वास्तविकताको सामना गरौँ

In Nepalese Language

सकारात्मकताको भूत लागेकाहरु भ्रम-यानमा चढी बतासमा हुइकिंदैछन्;

नकारात्मकताको बाक्लो सिरकमा लुकेकाहरु आँखा चिम्लेर निदाएकाछन्। 

वर्तमानमा विद्यमान वास्तविकताको सत्य सामना गर्न ती दुवै नै चुकेकाछन्। 

—  

सकारात्मकताको प्रचारमा खप्पिस वाक-व्यापारीले भ्रमको मिठाई बेच्छन्,

मनोवैज्ञानिक वशीकरणमा सहभागीलाई विदेशी बाँदर-नाच नचाउँदछन्;

हालको वास्तविक सत्यतालाई भ्रम बताउँदै ज्यालामा मोटो रकम असुल्छन्। 

नकारात्मकताको निराशाले आफैं ग्रस्त भएकाहरु छिमेकीलाई तर्साउँछन्,

विनाशको चिन्ता र फिक्रीको गुनासोको रासले भयानक संत्रास फैलाउँछन्;

वास्तविकता र आसको विकासप्रति आँखा टम्म चिम्लेर जीवन सुकाउँछन्। 

एकपक्ष मात्र अति भएमा तराजुको सन्तुलनमा खति अवश्यम्भावी बनिन्छ,

वर्तमान सत्यको वास्तविकतालाई आशामा डटेर सामना गरेमा निकास छ;

सकारात्मक र नकारात्मक केवल भ्रमका भकारी, मात्र वास्तविक सत्य छ। 

सत्य सन्देशको ग्राह्य सञ्चार विकास विचार

In Nepalese Language

मनको बाकसभरि छ आकाश

तर निकास नपाई बन्छ सिकस 

अमखराभरि नै छ स्वादिष्ट रस 

तर पोखिन नपाएर लागेको कस।

नसुन्नेको देशमा सुनाउनेलाई क्लेश  

श्रोता सुप्त रहँदा प्रस्तोतालाई हरेस  

नीरस सन्देश बन्छ साहित्यले सरस 

सुन्नेले नचाहे भन्नेलाई केवल सकस।

नेपाली संसारमा गर्न सत्य सञ्चार 

सरल समझको भाषाको दरकार 

भाषा प्रसारमा साहित्यको आधार 

साहित्य सज्जामा सन्देशको सार।

ईशको सत्य होस् सन्देशको आधार

सम्प्रदायको दुर्गन्धले नगरोस् प्रहार 

साहित्य नहोस् सम्प्रदायको घरबार 

सधैं होस् केवल सत्य ईशको प्रसार।

विचारमा छ कसरी गर्ने होला विकास

पहिले त सोचौं विकासको लक्ष खास

सत्य-सेवाको बोलीमा अनन्तको आस 

समूह-टेवाको बातमा छ तिक्ताभास।

सोचौं, विचारौं, भेटौं, सकारौं लक्ष सरस 

न आफ्नो न जगको, खोजौं ईशको जस

ईश योजना-पथमा जति नै रहोस् सकस

उनको साथ पाएर अवश्य हुन्छ विकास।

फेबु परीक्षण

In Nepalese Language

आशातीत उदेश्य:

यसो मेसो खोजेको नि नाडी छामी हेरेर, मित्रको भित्रको चरित्रको सूत्र बुझ्न चाहेर। 

फेबु यारको विचारको धारको मुहारको निहारले कुन बहार चाहार्न खोज्छ भनेर। 

सुनेर, हेरेर, देखेर, सिकेर, भोगेर, कोरेर, मेटेर, फेरि लेखेर राखेको नजाला खेर। 

मित्रको रुचि:

छुस्स अलिअलि बुझियो, जति बुझियो उति झस्कियो, भित्रभित्रै चिरिक्क चस्कियो – 

फोटामा धेरै झुम्मिने, भरमार लाइक ठोक्ने, आक्कल झुक्कलमा केहि लेखिहाल्ने,

हाँसो र ठट्टामा दाँते मुखुण्डोको झटारो, गालीगलोच भए सहमति जनाउने चटारो। 

अरुचिको सूची

मीतहरुले विचार विश्लेषण त ढुसी परेको अचार सरह पर सार्ने, पिचास मानी मन्छाउने,

तिनलाई सोचले चसक्कै घोच्ने, सन्देशले च्वास्सै पोल्ने, साहित्यले भुसुक्कै उँघाउनेरहेछ। 

अब के बुझ्ने के नबुझ्ने; चलन यस्तै रहेछ, मनोरञ्जनमा सबै व्यस्त, विचारको विधा नै ध्वस्त।

निष्कर्ष: फोटो वाह! विचार जा! गिल्ला र ठट्टा क्या च्वाँक! सुधारको सन्देश छ्या झूर!

