छलीको छलबाट बचौं

पात पतिङ्गर कसिङ्गर सोहोरी सारा जङ्गल 

ढाँटेर बताए तिनलाई खीलधारी अरिङ्गाल, 

सत्य यिनमा छैन, सर्वत्र छलैछलको छाल 

जनता सधैं गरीबीमा, धूर्त नेता मालामाल।  

देशले उम्दा विकास गरेको गर्दैछन दाबी 

विकासधारी ट्याङ्काको यी खोल्दैनन् चाबी,

शायद नेताले मात्र देख्ने विकास होला हाबी 

त्यो नदेख्ने जनताको आँखैमा पो छ खराबी।   

सत्र हजार टाउका गिंड़ी गुथिसक्यो माला

जरायोको टाउकोमा सिङको छैन चाला, 

छिमेकीले भिराइदिए बाह्र सिङको टाला 

‘मेरा सिङ वापस करो’ भन्दा सातो जाला। 

गर्नै नपर्ने झैं सबै गर्ने हाँक दिंदथे पहिले 

हुँदाहुँदै नभएका पनि भए भन्छन् अहिले,

विनाशकाले विपरीत बुद्धि बुझिने बोलीले 

जनता जति खुत्रुक्कै नेताको बोली-गोलीले।  

नीति-नियम विधि-विधान केवल नेतामुखी 

नेता पोष्ने, कारिन्दा तान्ने, बनाइ तीनै सुखी,

नाउँले जनसेवक,कामले जनता पार्ने दुखी 

नेता मात्र उकास्ने विधान अब बुझ्यौं चाखी।  

आस्थाको लेपले पोतेको तीतो विकृत नीति

छली नेताले पस्किए भन्दै यही हो राजनीति,

कटुताको विषका अम्मली पारिए जन जति 

जनताको कर बन्यो नेताको निजी सम्पत्ति।   

यी फेरि भट्याउँदैछन् बेमौसमी भोट भजन

भोट भन्दै राजकोषबाट अर्बौं हुने हो भाजन,

देश र जनताको समुन्नतिमा नेताको छैन मन 

जनता सधैं कङ्गाल, नेता बन्ने धनाढ्य राजन।

घोटीघोटी प्राप्त त्यही पुरानो खिसीको ओखती 

घिसीपिटी उत्पादित गालीगलोचको निम्न कोटी

चोटीका नेता भनाउँदाहरु कुन खालका गोटी?

भ्रष्टाचारको पालो नपाउँदाको प्रष्ट भो’ छटपटी। 

जनताको पसिनाले जोहो गरेको सामल पानी

निर्लज्ज लुट्छन यी नेताले कुनै सङ्कोच नमानी,

चर्को कर असुल्दैछन् हाम्रै पेटमा लात्ती हानी

के आधारमा भोट दिने यी भ्रष्टका बानी जानी? 

भोटद्वारा यिनलाई लुटको लाइसेन्स पो दिएछौं 

तब बानी नचिनेर आफ्नै घुँडामा खुँडा हानेछौं,

लौ फेरि छली भोटको यिनको नाटक देख्दैछौं

होस नगरी यिनैलाई छाने, फेरि पङ्गु बन्नेछौं। 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s