सन्तुलनको अनिवार्यता

In Nepalese Language

केही समयदेखी मनलाई कोपरिरहेको एउटा विचार प्रस्तुत गर्ने जमर्को गर्दैछु। जीवनमा विचार, बोली र व्यवहारको असन्तुलनले निम्त्याएका नकारात्मक र पीडादायी प्रताडनाका नमूनाहरुले, मेरो सोच-संसारलाई केही समयदेखी, बोझिलो भारमुनि अल्झाईराखेको अनुभव भेरहेको थियो। अझ यो कोरोनाको महाव्याधिले त यो सोचलाई अरु फराकिलो पारेर, सारा आकाश, पृथ्वी र यीनको संचालन विधीलाई समेत समेटेर, असन्तुलनको भयावह परिणाम देखाउंदै, सन्तुलनको सर्वव्यापी अपरिहार्यता प्रष्ट्याई रहेकोछ। 

सन्तुलन शब्दको विश्लेषण गर्नु हो भने यसले सम+तुलनाको अवस्था अर्थात् तुलनात्मक रुपमा उस्तै-उस्तै अवस्थामा रहेको भावलाई बुझाउँदछ। यो शब्दले प्रस्तुत गर्ने अर्थको पर्यायवाचक भाव बुझाउनलाई मिल्दो-जुल्दो, बराबर, उस्तै, सुहाउँदो, ठीक, आदि शब्दहरु पनि हुनसक्दछन्। तराजुको दुवै पल्लामा बराबरको ओजन नरहँदा सम्म तिनीहरुको दूरी बढी हुन्छ; जब दुवै तिर बराबर हुन्छ तब ती पल्लाहरु एकै समतलमा नजीक-नजीक रहन्छन्। यो अवस्थालाई हामी ठीक, मान्य, बराबर, मिल्दो, सुहाउँदो, शान्तीको अवस्था भनेर मानिलिन्छौँ। 

शुरुमा मलाई सन्तुलनको अनिवार्यता दर्शाउने क्षेत्र चाहिँ मेरो सामने परेका धार्मिक भनिने संस्थाहरुका प्रस्तुत सिद्धान्त र तीनका दृष्य व्यवहारहरु नै हुन्। तिनीहरुमा प्रष्ट देखिने सैद्धान्तिक, वैचारिक र व्यवहारिक असन्तुलनले निम्त्याएका अन्योल, बेमेल र व्यवधानले, सन्तुलनको महत्वलाई टट्कारो गरी दर्शाएकोछ। 

हाम्रा वरिपरी विभिन्न दर्शनमा आधारित धेरै धार्मिक संस्थाहरु विद्यमान छन्। एउटै धार्मिक संस्थामा पनि, विभिन्न स-साना वैचारिक धारहरुको पुच्छर समाएर, आफैंलाई अर्को भन्दा सक्कली, भन्दै छुट्टिने समूहहरु, झन् धेरै छन्। सारमा हेर्नु हो भने सबै यस्ता समूहहरुको प्रवर्तक शिक्षाको निचोड एउटै धारको पाईन्छ। सबैले सामाजिक सदभाव, भाइचारा, आफू भन्दा कमाजोर प्रतिको सहयोग, मानव मानव बीच मात्र नभएर, मानव र प्रकृति बीचको समेत प्रेमपूर्ण सह-अस्तित्व, जीवनदाता प्रति कृतज्ञता,यस्तै प्रकृतिका सकारात्मक शिक्षा र मान्यताले भरिएका धर्मग्रन्थको आधारमा आफ्नो संस्था-समूहको विकास र संचालन भइरहेको दावी गर्दछन्। तर वास्तविक व्यवहारमा देखिएको र भोगिएको अवस्था चाहिं यसको ठीक विपरित छ। 

