाउने, तन्काउने, मनाउने, मिल्क्याउने,

लूटमा सबै एकजुट, गुटमा फुटाउने, जनता जिल्याउने, 

कुटे झैं र रोए झैं, नाटकमा गरे झैं, लक्ष जन लठ्याउने। 

सम्पत्ति कुम्ल्याउने कसरत, कुर्सीमा टाँसिने जसै गरी,

बैठक, छलफल, वार्ता, अनेक अनेक थरीथरी घरीघरी,

नेताको लक्ष निष्कर्ष नाइँ, काल टार्ने बहाना हो जसैगरी,

जनताको आस चाँडो निकास, नेताको सत्तालिप्सा सधैंभरी।

नागरिकले नेता चुने, सुशासन, संमृद्धि, शान्तिको आसमा,

चुनिएकाले बिर्से जनता र वाचा, शासन र सुखको दम्भमा,

देशभक्ति र जनसेवा वाचा, चतुरको धोखा बुझियो काममा,

जन-पोषकको वाचा दिनेले गिरायो आफ्नै जनलाई दासमा। 

प्रश्न परिवेश

In Nepalese Language

(१)

प्रश्नहरु गरी नै रहौं – आफैंलाई र अरुलाई, 

केहि न केहि त पाइन्छ नै – सत्य जान्नलाई। 

(२)

प्रश्न गर्नु सद्गुण हो, सत्यमा पक्का हुनलाई,

सत्य तथ्य जरुरी छ, समाजमा सेवा गर्नलाई।

(३)

प्रश्न सोध्नु शंका होइन, बाटो हो सत्य जान्नलाई,

सत् ईश चिने चिनिन्छ, बाटो, सत्य र जीवनलाई।   

(४)   

सोधी सत्य छेउ पुगे, शान्ति मिल्छ मनलाई,

सत्य सो संचार गरे, सेवा पुग्छ छिमेकीलाई। 

(५)  

सोधी, सुनी, सोची, कसरत गर्ने स्व-मनलाई,

उपलब्धिले उत्साह दिन्छ अरु सत्य खोज्नलाई। 

(६)  

अथाह सत्य भण्डार छ, सोध्ने, खोज्ने जिज्ञासुलाई,

दिइन्छ र उघारिन्छ, खोज्ने र ढकढक्याउनेलाई। 

(७)  

नसोध्ने निराश पछुताउँछ, सत्यको सुइँको नपाई,

सोध्ने खोज्ने फट्को मार्छ, ज्ञानको सत्यानन्द पाई।

(८)

सोध्नेको अन्योल चिरिन्छ, सत्यमा चित्तानन्द पाई,

सत्यले स्वतन्त्र गराउँछ, भ्रमबाट मुक्ति दिलाई। 

(९)  

जिज्ञासुले सधैं सोध्छ, प्रशन्न बन्छ गुणी ज्ञान पाई,

नखोज्ने चाहिं पछि पर्छ, सत्य ज्ञानको बाटो बिराई।

(१०)  

सोध्नेलाई उपलब्ध छ, सृष्टिको सार रहश्य खुलाई,

नसोध्ने चाहिं लम्पट बन्छ, सत्य ज्ञानको भेउ नपाई।

(११)  

सोध्नु, सिक्नु नम्रता हो, घमण्डी झुक्दैन सोध्नलाई,

नम्रतामा कृपा प्राप्ति छ, अहंकारीलाई यही पराई।

(१२)

अहंकारी अल्पज्ञानमा, सोच्दछ सर्वज्ञानी स्वयंलाई,

अल्पज्ञान अज्ञानता हो, सक्दैन मान्न यो यथार्थलाई।  

(१३)

नसोध्ने, नखोज्नेले, पाउंदैन केही, जान्छ आफैं बिलाइ,

जिज्ञासासित संगत गर्न, खाँचो छ समाजमा सबैलाई।

(१४)    

जन्मिदै कसैले जानेको हुँदैन, सिक्न पर्छ जान्नलाई,

नजान्नु कुनै अपराध होइन, सोध्न नै पर्छ सिक्नलाई।

(१५) 