झारो टार्ने झटारो

In Nepalese Language

सामाजिक संजाल – जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बीँड

थोरै समझदारले सदुपयोग गरेकाछन् – केलाएर संचारको भीड, 

धेरै भेंडे बगालले आफैंलाई ठगेकाछन्, भएर यसको लतमा चित

संस्कारी संवादको खडेरीमा, उपहास र ठट्टामा रमाउने यी मीत।   

फेसबुकमा ठेस खाएर नैतिकता, संस्कृति, संस्कार, सबैमा लाचार 

ट्वीटरको ठक्करले जमीनमा जोतिएर, समयको अनुशासनमा प्रहार,

यिनको प्रयोगले ठगिएको अल्छी पुस्तामा, पढाइमा पटक्कै छैन रहर 

आलश्यमा सुस्ताउने बानीले, सोचेर लेख्नु चाहिं त अति अभेद्य नहर।

विदेशी संस्कारको नमूनामा, खुच्चिङ्ग, डिच्च, ठुस्स, आकार ट्यास्स

पढन-लेख्न छोडेपछि सोच र सृजनशीलता दिमागबाट उडिगो’ फुस्स, 

टिप्पणी केहि लेखिहाले पनि नसोची, नबुझी, फ्याट्ट लेख्दिने छ्यास्स 

पोस्ट्याइसकेपछि मात्रै, नबुझी गल्ती लेखेको जानकारीमा झल्याँस्स।

साहित्य आवरण, उद्देश्य सन्देश

In Nepalese Language

(१)

मीत भावको मिठासभरी, साहित्य सज्जाले सिङ्गारिएको भेष, 

साहित्यको सुन्दर आवरणमा सजिएको, कालजयी सुसन्देश।

(२)

सुन्दर साहित्य तर यामले उडाइदिन्छ, कालले गराउँछ शेष,

अमर सन्देश प्रेमभावमा पेश, युगयुग अटल, अजर, अशेष।

(३)

साहित्यले सपना सुसार्छ, मनलाई मुसार्छ, परै सार्छ क्लेश, 

कटु बन्नु परे पनि भलाइहेतु, सम्झाउँछ, हप्काउँछ सन्देश।

(४)

चित्त चटक्क चिर्ने चेतावनीको सन्देश, साहित्यले बन्छ बेस,

फकाई, जताई, कुरा ग्राह्य बनाई, साहित्य पस्कन्छ सन्देश।

(५) 

अनुशासन र ताडनाको सन्देश, मान्छे सोच्छ स्वेच्छामा ठेस,

सुसेली-सुरले भरी साहित्यले, साम्य पार्छ त्यो ठेसको क्लेश। 

(६)

भाषा र भेष, संस्कारको परिवेश, फरक छन् अनुसार देश,

साहित्यको सुशोभनमा सन्देशको सार, एकै छ देश-विदेश।

(७)

सन्देशलाई कुनै सिमाना छैन, सारा विश्व नै यसको निज देश,

समाज सुहाउँदो सुरमा सजाई, यसलाई गर्छ साहित्यले पेश। 

(८)

साहित्य सुन्दर छ, सजावट दिन्छ, आकर्षक पार्दछ परिवेश,

सजावटको उन्मादमा बरालिंदै कतै नपरोस् सन्देशमा द्वेष। 

(९)

बिरानोको भ्रान्तिमा शान्ति ल्याउन, साहित्य नखाओस् हरेस,

साहित्यको आवरणमा प्रस्तुत सन्देशको, नहोस् सारको शेष। 

(१०)

साहित्य फुरेर जाग्यो, कालसंगै टल्यो, नछोडी केहि अवशेष,

सृष्टि सदभावको सत्य सन्देश सदा अटल, हमेशा हर निमेष।

(११)