कुनै पनि यस्ता समूहले आफ्नो धर्मको शिक्षा र निर्देशनमा कसैलाई भेदभाव, वहिष्कार, थिचोमिचो गर्ने, होडवाजी गर्दै अर्कोलाई सिध्याउने, प्राकृतिक श्रोत र भण्डारको अती-दोहन गर्दै आफ्नै सन्ततीको जीविका खोस्ने, लालचपूर्ण अती-भण्डारणलाई उच्च ओहदाको द्योतक मान्ने, अनावश्यक बहसमुखी र अव्यवहारिक शिक्षा आर्जनमा अभिमानी आडम्बर खोज्दै जीवनदाताले प्रदान गरेको बहुमुल्य समय खेर फाल्ने, जस्ता कुराहरु रहेकाछन् त भन्दैनन्। तर इतिहासका पानाहरुमा र हाम्रो आजको आफ्नै जानकारी र भोगाईमा पनि प्रष्ट छ कि धर्म-धर्म र एउटै धर्म भित्रका गुट-उपगुट एक-अर्कामा फूट, दोषारोपण, वहिष्कार, तिरस्कार, खिंचातानी, होडबाजी, गर्नमा लिप्त रहेका घटनाहरु छताछुल्ल छन्। धेरै धन-जनको क्षती बेहोर्ने युध्दहरु धर्मकै आधारमा भएकाछन्। जीवनदाताले त मानिसलाई प्रशस्तको भण्डार र उब्जाऊ-शक्ती युक्त पृथ्वी दिएर, यसको आवश्यक देखरेख गर्दै,  समूचित उपभोगद्वारा रमाउन सक्ने प्राकृतिक विधी स्थापित गरिदिए। तर आफूलाई सुम्पिएको कार्य कृतज्ञतामा रमाउंदै सम्पन्न गर्नुको सट्टा, मानिसले त जीवनदातालाई नै पो आफ्नो नोकर सरहको व्यवहार दर्शाउँदै, आफैंलाई चाहिं निर्णायक मालिकको स्थानमा राख्दै आएकोछ। मानिसको यस्तो कृतघ्न व्यवहार यसैमा प्रष्ट हुँदैछ कि यिनीहरु, आ-आफ्नै ज्ञानको दायरा भित्र, आफैंले नाम र गुण दिएको ‘ईश्वर’ बनाएर, तीनलाई धर्मको साङ्लोले बाँधेर, जीवनादातालाई नै धर्म विशेषको घर-पालुवा जनावर बनाएर, उनलाई आफ्नो सेवाको निम्ति पालेर राखेको भ्रममा, आ-आफ्नो धर्मको सङ्लो सुमसुम्याउँदै, अशान्ती वा भ्रमित शान्तीको अगुल्टो ठोस्दैछन्। 

यस्तो व्यवहारको नतीजा के होला भनेर सोच्न कुनै दार्शनिक सूत्र चाहिंदैन।  तर यो बैचारिक गन्थनको उदेश्य, त्यो नतीजा भन्दा पनि, यस्तो निकृष्ट व्यवहारको उत्पत्ती गराउने, भ्रामक चक्रव्युहको सम्भावित कारक तत्व खोज्नु हो। जीवनदाताले मानिसलाई कार्यभार सुम्पिंदा, विवेकले सक्षम बनाएर दिए। अरु कुनै प्राणीमा नभएको क्षमता पाएर मानिस एक मात्र विवेकशील प्राणी बन्यो। तर विडम्बना, समयक्रममा मानिसले यो वरदानी आन्तरिक विवेकको प्रयोग गर्नु भन्दा पनि बाहिरी सीमित ज्ञानको प्रयोगमा भर पर्दै बाटो बिराउन थाल्यो। फलस्वरुप, जीवनदातालाई पनि आफ्नै सीमित ज्ञानको परिधी भित्र समेट्न पुग्यो। जससँग परिभाषा सोधेर सिक्नु पर्ने थियो उसैलाई आफ्नो परिभाषा दिन थालेपछी गन्जागोल त हुने नै भयो। ईश्वरलाई पूर्णतामा कसैले देखेको वा बुझेको छैन। तर जसले आफ्नो क्षितिज भित्र जति देख्यो त्यसैलाई नै पूर्ण भन्न थाल्यो। जति धेरै दर्शक उति धेरै दर्शन, सबैले आ-आफ्नो ज्ञान-आश्रित दर्शनलाई काखी च्याप्ने अनि अरुको दर्शनलाई झूठो मान्ने, तब कसरी एकता सम्भव हुनु त? यसरी धेरै धर्म बने, धर्म भित्र पनि धेरै गुट उम्रिए।  कसैले अरुको कुरा सित समन्वय गर्ने आँट नै गरेन। जती धेरै गुट टुसाए, त्यती धेरै टुट-फूट मानिस समाजमा मौलायो। 

यदी अन्तरमनको सुनेर, नम्र भएर, अरुले प्राप्त गरेका दर्शनलाई पनि समन्वय गर्ने हो भने, आज पनि जीवनदाता प्रतिको, एकल, दुकल पक्ष मात्रको भार भएको होइन तर सन्तुलित प्रकाशमा उनको दर्शन प्राप्त गर्न नसकिने होइन। यसको निम्ति कुनै मानव निर्मित धर्मको बुई चढ्नु आवश्यक छैन, केवल आफ्नो ज्ञानको आडम्बर त्यागेर, नम्रतामा अरुको पनि सुन्ने र आफुलाई दिईएको विवेकले जाँच गरेर, ठीक लागे स्वीकार गर्ने हो भने, मानव समाजले विधीका कर्तालाई, उनले जती चिनाउन र बुझाउन चाहेकाछन्, त्यती चिन्न, बुझ्न र उनको योजना अनुरुप जीउन सक्नेछ। 

तर यक्ष प्रश्न रहन्छ कि, के मानिस आफ्नो अभिमानको शिला मन तोडेर, नम्रतामा झुकेर, अर्कोको विचारमा सन्तुलन खोज्न तयार छ?