झुकेर सोध्नेले प्रशस्त सिक्छ, बाँच्छ सधैं रमाई रमाई,

अकडमा सोध्न हिचकिचाउने, पछि पर्छ समझै नपाई।

प्रचारमुखी जागिरे परोपकार

वारी-पारी विचारी स्व-पेशा प्रचारी 

चतूर अहंकारी मन-मान मुसारी

आफैंलाई देखाउंदै खूब परोपकारी   

भरी भुत्तो नीच आडम्बरी भकारी 

घस्रिन्छन् घिसार्दै चतुर्‍याईंको भारी। 

फेलापारी दयालु दाता मनकारी

फेरि खोज्छन् गरीब चारै दिशा चारी 

भाइलाई बनाई मगन्ते भोको भिखारी 

पुरानो कार्ययोजना केरी कोरी सपारी

समाल्छन् आफ्नै जागिर पर-सम्पत्ती सकारी।   

पोष्ट्याई चिटीक्क फोटा बग्रेल्ती थुपारी 

प्रापक केही देखिन्छन् निन्याउरा मुखधारी 

प्रदायक प्रशस्तै छन् हँसिला पूष्ट बलधारी 

सोरेको सम्पत्ती छरेर सजीलै कनिकासरी

पस्कनछन् विज्ञापन उदेश्य आफ्नै पो चिनारी। 

फोटाले मोटा प्रतिवेदन चिटिक्क तयारी 

फोटोको भोटोले खोटो पाटो सुटुक्क सिङ्गारी 

दूरको दाता बबुरो बन्छ चतूरको मतियारी 

छिट्टै अर्को चर्को विपदाको सपना नयनभरी 

बोकी हिंड्छ आतुर चतूर स्व-नाम अघीसारी।

कार विचार

In Nepalese Language

शीर्षकमा ‘कार’ देखेर नजर यता सार्ने सुरसारमा रहनुभएका यारहरुलाई धोका नहोस् भनेर शुरुमा नै स्पष्ट पार्न चाहन्छु कि यहाँ सडकमा सरर गुडने मोटर कार वा पानीमा सलल बग्ने वाटर कार वा तारमा झुण्डिएर चुईकिंदै सर्ने केबुल कार वा अरु कुनै पनि यताबाट उता ओसार पसार गर्ने सवारी साधन ‘कार’ को कुरा प्रसार गर्ने कुनै विचार छैन।  विभिन्न आकारका त्यस्ता कारहरु त हाम्रो सरकारले भरमार किनेर बेकार बनेपछि संभार गर्न झम्मार भएर टार टार भरी भरी थुपार गरेकैछ। यति सुनिसके पछि पनि हतार नमानी पढिरहनु भएका मित्रहरुमा मेरो आभार प्रकट गर्दै अब यो कार विचार प्रसार गर्न तयार छु। 

यहाँ भने प्रत्यय प्रयोगमा आउने ‘कार‘ को विवेचनाको विचार छ। तर टाउकोमा भार पार्ने व्याकरणको पाठ चाहिँ होइन है। कलाको आकार, प्रकार, चमत्कार, झंकार, प्यार, सार, लगायत विकार, डकार, चित्कार, अहंकार, दुत्कार, आदि इत्यादिको प्रस्तुती प्रदान गर्ने सीप भएको व्यक्तिलाई ‘कलाकार’ भनिन्छ। कलाकारले निराकार कलाको अथाह भावबाट केही प्रकारका आकार भौतिकीकरण गरेर संचार गर्ने क्षमता राख्दछ। कलाकारका प्रकारहरुमा गीतकार, संगीतकार, नाटककार, मुर्तीकार, चित्रकार, कथाकार, व्यंजनकार, पत्रकार, आदि धेरै पर्दछन्। यिनीहरु भित्रबाट पनि अरु सूक्ष्म र मिहिन विशेषतायुक्त हाँगाबिंगा अस्तित्वमा छन् अनि लगातार बनिने क्रममा छन्। यी सबै मानिसमा अन्तर्निहित खुबी र गुणका प्रस्फुटन हुन्। कतिले चाह, धैर्य र मेहनतमा लगनशील भएर आफू भित्रको क्षमतालाई निखार्दै र प्रस्तुत गर्दै आफ्नो समाजमा मानवताको सार र खुशी छर्दछन्। अरुले खोजी नै नगरी वा जानेर पनि, विभिन्न बहानामा आफ्नो सीपलाई सुषुप्त राखेर नै सेलाइदिन्छन्।

