(In Nepalese Language)

प्रश्न छन्, प्रशस्तै छन्, तर अन्योल पनि उत्तिकै छ – प्रश्नको प्रस्तुती कसरी गर्ने, के भनेर गर्ने, कुन सम्बोधनमा गर्ने।
विभिन्न शास्त्रका ज्ञांता त छ्यापछ्यापती छन्, प्रश्न झरिसक्नु अगावै जवाफका ताँती लाग्दछन, तर उत्तरको खडेरी नै छ।
धेरै जवाफले पनि प्रश्नको उत्तर दिएन, प्रश्नको सम्बोधन नै भएन, प्रश्न यथास्थिती मा नै रह्यो, उत्तर साह्रै विरानो भयो।
शास्त्रका गुरुहरुले आ-आफ्नै मनगढन्ते बुझाईका प्रश्नका उत्तर आफ्नै निम्ति मात्रै दिए, जिज्ञासुको प्रश्नको वास्तै रहेन।
आ-आफ्नै जानकारीको कित्तामा रजाईं गर्दै शिक्षा दिने गुरुहरु त धेरै रहेछन, जिज्ञासुको प्रश्न सुनिदिने संकाय नै भेटिएन।
जीवन कि जुनी? के? कसरी? कसले? (के ले?) किन? कसलाई? (के लाई?) कहाँबाट? के बाट? पहिले के? पछी के?
प्रश्न कती कती, चित्तमा खती, अन्योलको ढेरमा द्रूत प्रगती, जिज्ञासुको मती गुरु खोज्न प्रती, गुरुको रोजाई सजीलो संगती।
घोत्लिएर विचारकले माथी तल हेरेछ, भित्र बाहिर, वरीपरी गहिरो विचार गरेछ, निष्पक्ष भई सोच्दैजाँदा धमिलोमा सोचेछ,
– ज्यामितीय आकाश, जीवनदायी पृथ्वी, स्थापित गर्ने योजना र सदा परिचालित राख्ने प्रक्रिया,कसैले कि केहिले गरेकैछ।
विचारकको जिज्ञासाको भतभती केही मन्थर पारेको यो सोचमा, उसले त्यो कोही कि केही लाई नामाकरण गर्न खोजेछ,
उसको यो सोचलाई नाम दिन उसैको मुखको स्वर चाहियो, अनि बोल्यो – यी मेरो स्वर – ईश्वर, विचारकको सृजना शब्द।
सारा सृष्टिका कर्ताले विचारशील मानिसको सृष्टि गरे, त्यही विचारगुण प्रयोग गरी उनलाई चिन्नलाई आ-आफ्नै नाम दिए,
समयानुकुल, आवश्यकता अनुसार, अवस्था मुताविक, बुझाई बमोजिम, आफ्नै परिवेसमा कर्तालाई कृतिले धेरै नाम दिए।
नाम मात्रै होइन, रुप, रङ्ग, आकार, प्रकार, पनि दिए; स्थान, परिधी, परिवेष, परिवार दिए; क्रोध, कृपाको भाव पोतिदिए,
कायरले भयङ्करको डरले भक्ति गरे, लालचीले दाताको भजनले चाप्लुसी भरे,नर र नारी, पिता र माता,अनेकन नाम दिए।
विभिन्न ठाम, थरीथरी नाम, वैचारिक एकतामा फाटोको भयो काम; सारा सृष्टि जुटाउने कर्ताको नामाकरण कै कारण
अदृश्य ईश्वरले जोडेको समाजमा धाँदो बन्यो, म र तँ को कित्ता छुट्टियो,नाम रचना नै बन्यो सामुहिक विभाजनको कारक।
प्राचिन प्रश्न जस्ताको तेस्तै छ, जहाँको तहीँ छ:
जीवन कि जुनी? के? कसरी? कसले? (के ले?) किन? कसलाई? (के लाई?) कहाँबाट? के बाट? पहिले के? पछी के?
प्रश्न कती कती, चित्तमा खती, अन्योलको ढेरमा द्रूत प्रगती, जिज्ञासुको मती गुरु खोज्न प्रती, गुरुको रोजाई सजीलो संगती।
उत्तर खोज्ने विचारक ईश्वर नाममा रमाउन खोज्दै थियो तर तिनैलाई अनेक रुप-गुणमा बाँडेर समाज विभाजित भयो।
हरेक विभाजित समूहले आ-आफ्नो विशिष्टताको परिधी तोके, जुटाउने ईश्वरको मनगढन्ते नाममा फुटाउने गुट बन्यो,
हरेक गुटले आफ्नो निम्ति चुनिन्दा नाम राखे – फलानो धर्म, ढिस्कानो धर्म; संस्कारी शब्द “धर्म” को बदनाम भयो।
धर्मको नाममा अधर्म, बिधर्म, कुधर्म, निधर्म, हलक्क मौलायो; बबुरो “धर्म” शब्दको मौलिक अर्थ नै विलीन भयो।
थरीथरीका विचारमा उभिएका धर्ममा ईश्वर त नारामा मात्र सीमित राखियो, सृष्टि-सर्जकलाई नै सृजितले स्थापना गर्यो,
जोरजाम गर्ने ईश्वरको वास्ता रहेन, गौण राखियो; विभाजन ल्याउने स्वार्थी धर्महरु हाबी भए, बलिया भए, धर्मले राज गर्यो।
ईश्वरको विचार बिलायो, धर्मको प्रचार फष्टायो, प्रचारमा बल आयो, व्यापार छिर्यो, छल घुस्यो, प्रहार भो; धर्मले युद्ध गर्यो।
उदार ईश्वरको नाम भजाएर अनुदार धर्मानुधारीहरुले निती-नियम बनाए, तीललाई ताल बनाई शास्त्रको ठेली बनाए,
धर्मको राज हुने पीठमा पीठाधीश बनाइए, निती-नियम पालन गराउने न्यायाधीश र शास्त्रको ठेली खोल्ने शास्त्री बनाए।
यसैले कालान्तरमा, धर्म-समुदायमा शक्ति संचय बढदै जाँदा, सत्य पन्छाइयो, शक्ति समाइयो, ईश्वर हराए, धर्म फहराए,
मानिसले ईश्वरको भ्रममा धर्मको झण्डा उचाले, धर्ममा नै आस्था राखे, स्वधर्मको अहंकारमा अधर्मको भारी मुन्तिर हराए।
अझै पनि प्राचिन प्रश्न जस्ताको तेस्तै छ, जहाँको तहीँ छ:
जीवन कि जुनी? के? कसरी? कसले? (के ले?) किन? कसलाई? (के लाई?) कहाँबाट? के बाट? पहिले के? पछी के?
प्रश्न कती कती, चित्तमा खती, अन्योलको ढेरमा द्रूत प्रगती, जिज्ञासुको मती गुरु खोज्न प्रती, गुरुको रोजाई सजीलो संगती।
Very innovative idea. A trigger, that shows a thirst of that tiny droplet of existence.
I like the article.
LikeLike