सन्तुलनको आवश्यकता वैचारिक क्षेत्रमा मात्र नभएर, आध्यात्मिक, बौद्धिक र भौतिक क्षेत्रहरुमा उत्तिकै प्रबल देखिन्छ। आकाश मण्डलमा रहेका अनगिन्ती ग्रह-नक्षत्रहरू, आ-आफ्नो चुम्बकीय शक्तिको सन्तुलित प्रभावद्वारा, अस्तित्वको शुरु देखि नै, सह-अस्तित्वको निम्ति, निर्धारित स्थान, पथ र अवस्थामा, स्थापित विधी अनुसारको उपयुक्त गतीमा, लगातार चलायमान छन्। यिनीहरुले मनपरी लहडी निर्णय गर्दै विधीको बाटो बाट कहिल्यै बरालिएका छैनन्। यिनीहरुको चालको अनुशासन यती अचूक छ कि सम्पूर्ण ज्योतिष विद्या यिनीहरुको चाल र स्थानमा आधारित छ। यिनीहरुको सन्तुलनमा एक मात्र पलाको पनि चुक भयो भने, के हुन सक्छ भनेर हामी सोच्न पनि सक्दैनौं। 

सन्तुलनको सबैभन्दा नजीकको उदाहरण त हामी मानव जीवनको निरन्तरतामा नै देख्न सक्दछौं। मानिस जातीले आफ्नो निकृष्ट स्वार्थमा जतिकै बिरोधको कार्य गरे पनि, प्रकृतीले जीवन संचालनको निम्ती आवश्यक पुरुष र स्त्रीको सन्तुलित संख्या कायम राखेकै छ।  कुनै पनि जीवको अस्तित्वमा उसको गर्भावस्था देखि लिएर शरीर त्याग सम्म सन्तुलित वृद्धी र क्षयको अचूक भूमिका देख्न सकिन्छ। मानिसको शारीरिक, मानसिक र बौद्धिक विकासमा उसको भ्रुण अवस्था देखि नै सन्तुलित चाल हुन जरुरी छ, त्यसो हुन नसकेको अवस्थामा विभिन्न प्रकारका विकृती र अपाङ्गताहरु आइपर्दछन्। 

प्रकृतीले त जीवन संचालन विधीलाई पूर्णतया समन्वयमा रहेर पालन गर्दै आएको देखिन्छ भने, मानव जातीले भने यो विधीले स्थापित गरेको सन्तुलनलाई अटेर गर्दै आफूखुशीको स्वार्थी चालमा लागेर, आफ्नै घुँडामा बन्चरो प्रहार गरिरहेकोछ। अनावश्यक सम्पत्ती भण्डारणको लालचमा प्राकृतिक श्रोतको अती-दोहन भईरहेको यथार्थलाई एउटा नमूनाको रुपमा लिन सकिन्छ। यसले प्रकृती र मानव बिचको सन्तुलनलाई कसरी प्रहार गरेको छ भन्ने कुरा बुझ्न केहि गाह्रो नपर्नु पर्ने हो। यसकै कारणले प्रदुषण फैलाउने उद्योगहरुको अतीवृद्धी भईरहेकोछ, फलस्वरूप, साँघुरो भौगोलिक क्षेत्रमा मानिसको घनत्व अचाक्ली वृद्धी हुँदा शहरीकरण बढदो छ। यस्ता घनाबस्ती युक्त शहरको साँघुरो क्षेत्रमा विद्यमान स्वच्छ जल, वायु, वनस्पती जस्ता प्राकृतिक श्रोतहरुले, अप्राकृतिक रुपमा बढेको जन-घनत्वको निम्ती अपुग हुँदा, मानिसको शारिरीक र मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेकाछन्। रोग ब्याधी बढिरहेकाछन्, महंगी बढ्दो छ, प्रतिस्पर्धा अनिवार्य बनेकोले व्यस्तता बढेको छ, शरीरलाई चाहिने आवश्यक विश्राम र व्यायामको निम्ती समय नै पुग्दैन, परिवार र समाज संगको सम्बन्ध फितलो हुँदै बिलाउने क्रममा छ, यस्ता नकारात्मक अवस्थाका सूचीमा दिन-प्रतिदिन वृद्धी हुने क्रम जारी छ। यी सबै बिकृतीहरुको कारक, मानिसले प्रक्रितीसंगको समन्वयलाई उपयुक्त महत्व नदिनु नै हो भन्ने कुरा देखिंदैछ। 

अब पनि मानव जातीले, प्रकृतीसंगको समन्वय, आफ्नो अस्तित्वको निम्ती अपरिहार्य रहेको बुझेर, अहिलेसम्म चालेका आफैंलाई क्षती गर्ने कदमहरुलाई त्यागेर, सुधारको अठोट लिएर अघी बढ्ने हो भने, प्रकृतीले हाम्रा सबै आवश्यकताहरु प्रशस्तैसंग पूरा गर्न सक्नेछ।  

तर फेरि पनि प्रश्न यही खडा हुन्छ कि, के मानिस अबको जीवनशैली नै बनिसकेको, अहिलेको होडबाजी र अनावश्यक सम्पत्ती भण्डारणको लालचलाई त्यागेर, प्रकृती प्रदत्त सन्तुलित व्यवहारको सोचमा फर्किन तयार होला? 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s