मित्र, तपाईंले यहाँ सम्म पढ्ने धैर्य राख्नुभएछ, गदगद हुँदै धन्यवाद प्रदान गर्छु। जाँदाजाँदै तपाईं सामु खुसुक्क एउटा व्यक्तिगत प्रश्न राख्न चाहन्छु। तपाईंको यो जीवनको परियोजनाकारले, विशेष तपाईंकै लागि भनेर एक्लो तपाईंभित्र राखिदिएको क्षमता, सीप, कला, आदिको खोजी गर्नुभएकोछ? भेउ पाउनुभएकोछ? प्राप्त गर्नुभएकोछ? प्रयोग गर्नुभएकोछ? सकारात्मक जवाफ हुने मित्रहरुलाई बधाईको उपहार छ। नभए पनि निराशाको कुनै कारण छैन किनकि, केहि बिग्रेको छैन, तपाईं जुन तहमा हुनुहुन्छ त्यहीँबाट शुरु गर्नसक्नुहुन्छ। किनकि, यो कालखण्ड, यो स्थान र समाज, यो राष्ट्र र संस्कृति, यो परिवार र छरछिमेक, यो उन्नति/अवन्नतिको परिवेश, कुनै पनि हामीले आफैं चुनेनौँ; हामीमा अन्तर्निहित क्षमता, सीप, कला र खुबी पनि हामीलाई दिईएको हो, यसलाई तिखारेर निखार ल्याउने जिम्मा चाहिँ हाम्रो हो। हामी आफैं पनि हामीलाई सीप दिनुहुने ईश्वरका सीप हौं। उनैद्वारा पहिलेबाटै तयार गरिएको असल कामहरु उनकै अभिषिक्त योजनाको इच्छामा हिंड्दै पूरा गरौं भनेर हामी अहिले, यो ठाउँ र अवस्थामा छौं। 

हाम्रो योजनाकार नाटककारले तोकेको प्रकारको जिम्मेवार कलाकार बनेर उनको योजना साकार गर्ने रहर बोकी, प्रदत्त कला र काममा निखार, तिखार ल्याउँदै, उक्त योजनाको बाटोमा प्रखर रहर साथ हिड्दै उनलाई आदर दिएका छौं त?

छौं भने ढुक्क भई अघि बढौं, काम बिग्रिन्छ कि भनेर डराउने आवश्यकता छैन; किनकि उनकै करार अनुसार उनी सधैं हामी संगै छन्। छैनौं भने चाहिं, अबेर नगरी, यो क्षणिक जीवन बेकार हुन नदिन, आजै जुर्मुराएर जिम्मेवार कलाकार बन्ने तरखरमा जोरजाम गरौँ।     

ठगाहार प्रचार विचार

In Nepalese Language

सार बिनाका भ्रामक प्रचार, ढाकिसक्यो सारा संसार,

यता पार न उता पार, बिनसित्तीमा संपत्तिको संहार। 

पोको भित्र बासी बेकार, चिल्लो खोलमा चट्ट प्रचार,

महिनौं बासी पिठोको नाउँ, ताजा र पौष्टिक आहार।

विज्ञापनमा हँसिलो मुहार, भेट्दा ठुस्स घोप्टे अनुहार, 

फसाउनलाई सेवाको सार, फसेपछि सोहोर्ने व्यापार। 

प्रचारमा बिरामीको उपचार, काममा सम्पत्ति सोरसार,

जाँदा एउटा रोगको भार, फिर्दा थपिन्छ अरु रोग चार। 

संसार जित्ने शिक्षाको प्रचार, सीपको उपलब्धीमा लाचार,

सम्पत्ति सखाप ज्ञान शून्य, सक्दैन सोच्न समस्याको पार। 

प्रचारमा व्यक्त दर्शन र लक्ष – समाजिक सेवा शानदार,

लुकेको स्वार्थ उदेश्य प्रष्ट – दान बिनियोजन अधिकार। 

जनसेवकको मुकुण्डोधारी, भोट भिखारी डुल्छन घरघर,

भिक्षाको कुर्सी हत्याएपछि, बन्छन् तिनै बेलगाम सरकार। 

धर्मको नाउँ अधर्मको प्रचार, ईश्वरको भन्दै आफ्नै विचार,

नारा मिलाप काम विभाजन, वाचा सहयोग पार्ने लाचार।

भ्रामक झुटा यस्ता दुष्प्रचार, सर्वसाधारणलाई अत्याचार,

झुक्कियौं भोग्यौं धेरै भ्रष्टाचार, जाचौं, चिनौं, गरौं इन्कार।  

सम्पूर्ण कार्य शेष भए पछि म स्वदेश फिर्नेछु*

In Nepalese Language

कुन हो देश, कुन विदेश, शरीर आफैं रहेछ परदेश

आत्मा अशेष, यो शरीर केवल क्षणिक भौतिक भेष;