भाषा भावमा प्रस्फुटित साहित्य, भावावेश जस्तै हुनेछ शेष,

सत्य प्रेमको प्राकृतिक सन्देश, अवशेष बन्दैन सदैव अशेष।   

(१२)

कर्णप्रिय कलाले लेस, साहित्यले हलुको पार्दछ ठेसको क्लेश,

सुहाउँदो साहित्यमा सजेको सन्देश, बन्छ मनको ठोस अडेस। 

(१३)

बोली संस्कारको साहित्यले, छुट्याउँदछ निजदेश कि परदेश,

प्रकृति-प्रेमको सन्देशमा सामेल, सब सृष्टि, संसार नै निजदेश।

(१४)

परिपूरक हुन्, सदैव बनिरहुन्, एक-अर्कामा साहित्य र सन्देश,

विविध गुणका यी परपूरकमा, कहिल्यै नरहोस् द्वेषको आवेश।  

(१५)

पक्षपातमा अतिवाद अँगाली, कोही खोज्ने केवल सज्जा र भेष,

सन्देशरहित साहित्य बन्छ, कंकाल सजाउने परिधान र केश। 

(१६)

अमूर्त सन्देश सुषुप्त सधैं, नपाएमा भाषा साहित्यको परिवेश,

अपाच्य भद्दा सन्देश बन्छ, सुपाच्य सुशील पाएर साहित्य-भेष।

भावनाको भेराइटी

In Nepalese Language

कतै स्विजरल्याण्ड त कतै हैटी 

रोमाञ्चकारी स्पर्श कि बजारिने मुक्का,

पुष्प-वृष्टिको बहार कि चट्याङ वर्षाको कहर 

आज मित्रको मनको भावना कुन मूडमा होला –

मधुर धुन गुनगुनाउने कि झर्कोमा खोपडी झनझनाउने?  

भावना त केवल स्वमनको परिकार 

स्वाद कि बेस्वाद मन-मालिक कै हात 

मनभित्र स्वादको शुरुवात गरिदिनोस् मित्र 

शीतल, सुन्दर, झपक्क उज्यालो बन्छ सर्वत्र।  

शुभकामना छ लिनेजति सबै बन्धुबान्धव प्रति 

अन्तरमन पुकलित रहोस्, अँध्यारो नहोस् कत्ति 

मनको खुशी नै उर्जा बनोस्, भित्र्याउने समुन्नति 

समाजमा खुशी छर्दै बितुन् जीवनका दिन जति।  

अन्तर्मनको उज्यालो

In Nepalese Language

मानिस सृष्टिकर्ताको कारिगरी 

कर्ताको सृष्टिमा अनेकन थरी

मानिस सबैको बनाइयो प्रहरी 

अनि उ रह्यो कर्ताको सहचरी। 

भावनाको आकर्षणमा नर-नारी

मानिस सुन्दरतम उत्कृष्ट ठहरी

कर्ताको ज्योतिको विवेकले भरी

कार्यभार दिइयो ‘बन्नु आज्ञाकारी’।

अगमलाई देख्ने आँखा हो विवेक

दीप हो विवेक दृश्य पार्ने प्रत्येक 

विवेक बोधो भए अन्योल अभेक 

उज्यालो निभेमा अँध्यारो अनेक।

छर्लङ्ग सत्य सर्वत्र सृष्टिद्वारा प्रदत्त  

कर्ताको कार्यमा छ प्रमाण व्याप्त 

विवेकहीनलाई सबै सत्य छ लुप्त 

आँखा चिम्म राखेर देखिंदैन सत्य।

Perception

Total or Partial

We are told, shown, instructed, inculcated and trained

We hear, see, experience and even seem to understand 

We think that we got it in totality as it was intended to be

But have we really got it in the fullness of  its totality?

Complete or Left out

We think our information is complete to the core

Nothing on the subject is left out, forgotten or diluted

Nothing overdone, nothing undermined, not corrupted

But can there be any information that is exhaustive?

Source Reliability

We consider our information source to be sacrosanct

Nothing in darkness, no delusion, all transparent

We think that we take all things from the Omniscient

But what about the distortions through traditional inertia?

Terms of Principles

We stand strong on some principles and dogmas

Which are articulated in words of human languages

We vouch to know the full meaning of all such words    

But are such principles practiced in the terms of the Providence?

