In Nepalese Language

मानवता बिनाको धार्मिकता, कृतज्ञता बिनाको आराधना,
सामाजिकता बिनाको आध्यात्मिकता, एकता बिनाको सहभागिता;
उपयोगिता बिनाको समर्पणता, व्यावहारिकता बिनाको विद्वत्तता,
भावना बिनाको भौतिकता,नम्रता बिनाको नैतिकता;
सत्यता बिनाको औपचारिकता, सन्तुष्टि बिनाको प्रशस्तता,
स्वास्थ्य बिनाको आरोग्यता, शान्ति बिनाको सम्पन्नता;
कर्त्यव्य बिनाको वाचना, कार्य बिनाको कामना,
सद्भाव बिनाको सामना, संभावना बिनाको परियोजना;
दर्शन बिनाको भोग, उदेश्य बिनाको उपभोग,
प्रयोग बिनाको योग, सम्मान बिनाको ढोग;
विज्ञान बिनाको विज्ञापन, प्रयोग बिनाको प्रायोजन,
सन्तुलन बिनाको व्यवसाय, सदाशय बिनाको महाशय;
श्रवण बिनाका श्रोता, दृष्टि बिनाका दर्शक,
सृजना बिनाका सर्जक, सुर बिनाका गायक;
कला बिनाका कलाकार, अनुभव बिनाका सल्लाहकार,
अध्यापन बिनाका प्राध्यापक, शिक्षा बिनाका शिक्षक,
नीति बिनाका निर्णायक, विधिशास्त्र बिनाका विधायक,
संवेदना बिनाका प्रशासक, सेवाभाव बिनाका राष्ट्रसेवक;

उल्टो अमिल्दो प्रष्ट्याउने विडम्बना,
गरी विवेचना गरौँ सामना,
दोष्याउने होइन सच्याउने कामना,
मिली गरे सबैले मेटिन्छ विडम्बना।