कोमल शिशुको प्रवेश, जननीको हराउँछ सब क्लेश 

चंचल बालापन र ठिटौली हुँदै जवानी पनि बन्छ निमेष।

जीवन संघर्ष अनेक, केही सफलता संगै अरु ठेस

परिवार, समाज, दायित्व, देश; बोझिल बन्दा हरेस;

जिज्ञासा, उत्सुकता, जोस, जाँगर, प्रतिस्पर्धा र यश 

भेट्टाउँदै, उछिन्दै उत्कर्ष चुमेपछि उन्नति हुन्छ शेष। 

शरीर सुस्ताउंछ, मन जुर्मुराउंछ, सोचमा अन्त्य प्रवेश 

ध्यानमा जीवन के, किन, कसरी, यसको को हो नरेश;

बिगतका मूल्य शून्य बन्छन्, बिलाउँछन् तब सबै रोष 

होशमा देहको क्षणभंगुरता, शरीर त आत्माको प्रवास। 

शरीरलाई नै जीवन मान्यौं, रहेछ केवल स्वासको बास

आत्माको अनन्त जीवनमा, शरीर मात्र निमेषको प्रवास;

व्यर्थ बिताएको बिगत यामको, मात्र छ पश्चातापको रास 

अब बाँकी दिनको ईशलाई सोधौं उदेश्य प्रवासको खास। 

*शिर्षक साभार ख्रीष्टीय भजन #३८७ 

अतिवादले मतिमा खति

In Nepalese Language

जहाँ जता जति हेर्यो बग्रेल्ती छन् अति

सोच, बोली र व्यवहारमा अरुहरु प्रति

बिरानो भयो प्रेम र सद्भावको संस्कृति     

अतिको विकृति सर्वत्र छन् कति-कति:

— 

सुकाउने सोच अति, चिन्ताको बोझ अति,

वैचारिक सुसमन्वय भेटिंदैन कतै रत्ती;

मन-मस्तिष्कमा भुट्भुटि त्रासको अति,

सन्तुष्टि, शान्ति बिलाएर गएछन् बिती;

चिन्ताले निम्त्याए रोगहरु जानेका जति,

तन, मन, धन सर्वत्र भ्याउने क्षति नै क्षति। 

आफैं उच्च आडम्बरी बनी, घमण्डमा अति,

नम्रता शून्य, स्वार्थमा अभिमानी छ गति;

हठी प्रतिस्पर्धी सधैं, सबैसंग हुन्छ बिमति,

अरुलाई पछार्दै कुल्चंदै आफू बढ्ने तुष्टि;

खोसेर, लूटेर बढाउने अनैतिक सम्पत्ति,

लूटको अंकलाई नै मान्ने निजको प्रगति।

बोली व्यवहारमा जताततै लालचको पद्दति,

अरुको सबै थुतेर, आफ्नै बनाउँ देखे जति;

सधैं लालचमा नै बोली व्यवहार गर्ने नीति,

हत्याउनलाई हत्या नै गर्न पनि नपर्ने पछि;

यहाँ नैतिकताको सर्लक्कै ह्रास भयो यति,

अतिवादले मतिमा खति गर्दाको यो गति।  

facebook.com/keshav.sharma.55

मानिसको आज्ञाकारितामा ईश्वरको सार्वभौमिकता

In Nepalese Language

आत्माले सोचको बीउ रोप्दछ, (उत्पत्ति १:२६)

सोचले मनमा जिज्ञासा दिंदछ,

जागरुक जिज्ञासाले इच्छा जगाउँदछ,

इच्छाको प्रस्तुतिमा विचार पाइन्छ, 

विचारले खोजेर ज्ञान भेट्टाउँदछ,

मेहनतले ज्ञानको भण्डार खोलिन्छ,

ज्ञान-भाण्डारले बोलीको रुप लिन्छ, 

बोलीले व्यवहारलाई निर्दिष्ट गर्छ, 

बोली र व्यवहारले व्यक्ति बनिन्छ, 

व्यक्तिबाट कार्यरुपी फल फल्दछ, 

बीउ गुणाको फल गुणन हुन्छ, 

आत्माको योजना सिद्ध सम्पन्न हुन्छ, 

ईश्वर आत्माको सार्वभौमिकता प्रष्टिन्छ।  

? ? ?

मानिसमा अभिमानको स्थान कहाँ छ?