Knowledge or Ignorance

We profess to know and prefer to teach rather than learn

We enjoy to tell others rather than give ear to their views

We love to give a piece of our mind as a sure shot potion

But are we humble enough to consider hearing from the Truth?

Perception or Deception

There is a world of luring deception lurking to engulf us all

With lucrative visions of knowledge, wealth, respect and gale

Perception of reality is achieved in the humility of searching heart

Are we prepared to prefer humble perception to drowning deception?

अन्तर्वार्ताको भाला र प्याला

In Nepalese Language

सिपालु पत्रकारको चोटिलो प्रश्नकला

आफैंले चाहेको उत्तर झार्ने चर्तिकला

घुमाउरो बातले चिटिक्क बुनेको माला

बाङ्गो पाराले सुटुक्क अल्झाउने चाला। 

ज्ञाता भन्दा बढी प्रस्तोताको बोलबाला

श्रोतलाई चिप्ल्याउन चाप्लुसीको खोला 

श्रोतावृन्दलाई छक्याउन चलाकी खेला

पूर्वनियोजित व्यापार प्रवर्धनको मेला।

सत्य कतै खुलिहालेमा तब देखाजाला

संस्था चट्टै पानीमाथिको ओबानो होला

प्रस्तोताको जागिरमा कस्तो असर पर्ला 

ज्ञाता अतिथिको प्रतिष्ठा के कता जाला ! 

 —

थोरैमा मात्र भेटिन्छ इमान्दारीको प्याला 

सत्य सन्देशले समाजमा सेवा दिनेवाला 

थोरै त्यस्ता पत्रकारलाई नमन सबै बेला

समाज सुधारको कारक त्यो सानो भेला।

फेसबुके संचार, व्याकरण विचार

In Nepalese Language

यो फेसबुक झर्रो साहित्यको ठेसबुक

व्याकरण र शुद्धतालाई अमिलो चूक   

उरन्ठेउला लेखकको भयो अडेसबुक

सम्पादन, समालोचन आफैं नै बुज्रुक। 

—-

फुर्यो कि लेखिहाल्यो जेजसो ट्याक्क 

फेसबुके भित्तो सजाइहाल्यो चिटिक्क 

मिल्दोजुल्दो फोटो गुगलबाट सुटुक्क 

नेटद्वारा साथीको फेसबुकमा लुसुक्क। 

—-

पढाइमा अल्छे पुस्ता बुझाइमा अकमक 

फोटो देख्न पाउँदा भने आँखामा चमक

सत्य होस् नहोस् चोटीलो होस् बकबक

भाषाविद ज्ञातागण मनै मनमा थकथक।  

—-

पढने धैर्यमा विकार सर्जक बने अमुक

लेखन पेसा सुस्तायो, जीविकामा शोक 

छापा द्रुत ओरालो बिना कुनै रोकटोक       

प्रकाशन संस्थाहरुको मन हुने ढुकढुक। 

—-

प्रविधि र परिधि दुवै नै मानवका मन्थन

समन्वयमा प्रयोग गरे कल्याणकारी छन् 

पक्षपाती बहस गर्दा प्रत्युत्पादक बन्छन् 

भाषाको लक्ष सत्य सहज संचार प्रजनन।

—-

प्रविधी प्रवर्धनले प्रकृति-धन प्राप्य बन्छन्

परिधीले प्राप्त विधालाई जनग्राह्य पार्छन् 

प्रविधीको उडान र परिधीको अनुशासन 

दुवैको सम्मतीमा हुन्छ समाजको उत्थान। 

—-

विरोधमा क्रोध मात्र छ, हुँदैन उन्नती कत्ति 

मिलापमा सहकार्य छ, मेटिन्छ सबै भ्रान्ति

झर्रो साहित्य र टर्रो प्रविधी मिलेमा क्रान्ति

यो पुस्ता मिलेर बढे सुखी बन्छन सन्तती।    

 —-

विकास संगै बाटोले फेर्छ दिशा अनि गति

विरोध हो वैरी, खोजौं मेल-बिन्दु र सम्मति 

अवरोधमा क्रोध फल्छ, सहमतिमा शान्ति 

मिलिजुली संवाद सकारे सबैमा छ कान्ति।